पशुपतिसँग शिखहरूको साइनो

शिख धर्मलाम्बीहरूले मंगलबार आफ्नो गुरु नानकको जन्मजयन्ती धुमधामले मनाएका छन् । नेपालमा बसोवास गर्ने भारतीय मूलका नागरिकले पनि राजधानी काठमाडौंमा विभिन्न कार्यक्रम गरी गुरु नानकको जयन्ती मनाएका छन् । काठमाडौंका विभिन्न स्थानमा गुरु नानकको मठ र गुरुद्वार रहेको छ ।

गुरु नानकका विषयमा पछिल्लो समय पशुपतिनाथ मन्दिरसँग जोडिएका केही सम्बन्ध बाहिर आएको छ । हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको हरेक दिन नित्यपूजा हुनेगर्छ । त्यसरी गरिने नित्यपूजाका विभिन्न विधिहरू निर्धारण गरिएका छन् । तर, ती विधिहरू सुरू गर्नुपूर्व पशुपतिको शिवलिंगमा फूलको माला लगाइदिनुपर्छ । त्यसलाई पुजारीहरू शिरमाला भन्ने गर्छन् । उक्त शिरमाला कहाँबाट ल्याइन्छ भन्ने कुरा रोचक रहेको बताउँछन् संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन ।

निर्मल अखडा बाहेक पनि पशुपति क्षेत्रकै भस्मेश्वर महादेव भएको स्थानमा अर्को एउटा नानक मठ रहेको छ । ती दुवै स्थानमा गुरु ग्रन्थ साहेब राखिएका छन् । ती बाहेक काठमाडौंकोे ज्ञानेश्वर, कालमोचन, शोभा भगवती र बालाजुमा पनि ऐतिहासिक नानक मठ र नानक अखडाहरू रहेका छन्

उनी भन्छन्, ‘पशुपतिनाथको नित्यपूजाका लागि चढाइने शिरमाला अहिले पनि पशुपति क्षेत्रमा अवस्थित एउटा शिखहरूको अखडा (निर्मल अखडा)बाट आउँछ ।’ सुन्दा धेरैलाई अचम्म लाग्न सक्ने उक्त चलन राणाकालदेखि नै चल्दै आएको उनी बताउँछन् । त्यसबारेमा अहिलेसम्म धेरैलाई जानकारी पनि छैन पशुपतिनाथको शिरमालासँग जोडिएको उक्त कुराले पशुपति क्षेत्रमा विभिन्न धर्मबीच सहअस्तित्व स्वीकारिएको छ भन्ने पनि देखाउने उनको तर्क छ ।

‘निर्मल अखडा जंगबहादुरका छोरा जीतंजगले स्थापना गरेको भन्ने प्रमाण पाइएका छन् । उनैले शिरमाला त्यहाँबाट लगेर प्रयोग गर्नुपर्ने चलन पनि चलाएका हुन,’ टण्डन भन्छन् । राणाकालमा नेपालका राजा र राणा परिवारमा पञ्जाबका खत्रीहरूप्रति ठूलो सम्मान र लगाव रहेको टण्डनको तर्क छ ।

नेपालको दरबार र पञ्जाबका खत्रीबीच वैवाहिक सम्बन्धहरू पनि स्थापित भएका उदाहरणहरू रहेकाले त्यसैको प्रभावका कारण पशुपतिमा शिरमाला शिखको अखडाबाट ल्याउन थालिएको हुनसक्ने उनको ठम्याइँ छ । उनको भनाइ र शिरमाला निर्मल अखडाबाट ल्याइनाका कारणले होइन भन्न सकिदैन ।

‘पशुपति क्षेत्रमा बाँदर धेरै लाग्ने भएकाले फूलहरू नष्ट हुने गर्थे होलान्, तर निर्मल अखडामा हेरचाहको व्यवस्था भएकाले त्यहाँका फूलहरू राम्रो हुने गरेकाले पनि त्यस्तो चलन चलाइएको हुनसक्छ,’ टण्डन भन्छन् । निर्मल अखडामा फूल र बगैँचा राम्रो नहुँदा पनि उक्त चलन भने जारी रहेको उनी बताउँछन् । ‘म नै सदस्य सचिव हुँदाखेरि निर्मल अखडाले किनेर माला दिने र त्यसबापत कोषले पैसा दिने व्यवस्था मिलाएका हौँ,’ उनी भन्छन् ।

निर्मल अखडा बाहेक पनि पशुपति क्षेत्रकै भस्मेश्वर महादेव भएको स्थानमा अर्को एउटा नानक मठ रहेको छ । ती दुवै स्थानमा गुरु ग्रन्थ साहेब राखिएका छन् । ती बाहेक काठमाडौंकोे ज्ञानेश्वर, कालमोचन, शोभा भगवती र बालाजुमा पनि ऐतिहासिक नानक मठ र नानक अखडाहरू रहेका छन् ।

यी मठ र अखडाको स्थापना, तिनलाई राजाहरूले दिएका जग्गाका प्रमाणहरू र काठमाडौंमा पाइने अनुश्रुतिका आधारमा कतिपयले शिख धर्मका प्रवर्तक गुरु नानक नेपालमा आएका थिए भन्ने लेखेका छन् । त्यस्ता अध्येतामा नेपाली मात्र नभएर भारतीयहरू पनि धेरै छन् ।

गुरु नानकको जीवनी लेख्नेहरूले पनि उनले प्रवचन दिँदै र तपस्या गर्दै विभिन्न क्षेत्रको भ्रमण गरेको र त्यस क्रममा नेपाल आएको भनी पुस्तकहरूमा लेखेको पाइन्छ । तर नेपाली इतिहासकारहरू भने यहाँका पुराना अभिलेखहरू तथा प्रमाणहरूमा कतै पनि नानकले नेपाल भ्रमण गरेको भन्ने विवरण नभेटिएको बताउँछन् । त्यसैले ऐतिहासिक प्रमाणका आधारमा नेपालमा नानकको भ्रमण भएको भन्न नसकिने उनीहरू बताउँछन् ।

केही दिनभित्रै सार्वजनिक हुन लागेको ‘नेपालमा शिख धर्म’ पुस्तकका लेखक एवं इतिहासकार महेशराज पन्त भन्छन्, ‘ऐतिहासिक प्रमाणका आधारमा गुरु नानक मात्र होइन, शिख धर्मका दशम गुरुसम्म पनि नेपाल आएको प्रमाण छैन ।’ तर, गुरु नानकले आफ्नो जीवनकालमा गरेका भ्रमणहरूबारे नै पुस्तकहरू प्रकाशित भएका छन् र, तिनमा उनले नेपालको भ्रमण गरेको उल्लेख छ ।

भ्रमणको विवरणः त्यस्तैमध्येको एउटा पुस्तक हो, सुरिन्दर सिंह कोहलीद्वारा लिखित र सन् १९६९ मा पञ्जाब विश्वविद्यालय, चण्डिगढबाट प्रकाशित ‘ट्राभल्स् अफ् गुरु नानक’ । उक्त पुस्तकमा कोहलीले नानकले आफ्नो तेस्रो भ्रमण नेपालमा गरेको उल्लेख छ । उनले पुस्तकको पृ. ११३, मा लेखेका छन्, ‘सन् १५१४–१५ मा गुरु नानक उत्तर प्रदेशको सीमाबाट भारतीय उपमहाद्वीप र तिब्बतको बीचमा रहेको स्वतन्त्र अधिकाराज्य नेपालको भूमिमा प्रवेश गरे ।’

उनको नेपाल आउनुको उद्देश्य एउटै मात्र भगवान् छन् भन्ने सन्देश दिनु र धेरै भगवानको प्रार्थना गर्नबाट रोक्नु थियो भन्ने कोहलीको दाबी छ । नानक भारतको विहारस्थित सीतामढीबाट नेपाल प्रवेश गरेर जनकपुर पुगेको र त्यहाँबाट उनी चतरा हुँदै वराहक्षेत्र पुगेको उक्त पुस्तकमा उल्लेख गरिएको छ ।

उनलाई नेपालमा त्यसवेला नानक ऋषिका रूपमा मानिएको पनि कोहलीको तर्क छ । नानक नेपालका विभिन्न भाग हुँदै काठमाडौं प्रवेश गरेको र उनी पशुपतिनाथमा बसेको पुस्तकमा उल्लेख छ । त्यसमा नेपालका राजाले उनीसँग धार्मिक र अन्य खाले निर्देशनहरू लिएको पनि उल्लेख गरिएको छ । तर त्यसमा नेपालका राजा भनी ‘राजा ससोदिया राजपूत महान रनवीर सिंह’ भनेर लेखेकाले पुस्तकमाथि शंका उब्जने इतिहासकारहरू बताउँछन् ।

उनले नेपालका विभिन्न स्थानसहित सोलुखुम्बुको त्याङ्बोचे गुम्बाको पनि भ्रमण गरेको दाबी पुस्तकको पृ. ११५(११६ मा गरिएको छ । सोही कुरालाई नेपालस्थित भारतीय दूतावासले गत सेप्टेम्बरमा निकालेको ‘शिख हेरिटेज अफ नेपाल’ नामक एउटा पुस्तिकामा समेत उल्लेख गरिएको छ । उक्त पुस्तिकामा मन्तव्य लेख्दै भारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त दाबी गरेका हुन् ।

विभिन्न पुस्तकहरूमा लेखिएको र प्रचार गरिएका कुराहरूलाई नेपाली इतिहासकारहरूले भने प्रश्न उठाएका छन् । पर्याप्त प्रमाण र आधार विनै यस्ता कुरा लेखिएको उनीहरूको तर्क छ । यस्ता कुरामा पूरा प्रमाण र आधारमा रहेर लेखिनु पर्ने उनीहरूको धारणा छ ।

नानक नेपाल आएको दाबीलाई खण्डन गर्ने तर्क दिँदै इतिहासकार पन्त भन्छन्, ‘नानक पन्थीहरूको नेपाल साइनो पाइएको चाहिँ मल्ल राजा जगत्जय मल्ल (राज्यकाल विसं. १७७९ देखि १७९२ सम्म)को पालामा हो । त्यसवेला त शिखहरूका दशम गुरु पनि सकिएर गुरु ग्रन्थ साहेबलाई गद्दीमा राखेर काम चलाउन थालिएका थिए ।’ उनका अनुसार जगत्जय मल्लले ज्ञानेश्वरको नानक मठलाई खेत दिएको प्रमाण छ ।

त्यसपछि उनका छोरा जयप्रकाश मल्लले चाहिँ विसं. १८१३ मा पशुपतिको भस्मेश्वर महादेवको नानक मठलाई २० रोपनी जग्गा दिएको प्रमाण रहेको पन्त बताउँछन् । उनी भन्छन्, ‘नानकको जन्म विसं. १५२६ मा भयो उनका उत्तराधिकारी अंगद विसं. १५६१ मा गद्दीमा बसेका हुन् । त्यसको दुई सय वर्षको अन्तरालमा मात्र नेपालमा जग्गाहरू दिइएको प्रमाण छ । त्यसबेला गुरु परम्परा सकिएर ग्रन्थ साहेबलाई मात्र गद्दीमा राख्ने चलन थियो ।’ पन्तका अनुसार नानकका समकालिन नेपाली राजा यक्ष मल्ल हुन् ।

नेपालमा शिखहरू ः अनि नानक पन्थीहरूलाई जग्गा दिने जगत्जय मल्ल भए पनि धेरैले उनलाई जयजगत् मल्ल लेखेको पाइएको पन्तको तर्क छ । ‘जगतजय मल्ललाई चाहिँ जयजगत् मल्ल भनेर अठारौँ शताब्दीको जगत्जयलाई १६ औँ शताब्दीको नानकसँग जोडिदिए । मैले गुठी संस्थानका ताम्रपत्र र लालमोहोरहरू हेरेर अध्ययन गरेको हो । त्यहाँका ६–७ सय सन्दर्भहरू केलाएर निकालेको निष्कर्ष हो यो ।’

संस्कृतिविद् टण्डन पनि नानक नेपाल आएको प्रमाणित हुने ऐतिहासिक कुराहरू नपाइएको बताउँछन् । ‘गुरु नानक नै नेपाल आए भन्ने कुनै शिलालेख र अभिलेख त छैन । तर त्यसैका आधारमा उनी आएनन् नै भन्न त सकिन्न,’ उनले भने । पहिले पहिले हिमालका गुफाहरूमा तपस्या गर्न र तीर्थयात्राका लागि धर्मगुरुहरू नेपालमा आउने गरेका विवरण पाइने गरेको टण्डनको तर्क छ । त्यसका आधारमा नानक वा नानक पन्थीहरू नेपालमा आएका हुनसक्ने पनि अनुमान गर्न सकिने उनी बताउँछन् ।

अर्का इतिहासकार जगदीशचन्द्र रेग्मीचाहिँ धर्मगुरुका जीवनी र यात्राबारे धैरै कुराहरू बढाइचढाइ गरिएको पनि हुनसक्ने बताउँछन् । उनले भने, ‘जोगी, सन्त, महात्मा, ऋषि, मुनीहरू बारे सत्यभन्दा पनि गफ बढी भएको हुन्छ । हुन त यस्ता महात्माहरू अध्ययनका लागि वा तीर्थयात्राका लागि संसार घुमेका हुनसक्छन् ।’ तर नानक नेपाल आएका थिए भन्ने विवरणहरूप्रति भने उनी शंका व्यक्त गर्छन् ।

‘यदि नानक नेपालमा आएका हुन् भने हाम्रा सन्दर्भ सामग्रीहरूमा त्यसको उल्लेख कुनै न कुनै रूपमा भेटिनु पर्ने हो । त्यस्तोचाहिँ नभेटिएकाले यसमा अझै गहिरोसँग अध्ययन गर्नुपर्छ भन्ने लाग्छ,’ रेग्मीले भने । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया