‘स्वतन्त्रता संग्राममा नेपालको समर्थन अतुलनिय’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बंगलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।

विगतदेखि नै नेपाल र बंगलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकोमा धन्यवाद दिइन् । दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताइन् ।

बंगलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता संग्र्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गरेका थिए । बंगलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए । भेटमा उनले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।

त्यसअघि राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढंगले विस्तार गर्ने विषयमा घनिभूतरूपमा छफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

बंगलादेशका राष्ट्रपतिले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई साकार पार्न आफ्नोतर्फबाट हरसम्भव सहयोग गर्ने वचन दिएका थिए । दुवैदेशबीच वाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी गर्नेबारे कुराकानी भएको छ । नेपाललाई बंगलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशको बजारमा पु¥याउने बिषयमा पनि छलफल भएको छ ।

व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको मन्त्री ज्ञवालीले बताए ।

बंगलादेशका राष्ट्रपतिले आफ्नो मुलुकको स्वतन्त्रता संग्राम र त्यसलाई मान्यता दिएकामा नेपाल सरकार र नेपाली जनतालाई धन्यवादसमेत ज्ञापन दिएका थिए । यसअघि राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता भएको थियो ।

प्रतिक्रिया