बुद्धको जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन सुरु

रुपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आजदेखि सुरू भएको छ । त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी शुभारम्भ गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र पर्यटन प्रबर्द्धनका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रम तय गरेको बताए । उनले प्रदेशको समृद्धिका लागि पर्यटनलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढाएको जनाए । मुख्यमन्त्री पोखरेलले कपिलवस्तुको तिलौराकोट उत्खननको काम अघि बढेको र निग्लिहवामा कनकमुनि बुद्ध, गोटिहवामा क्रकु्च्छन्द बुद्धका प्रतिमा राख्ने र नवलपरासीको रामग्राममा बुद्ध संग्रहालय निर्माणको योजना बनेको बताए । उनले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको गरिमा बढाएको उल्लेख गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीले विश्वभर एकतार भाइचाराको सन्देश फैलाएको धारणा राखे । आयोजक समितिका संयोजक भिक्षु मैत्री महास्थवीरले सरकारीस्तरबाटै लुम्बिनीमा आध्यात्मिक गतिविधि सञ्चालन गनुपर्ने बताए ।

त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाइ बिहारको सहयोगमा दोस्रो पटक आयोजना गरिएको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मा, चीनलगायत २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन् ।

आगामी शनिबारसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटकअन्र्तगतका विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुहरुले सूत्रपिटकअन्तर्गतको दीर्घनिकायको ब्रह्मजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुआत गर्नेछन् । दोस्रो दिन म्यान्माका भिक्षुहरुले अभिधम्मपिटक वाचनको नेतृत्व गर्नुहुने छ भने तेस्रो दिन थाई भिक्षुुहरुले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्नेछन ।

त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । यसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यसमाा भगवान बुद्धको उपदेश संग्रहीत छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरिनिर्वाण हुनुअघिसम्म दिनुभएका प्रवचनहरु संग्रह गरिएका छन् ।

प्रतिक्रिया