दुई पुस्तक सार्वजनिक

ताप्लेजुङ । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको आयोजनामा एक सय ३५ औँ फाल्गुनन्द जयन्तीको सन्दर्भ पारेर दुई पुस्तकको सार्वजनिक गरिएको छ । साहित्यकार शान्तिराम नेपालले लेखेको कथा संग्रह ‘रात चियाउने जून’ र गजलकार होमनाथ दाहालले लेखेको गजल संग्रह ‘रहर’ को फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले एकसाथ विमोचन गरे ।

नेपालद्वारा लिखित ‘रात चियाउने जून’ कथा संग्रहमा २८ वटा कथा समावेश गरिएको छ । साहित्यकार नेपालले संग्रहमा रहेका कथा छोटो र सरल रहेको बताए । उनले समाजका विविध विषयलाई समेटेको बताउँदै भने ‘पुस्तक युग सापेक्ष छ ।’

पुस्तकमा मनोवैज्ञानिक विषयका कथा रहेको सुनाउँदै कथाकार नेपालले भने, ‘सामाजिक यौन मनोविज्ञान र समाजले स्वीकार गर्न नसकेका कतिपय तथ्यको यो पुस्तकले उजागर गरेको छ ।’ उनका यसअघि दुईथुंगा फूल, पाथीभरा भजन ३ वटा गीत रेकर्डिङ भइसकेका छन् ।

यसैगरी दाहालद्वारा लिखित गजल संग्रहमा ‘रहर’ मा ८६ वटा गजल संग्रहित छन् । वैचारिक तथा श्रृंगारिक गजल रहेको उक्त संग्रहमा समाजका विविध परिवेश, राजनीति तथा संस्कृतिका विषयलाई उधिनिएको गजलकार दाहालले बताए । उनले भने, ‘जीवनका भोगाइलाई समेटेर गजल संग्रह प्रकाशित गरेको छु ।

यो मेरो पहिलो कृति हो आगामी दिनमा अन्य कृति पनि प्रकाशित गर्ने योजना छ ।’ सो अवसरमा खुला कविता वाचन प्रतियोगितासमेत सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए । प्रतियोगिताका विजेतालाई चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कारमार्फत सम्मान गरियो ।

प्रतियोगितामा लक्ष्मी चुँडाल, उत्तमध्वज केसी, नियारफुङ मादेन र मिराक लिम्बू क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए । उनीहरूले एक हजार बराबरका पुस्तकसहित नगद चार हजार, २५ सय र एक हजार, सान्त्वना हुनेले एक हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया