बहसमा गान्धी र स्वराज

परिचय
मोहनदास करमचन्द गान्धी (सन् १८६९–१९४८) भारतमा जन्मिएर ख्यातिप्राप्त गरेका नेता, चिन्तक हुन् । उनको ‘सत्याग्रह’ विश्वभरि नै चर्चित छ । उनको २४ वर्षसम्मको उमेर पठनपाठनमा नै बित्यो । उनले सन् १८९१ मा लण्डनमा कानुनी शिक्षा पूरा गरे । उनलाई सन् १८९३ मा दक्षिण अफ्रिका जाने मौका मिल्यो । उनले सन् १८९४ मै दक्षिण अफ्रिकामा रहेका भारतीयहरूको शक्ति निर्माण गरे जसलाई नेटल इन्डियन कंग्रेस (एनआइसी) भनियो ।

उनले दक्षिण अफ्रिकामा बसेर आफूले जानेको कानुनको ज्ञानलाई मौलिकतासमेत थप्दै पूर्ण सदुपयोग गरे । जब उनले २४ वर्षको युवा शिक्षित उमेरदेखि ४६ वर्षको परिपक्व हुँदासमेत झण्डै २२ वर्ष दक्षिण अफ्रिकामा बिताए । त्यसबीचमा थुप्रै कामहरू पनि गरे । उनले दक्षिण अफ्रिकामा नै सत्याग्रहको सुरुआत गरेका हुन् । उनले अदालतमा समेत आफ्नो मौलिक पोसाकमा नै बहस पैरवी गरे ।

उनी १९१५ मा भारत आए । भारत आउनुपूर्व उनको चर्चा भारतमा भइसकेको थियो । उनका उमेर समूहका जवाहरलाल नेहरु पनि कुनै न कुनैरूपमा चर्चामा आइसकेका थिए । सन् १९१७ मा नै उनले बिहारमा चम्पारन सत्याग्रह सुरु गरे । यसैक्रममा गुजरातमा सावरमति आश्रम स्थापना गरे । सन् १९२० मा असहयोग आन्दोलन चलाए । जहाँ गरिबभन्दा गरिब व्यक्तिहरूको ध्यान आफ्नो आन्दोलनमा खिच्न उनी सफल भए ।

अंग्रेज शासकको आँखै अगाडि उनी सन् १९२१ मा इन्डियन नेसनल कङ्ग्रेस (आइएनसी) को मुख्य नेता बने । १९२९ डिसेम्बरमा आइएनसीको सम्मेलन लाहोरमा भयो । त्यस सम्मेलनमा असहयोग आन्दोलनको औचित्यमाथि व्यापक छलफल भयो र पटक–पटकको सत्याग्रह र असहयोग आन्दोलनले दिएको ऊर्जाले देशैभर सन् १९३०, २६ जुन पार्टीको झण्डा फहराउने निर्णय कार्यान्वयनसमेत भयो ।

दुई महिनापछि मार्चमा लम्बा मार्चा (लामो यात्रा, यसलाई डाँडी मार्च पनि भनिन्छ) नामक सत्याग्रह अगाडि बढाइयो । सागरमतिदेखि डाँडीसम्मको ३९० किमीको यात्रा २४ दिनमा पूरा भयो । यस आन्दोलनले अत्यन्तै निडरतासाथ सत्याग्रहलाई स्थापित गरिदियो । अंग्रेज सरकारको नियमलाई मौनता साथ तोड्ने काम भयो । शासकहरूको अनेक खालको दमन धरपकडका बीचमा पनि भारतीय जनताले नेतृत्वलाई सहयोग पु¥याउने स्थिति सिर्जना भयो । इण्डियन राष्ट्रिय कंग्रेसको नेतृत्वलाई सावधानीपूर्वक अगाडि बढाउनमा गान्धीको महत्वपूर्ण भूमिका रहेको छ ।

सन् १९४२, ८ अगस्टमा इण्डियन राष्ट्रिय कंग्रेसले ‘भारत छोडो आन्दोलन’ घोषणा ग¥यो । यसलाई थप ऊर्जा दिनका निम्ति गान्धीले ‘डोर डाइ’ नारालाई बाहिर ल्याए र कार्यान्वयन गराएरै छाडे । यस आन्दोलनमा असहयोग, कानुनको सविनय भंग तथा सत्याग्रहभन्दा माथिल्लो जोखिम उठाइएको थियो । अंग्रेज सरकारले भारत छोडो आन्दोलनलाई दबाउन शीर्ष तहका धेरै नेताहरूलाई गिरफ्तार ग¥यो । यो आन्दोलन उत्कर्षतर्फ अगाडि बढ्यो । सन् १९४७ मा भारत अंग्रेजको पञ्जाबाट मुक्त भयो । भारत छोडो आन्दोलनसँगै दोस्रो विश्वयुद्धको समयमा इन्डियन राष्ट्रिय कंग्रेस र गान्धीले समेत विश्वका कुनै पनि देशले अंग्रेज वा बेलायतलाई सहयोग नगर्न समेत अनुरोध गर्दै बेलायतको विपक्षमा उभिने आँट गरे । अहिंसावादी आन्दोलनका एक उन्नायकको हत्या सन् १९४८ मा नाथुराम गोथ्सेको हातबाट भयो ।
हिन्द स्वराज पुस्तकबारे

दुई महिनापछि मार्चमा लम्बा मार्चा (लामो यात्रा, यसलाई डाँडी मार्च पनि भनिन्छ) नामक सत्याग्रह अगाडि बढाइयो । सागरमतिदेखि डाँडीसम्मको ३९० किमीको यात्रा २४ दिनमा पूरा भयो । यस आन्दोलनले अत्यन्तै निडरतासाथ सत्याग्रहलाई स्थापित गरिदियो । अंग्रेज सरकारको नियमलाई मौनता साथ तोड्ने काम भयो । शासकहरूको अनेक खालको दमन धरपकडका बीचमा पनि भारतीय जनताले नेतृत्वलाई सहयोग पु¥याउने स्थिति सिर्जना भयो

गान्धी जब कानुनको गहन अध्ययनपश्चात् दक्षिण अफ्रिकामा पुगे त्यहाँको न्याय प्रणालीप्रतिको असहमति वेलावेलामा प्रकट गरि नै रहे । उनी दक्षिण अफ्रिका र बेलायत ओहोरदोहोर गरि नै रहन्थे । सन् १९०८ को घटना हो जहाजको यात्रामा उनले आफ्ना राजनैतिक विचारधाराहरूलाई लिपिबद्ध गर्ने काम गरे । जसको फलस्वरुप सन् १९०९ मा हिन्द स्वराज गुजराती भाषामा पाण्डुलिपि तयार भयो । पछि यो पुस्तक अंग्रेजी भाषा, हिन्दी भाषा हुँदै भारतमा बोलिने अन्य भाषाहरूमा समेत अनुवाद भएको पाइन्छ ।

झण्डै तीस हजार शब्द संख्या भएको यो पुस्तक जम्मा २० खण्डमा विभाजित रहेको छ । भूमिका खण्ड झण्डै ३० पेजको रहेको छ भने मूल पाठ परिशिष्टसहित ९० पृष्ठमा फैलिएको छ । यस पुस्तकमा हिन्दुस्तानको इतिवृत्त प्रस्तुत भएको छ । हिन्दुस्तानको समस्यालाई ५ भागमा बाँडेर फरक–फरक विषयको तथ्य प्रस्तुत गरिएको छ । आफ्नो पुस्तकमा गान्धीले ‘स्वराज’को चिनारी दिएका छन् तथापि त्यो भाषा, टीकाहरूको अध्ययनविना सजिलै बुझ्न सकिने खालको छैन ।

हिन्दुस्तान कसरी मुक्त हुनसक्छ भन्ने गम्भीर चिन्तनमा केन्द्रित यो पुस्तकले भारतलाई स्वतन्त्र बनाउने काममा बौद्धिक खुराकको काम त गरेकै छ यसको अतिरिक्त आधुनिकताको परिभाषालाई मौलिक ढंगले अथ्र्याएको छ । ‘सत्याग्रह’ कसरी आत्मबल हो भन्ने सन्दर्भलाई परिपुष्ट पारिएको छ भने गोलाबारुद के हो ? र यसको काम कस्तो ठाउँमा हो वा होइन भन्ने विचार प्रकट भएको छ । गोलाबारुदलाई पनि सत्याग्रहले जित्न सक्छ यदि प्रत्येक मानिसहरूमा नैतिक बल छ भने ।

यस पुस्तकमा शिक्षा केलाई भन्ने–भन्ने विषय उठान गरी शिक्षा नैतिक ज्ञानसँग जोडिएन भने त्यसले केवल महत्वाकांक्षी बनाउने र बेरोजगारी सिर्जना गर्ने विषय गम्भीरतापूर्वक उठाइएको छ । यसका साथै मेसिन अर्थात् हरेक क्षेत्रमा आधुनिक हतियार अस्त्रहरूको प्रयोगले मान्छेको शरीर र मन दुवैलाई कति पीडा थोपरेको छ भन्ने विषय उल्लेख गर्दै त्यो उत्पादनमूलक हुने कुरामा विश्वास त गर्न सकिएला त्यसले सामान्य मान्छेको जीवनमा नकारात्मक स्थिति सिर्जना गर्छ भन्ने भाव व्यक्त गरेको छ ।

हिन्द स्वराज पुस्तकका मूल आशय
– आधुनिक सभ्यता जेलाई भनिएको छ त्यो विध्वंशकारी रहेको छ ।
– भारतबाट अंग्रेजहरू हट्दैमा भारत स्वतन्त्र र सभ्य मुलुक बन्ने होइन ।
– मन मस्तिष्कबाटै भारतीयले अंग्रेजीशैली हटाउनु पर्दछ ।
– अंग्रेजी शिक्षा पढेका भारतीयहरू पश्चिमको लोभमा फसेका छन् ।
– देशलाई आफ्नै मौलिक पारामा चलाउनु पर्दछ ।
– सत्याग्रहले नै विरोधी परास्त गर्न सकिन्छ ।
– सत्याग्रहले कम क्षति मात्र गर्ने होइन मनोविकार पनि उत्पन्न हुन दिँदैन ।

यसरी गान्धीले हिन्द स्वराजमा
द्वेष धर्मको बदलामा प्रेमधर्म
हिंसाको बदलामा आत्मबलिदान
पशुबल÷बाहुबलको सट्टा आत्मबल

भन्ने उच्च नैतिक आचरणको सम्बोधन हुने गरी सर्वोदयको परिकल्पना गरेका छन् । यसैभित्रबाट उनले सामाजिक, आर्थिक, धार्मिक र शैक्षिक चिन्तनलाई व्यवहारमा उतार्नका निम्ति गरेका प्रयासहरू चर्चायोग्य छन् । जसले राजनीतिक स्वराजलाई सबल बनाउँछ ।
विषय विविधता

क) शिक्षाको सन्दर्भमा गान्धी
गान्धीको जीवनयात्रालाई हेर्दा गहन अध्ययन र सरल जीवनको अनुयायी भएको प्रमाणित हुन आउँछ । शिक्षा भन्नाले साक्षर हुनु होइन यसले त मानवीय जीवनलाई उचाइ प्रदान गर्न सहयोग गर्नु हो । कुनै एक विषयमा मान्छे दख्खल राख्दछ भने स्वयम्मा ऊ शिक्षित हो तथापि उसले औपचारिक शिक्षा जे–जति कक्षा आर्जन गरेको होस् । शिक्षाको उत्पादनसँग सम्बन्ध राख्न सकेन भने शिक्षा बेकामे हुन्छ अर्थात् बेरोजगार निर्माण गर्ने शिक्षा हो । शिक्षाले स्वअनुशासन कायम गर्न सकोस्, निरन्तर आत्मनिर्भर समाज र राष्ट्रको जीवनमा योगदान दिन सकोस् ।

त्यसका लागि आफ्नो देशको आवश्यकता के हो ? त्यस देशको शिक्षित नागरिकले बढीभन्दा बढी आवश्यकता परिपूर्ति गर्न सकुन् । यसको साथै उनले यस पुस्तकमा भनेका छन्, अंग्रेजी वा कुनै भाषा ज्ञान विस्तार गर्न आवश्यक त छ तर राष्ट्र बनाउन देशभित्रकै भाषाको प्रवर्धन हुनुपर्दछ । भाषासँगै विकृति पनि भित्रिने भएकाले आधुनिकताका नाममा भित्रिने उत्ताउँला ज्ञानले देशको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा शिक्षाका माध्यमबाट बल पु¥याउँदैन बरु हमला गराउँछ ।
देशको शिक्षामा देशको आवश्यकताबोध गर्ने र पूरा गर्ने योजना चाहिन्छ नभए त्यो शिक्षाले स्वराज दिन सक्दैन ।

(ख) आर्थिक उन्नयनको क्षेत्रमा
गान्धीले ‘हिन्द स्वराज’ पुस्तकमा जुन देशमा खानेकुरा र लगाउने बस्नु किन्नुपर्दछ त्यसले स्वराजको आत्मानुशासनको परिकल्पना गर्न सक्दैन । त्यसका लागि हजारौं गाउँहरूमा साना–साना समूहमा उत्पादन कार्यलाई प्राथमिकता दिनुपर्दछ । चर्खा आन्दोलन आर्थिक स्वराजको राम्रो उदाहरण हो ।

हामीले लगाउने वस्त्र अर्काको देशबाट किन्छौ भने त्यसले हाम्रो देशको आम्दानी त्यो क्षेत्रमा छैन भन्ने जनाउँछ । हामी केवल अर्काको पोशाकमा सजिएका छौँ । त्यस्तो व्यक्तिले आफ्नो अर्थतन्त्रलाई टेवा पु¥याउन सक्दैन । उनले हजारौं तानहरूको स्थापना गरी सरकारी निकायलाई आवश्यकपर्ने पूर्ण उत्पादन राज्यले घरेलु उत्पादनबाट पूरा गर्ने हो भने स्वतः त्यसले आर्थिक क्रान्ति ल्याउँछ । एक व्यक्ति एक उत्पादन सीपलाई यहाँ गान्धीले महत्व दिएको देखिन्छ ।

ग) सामाजिक विकासको क्षेत्रमा
समाजमा विविध जाति, भाषा, आर्थिक हैसियत भएका मान्छेको बसोबास रहेको छ । देशलाई परिवर्तन गर्ने जिम्मा अध्यापक, वकिल, डाक्टर, इन्जिनियर र राजनीतिक व्यक्तित्व हुन् । त्यसैले तिनले प्राप्त गरेको शिक्षा र त्यसभित्रको सीपले नै सामाजिक विकासको पाटोलाई सघाउँछ भन्ने गान्धीको बुझाइ छ । उनीहरूमा देश परिवर्तनका निम्ति वाचा रह्यो भने मात्र समाजका निम्नवर्ग उनको परिभाषामा ‘हरिजन’ समेत सामाजिक जीवनमा उच्च सोच राखेर मूलधारमा आउन सक्दछ ।

त्यसैले सर्वोदय (सर्व+उदय)मा नै स्वराज झल्किन्छ । समाजमा जब आर्थिक असमानता रहिरहन्छ त्यसबेलासम्म समाज त्रासपूर्ण रहन्छ । जबसम्म न्यायका निम्ति आफ्नो समाज सहयोगी बन्दैन त्यहाँ सामाजिक विभेद कायमै रहन्छ भन्ने विचार उनको रहेको छ । सामाजमा धनी र गरिबको भेद मेटाउने एउटै मात्र उपाय हो त्यो सामाजिक जिम्मेवारीमा बाँडफाँड र आर्थिक पारदर्शिताको प्रश्न ।

आर्थिक अवस्था राम्रो भएको व्यक्तिले स्वयंमा समाजका धेरै जिम्मेवारी लिनुपर्दछ । त्यो समाजको अभिभावक भएमात्र सामाजिक शान्ति खलबलिन्न । श्रम शोषणको विविध रूपलाई उनले अप्रत्यक्षरूपमा निषेध गर्ने व्यहोरा प्रस्तुत गरेका छन् । उनको परिकल्पनामा ग्राम राज्यको स्थापना शान्ति सेनाबाट होइन कर्मको तालिमद्वारा हुन्छ । स्त्री जातिको जागृतिबाट मात्र समाजको परिवर्तन हुनसक्छ । पश्चिमी विज्ञानको विकासको सट्टा मौलिक विज्ञान आवश्यक रहेको छ । यसबाट पनि प्रष्ट हुन्छ कि उनले सामाजिक उत्थानका निम्ति अहिंसाकै सहारामा विविध पक्ष र पाटाहरूलाई बाहिर ल्याएका छन् । उनले कर्मलाई नैतिक धर्म, शिक्षालाई नैतिक शिक्षा भनेर परिभाषित गरेका छन् ।

घ) राजनीतिक स्वराज
राजनीतिक सन्दर्भलाई गान्धीले अत्यन्त गम्भीरताका साथ उठाएका छन् । अंग्रेजको दबदबामा परेको भारतलाई स्वतन्त्र बनाउनु सानो कुरा थिएन । बढीभन्दा बढी निम्नवर्गका मानिसलाई राजनीतिकरूपमा सचेत नबनाए अंग्रेजलाई लखेट्न सकिँदैन भन्ने उनको अध्ययन थियो । उनले आफ्नो समाजको विभेदलाई अन्त्य नगरी सामाजिक विभेद मेटाउन नसकिने भएकाले यो कामलाई प्राथमिकता दिने मत राखेका थिए ।

जसअनुसार त्यहाँका दलित समुदायलाई उनले ‘हरिजन’ सम्बोधन गरी आत्मसम्मान दिलाएका थिए । निम्नवर्गमात्र स्वतन्त्रता आन्दोलनमा शक्तिको रूपमा थियो, किनकि उच्च पढेलेखेका व्यक्तिहरू अंग्रेजको भुलभुलैयामा नै रहेका थिए । उनले राजनीतिमा कर्मचारीतन्त्रलाई ठाउँ दिएको देखिँदैन । कर्मचारी भनेको केवल नीति कार्यान्वयन गर्ने माध्यम हो यसबाट परिवर्तनको आशा त्यतिबेला मात्र गर्न सकिन्छ जतिबेला देशको स्वतन्त्रता र स्वतन्त्र देशको सम्पन्न बन्ने रणनीति तयार हुनसक्छ ।

गान्धीले युरोप र अमेरिकाको जस्तो पार्लियामेन्ट्री सिस्टम अपनाउँदा नै देश राजनीतिकरूपमा अगाडि बढ्ने होइन । भारत जस्तो करोडौं जनसंख्या भएको देशको राजनीतिक व्यवस्थालाई जरैदेखि व्यवस्थित गर्न जरुरी रहेको र त्यसको लागि अधिक ग्राम राज्यको स्थापना र त्यस एकाइलाई नै आर्थिक, न्यायिक, सामाजिक, शैक्षिक क्षेत्रमा जिम्मेवार अर्थात् आत्मनिर्भर बनाउने योजना उनले प्रस्तुत गरेका छन् ।

जसअन्तर्गत समस्यालाई तत्स्थानमै निमटारा लगाउन सके र सामाजिक न्यायको पक्षलाई बलियो बनाउन सके प्रहरी, न्यायालय जस्ता एकाइको उपस्थिति आवश्यक पर्दैनथ्यो जसले न्यायलयबाट प्रमाणका नाममा हुने अपारदर्शी निर्णय व्यहोर्नु पर्दैनथ्यो भन्ने विचार प्रकट भएको छ । त्यसैगरी सही राजनीति त्यतिबेला हुनसक्छ जतिबेला सामाजिक सद्भाव उत्पन्न हुन्छ ।

उनले समाजका शिक्षित र आर्थिक हैसियत उच्च भएकाको दायित्व सामान्य नागरिकको भन्दा सयौं गुणा भएको र त्यो जिम्मेवारी पूरा गर्दामात्र सामाजिक समता कायम हुने कुरा प्रमाणहरूका माध्यमबाट पुष्टि गरेका छन् । जब प्रतिनिधित्व प्रणाली समानुपातिक खालको हुन्छ त्यसको स्वरूप भनेको पार्लियामेन्ट्री स्वराज बन्दछ । अर्काको देशबारे बोल्ने, आफ्नो सीमाबारे बोल्ने, आफ्नो अर्थतन्त्रको प्रभावबारे बोल्ने आधार र तथ्य भएमात्र जनबलमा देशको व्यवस्था बलियो हुन्छ भन्ने उनको आशय छ ।

राजनीतिलाई उच्चनीति र आत्मगत अवस्था बुझ्ने नीतिका रूपमा उनले औँल्याएका छन् । जब देशको कुनाकुनासम्म जनतासमक्ष राजनीतिक नेतृत्वको सम्बन्ध राम्रो हुन्छ तबमात्र तथ्यको जरामा राजनीति सुदृढ बन्न सक्दछ । त्यसका लागि धेरै तहमा राज्यको उपस्थिति र कडाइका साथ जिम्मेवारी बहन हुन जरुरी छ । विकसित र संसदीय राजनीतिको नमुना मानिएको बेलायतको सन्दर्भलाई प्रस्तुत गर्दै उनले प्रजातन्त्र र प्रतिनिधित्वको नाम लिँदैमा त्यो आदर्श राज्य बन्दैन, त्यसले अरू देशलाई गर्ने व्यवहार र आफ्नै देशभित्रको गतिविधिलाई औंल्याउनुपर्दछ । उनको कडा टिप्पणी पनि छ, ‘बाघले बरु आफ्नो स्वभावलाई परिवर्तन गर्नसक्ला अरुको राष्ट्रमाथि आधिपत्य कायम गरेर बस्ने देशले आदर्शको पाठ पढाउन सक्दैन ।’

हिन्द स्वराजले गान्धीको सपनालाई लिपिबद्ध गर्ने क्रममा यो सपना होइन यो यथार्थको धरातलमा जान कोरिएको रेखाचित्र हो । यसै सन्दर्भमा गान्धीले अंग्रेजसँग लड्ने हतियार असहयोग, कानुनको सविनय भंग तथा सत्याग्रह हो भन्ने विषयलाई स्पष्ट साथ मात्र राखेका छैनन् सोहीअनुरूप त्यसको उच्चतम रूप ‘भारत छोड आन्दोलन’ र त्यसको कार्यान्वयनका लागि ‘मर वा गर’ को नीति अवलम्बन गरेका छन् । उनले अध्यापन, वकिल, डाक्टर, इन्जिनियर र राजनीतिक व्यक्तित्वलाई परिवर्तनको संवाहक मात्र भनेका छैनन्, देश निर्माणका आधार स्तम्भ भनी तोकेका कुरा सारमा झल्किएको छ । प्रदुषित समाजले पार्लियामेन्ट्री स्वराजको कल्पना गर्न नसक्ने भएकाले आत्मनिर्भर अर्थतन्त्र र मौलिक न्यायप्रणाली यसको मेरुदण्ड भएको पुष्टि गरेका छन् ।

निष्कर्ष
समग्र राजनीति यात्रामा गान्धीले आफूलाई अन्यायको विरुद्ध उभ्याएको, हिंसाको विरुद्धमा अहिंसावादी पुष्टि गरेको, सामान्य र समाजका दलित भनिएकालाई सम्मान गरी सम्बोधन गरेको, आर्थिक उन्नयनका निम्ति चर्खा आन्दोलन चलाएको मात्र नभई राजनीतिक दलमार्फत् लाखौँ जनताको बीचमा आफ्नो सादगी व्यवहार प्रस्तुत गरेबाट मन जित्न सफल उनको सैद्धान्तिक र व्यवहारिक पक्षलाई सन्तुलित प्रमाणित गर्न सकिन्छ । उनको आधारग्रन्थ हिन्द स्वराज र उनको जीवन व्यवहार कसीको रूपमा रहेको छ ।

नेपालको सन्दर्भमा
नेपाल राजनीतिकरूपमा भारतजस्तो अंग्रेजको प्रत्यक्ष उपनिवेश देश नभएकाले पनि नवीन सोच विकास र सोच्ने स्तर सोहीअनुरूप निर्माण भयो । जसले दीर्घकालीन योजना नबनेको प्रष्ट हुन्छ । त्यो भनेको नेपाललाई बुझ्ने समस्या नै हो । भारतमा ‘भारत छोड आन्दोलन’ सम्म पनि सत्याग्रहकै जगमा भएको छ । नेपालमा राणा, पञ्चायत र राजाविरोधी आन्दोलन कुनै न कुनै रूपमा सशस्त्र युद्धको माध्यमबाट भएको छ । भारत परिवर्तनपश्चात् आफ्नो लयमा सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक यात्रामा योजनाबद्ध ढंगले अगाडि बढेको छ भने नेपाल परिवर्तनपश्चात् लामो समयसम्म संक्रमणबाट गुज्रिरहेको देखिन्छ । जसरी भारतीयले अंग्रेज मात्र हाम्रो दुश्मन होइन हामीले हामीलाई नबुझेसम्म र मौलिकता तय नभएसम्म हामी मुक्त हुँदैनौँ भन्ने भावका साथ अगाडि बढे । नेपाल अंग्रेजको प्रत्यक्ष शासनमा नरहेको भए पनि परोक्षरूपमा भारतभन्दा बढी संक्रमित भयो ।

आफ्नै विशाल खेतीयोग्य भूमि र स्थानीय प्रविधि साथै प्रतिबद्धता भारतको शक्ति बन्न पुग्यो भने हाम्रो मात्र परिवर्तन वा राजनीति परिवर्तनले हामीलाई सधैँ उन्मत्त बनाइरह्यो । आज पनि विकासे शिक्षाका रूपमा रहेको लर्ड मेकालेको शिक्षाको इमान्दार अनुशरणकर्ता हामी भइरहेका छौँ । हाम्रो भाषा, संस्कृतिको रक्षा विदेशी सरकारी र गैरसरकारी संस्थाले गरिदिनेमा हामी ढुक्क छौं । हाम्रो प्रशासन र सुरक्षा संयन्त्र गलतको संरक्षक बनेर प्रगतिको बाटो रोकिरहेको छ भने अपारदर्शी नेतृत्व प्रणाली त्यसलाई उक्साउने माध्यम भएको छ ।

अरुको नारालाई हामीले घोक्यौ तर हाम्रो योजना आयोगले देश र भूगोलको आवश्यकता र शक्ति नै खोज्न सकेन । अनुशासनहीन राजनीतिक नेतृत्व नै यसको बाधक रहेको छ । राजनीतिलाई कालो धन सेतो बनाउने, चुनावलाई लुटको लाइसेन्स लिने, शिक्षालाई मानव बेचबिखनको माध्यम बनाउने र श्रम बेचेर त्यो निमेकबाट सौन्दर्यप्रशाधक वस्तु खरिद गर्ने प्रचलन नहटेसम्म नेपालको अर्थ राजनीतिमा सुधार आउँदैन ।

अर्थ राजनीतिले नै उत्पादन सम्बन्ध स्थापना गर्ने भएकाले त्यसकै जगमा बनेका न्यायालयले न त न्याय अन्याय छुट्याउँछ न त पैसा प्रभावित चुनावले जनपक्षीय योजना निर्माण र कार्यान्वयनमा जोड दिनसक्छ । त्यसका निम्ति समग्र तथ्यांकको अध्ययन गरी व्यापक बहस गर्न जरुरी छ । त्यसका लागि खुल्ला बहस जरुरी छ । राजनीति संगठनको बन्देज र रसिदबाहेक खुल्ला विषय र बहसमात्र साधक हुनसक्छ ।

प्रतिक्रिया