१५ वर्षमै वयस्क

काठमाडौं । १५ वर्षकी किशोरीलाई नुवाकोट सूर्यगढी गाउँपालिका–६ स्थायी घर भएकी कृष्णमाया लामाले पढाइ दिने भन्दै लगिन् । गरिबीको कारणले ती बालिकाले पढ्न पाएकी थिइनन् । उनी काठमाडौंको एउटा सामान्य होटलमा काम गर्दै थिइन् ।

बस चढ्ने वेलामा कृष्णमायाले गाडीमा बान्ता नआउने औषधि भनेर खुवाइदिइन् । औषधि खाएपछि उनी गाडीमा सुतिन् । त्यसपछि उनी निद्राले लट्ठ भइन् । वेला वेलामा थाहा पाउँदा कृष्णमायाले गन्तव्य आइपुगेको छैन फेरि बान्ता होला भन्दै पटक–पटक औषधि खुवाइदिन्थिइन् । त्यसपछि उनले थाहा पाउँदा भारतको नयाँ दिल्ली पुगेको पत्तो पाइन् । त्यहाँ उनलाई झन् ठूलो आपत आइलाग्यो । पढ्न पाउने आशमा आएकी उनी दिल्लीको कोठीमा बेचिइएको थाहा पाइन् ।

लामाले बालिकालाई भारतको मधुन भन्ने ठाउँमा लगी कोठी सञ्चालकहरू लक्ष्मी र हेमालाई दश हजार भारतीय रुपैयाँमा बेचेकी थिइन् । भर्खर १५ वर्ष पुगेकी बालिकालाई कोठी सञ्चालकहरूले करिब एक महिना बन्धक बनाई युवती बनाउन सुई र औषधि प्रयोग गरेका थिए । त्यसपश्चात् उनलाई नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनशोषण गरेका थिए ।

पीडित बालिकाको नेपाली ग्राहक बनेर गएकाले उद्धार गरेका थिए । बालिकाले नेपाली ग्राहकलाई आफ्नो पीडा सुनाएपछि उनले कोठी सञ्चालकसँग पटक–पटकको अनुरोध पश्चात् पुनः फिर्ता लगिदिने शर्तसहित कोठीबाट निकालेका थिए । कोठीबाट बाहिर मजनुकाटिल्ला भन्ने ठाउँमा लगेपछि बालिका नेपाल फर्किएकी थिइन् । उनलाई माइती नेपाल शाखा कार्यालय नेपालगञ्जले नेपाल–भारत नाकाबाट उद्धार गरी माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौंमा ल्याइएको थियो ।

नेपाल आएपछि पीडित किशोरीले ब्युरोमा २० कात्तिकमा लिखित जाहेरी दिएकी थिइन् । उनकै उजुरीका आधारमा प्रहरीले भारतीय दश हजार रूपैयाँमा बेच्ने कृष्णमायालाई पक्राउ गरेको छ । बालिकालाई बेच्ने कान्छी तामाङ÷सुनिता तामाङ भनिने कृष्णमायालाई पक्राउ गरेको हो ।

नयाँ दिल्लीबाट उद्धार गरिएकी बालिकाको जाहेरीका आधारमा बुधबार नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले लामालाई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवाचोकबाट पक्राउ गरेको जानकारी दिएको छ । बालिका बेचविखनमा संलग्न नुवाकोटाको सुर्यगढी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल ललितपुर, चापागाउँ बस्ने शेरबहादुर लामा फरार रहेका ब्युरोका एसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन् । जबराका अनुसार लामाको खोजी भइरहेको छ । कृष्णमाया लामाले पीडित बालिकालाई ०६८ सालमा काठमाडौंको एक होटलमा काम गरिरहेका वेला गाउँमा पढाइ दिने भन्दै लगेकी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया