घरघरमै नागरिक बडापत्र

पाल्पा । रिब्दीकोट गाउँपालिकाले वडा–५, कुसुमखोलाको नागरिकका घरघरमै नागरिक बडापत्र राखेको छ । सरकारी कार्यालय प्रवेशद्वार अघि नागरिक बडापत्र रहेको देखिएको भए पनि आफ्नो घरमा नै स्थानीय सरकारका सेवासम्बन्धी नागरिक बडापत्र राख्न आएपछि नागरिकले अनौठो मानेका छन् ।

गाउँपालिका, वडा र अन्य सरकारी सेवा प्रदायक निकायका सेवासम्बन्धी विषय नागरिक बडापत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका सरकारी कार्यालयका सेवा तथा सुविधा कसरी प्राप्त गर्ने भन्नेबारे बडापत्रले जानकारी दिनेछ । बडापत्र नागरिकका घरघरमा पुग्न थालेपछि घरमा बसीबसी सेवा तथा सुविधा कसरी उपयोग गर्ने विषयमा नागरिकबीच पनि छलफल हुन थालेको पाइन्छ ।

जिल्लामै पहिलो चरणमा रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका नागरिकका घरमा नागरिक बडापत्र राखी कार्यान्वयनमा ल्याइएको हो । नौलो र पहिलो कार्यक्रमले वडामा मात्र होइन, जिल्लामा पनि चर्चा पाएको छ । ‘घरघरमा बडापत्र पु¥याउँदा नागरिकमा उत्साह थपिएको छ, त्यसमा पनि स्कुले बालबालिका झनै खुसी भएको प्रतिक्रिया आएको छ । नागरिक बडापत्रसम्बन्धी विद्यालयस्तरमा पठनपाठन हुँदो रहेछ’, वडाध्यक्ष कृष्ण थापाले भने, ‘वडाभित्रका ४ सय २२ घरधुरीमा नागरिक बडापत्र राखिएको छ ।’

गाउँपालिकाभित्रका सरकारी कार्यालयका सेवासुविधाका प्रकार, सेवा लिन लाग्ने समय, जिम्मेवार पदाधिकारी र आवश्यक कागजपत्र नागरिक बडापत्रमा उल्लेख गरिएकोे वडाध्यक्ष थापाले जानकारी दिए । नागरिक बडापत्र नागरिकका घरमा राख्ने चलन भने जिल्लामा पहिलो हो । स्थानीय सरकारबाट सम्पादन हुने सेवा छिटोछरितो रूपमा लिन सहयोगी बनेको स्थानीय समर गहतराजले बताए ।

स्थानीय सरकारका सेवा लिन जाँदा के के कागजपत्र आवश्यक रहेको छ, कति समय खर्चिनुपर्ने र त्यसका लागि कुन पदाधिकारी भेट्दा काम हुन्छ भन्ने जानकारी बडापत्रमा रहेको गहतराजको भनाइ थियो । स्थानीय सरकारले नागरिकका घरमा बडापत्र राख्न थालेसँगै थप जवाफदेही बनाउन सहयोगी हुने र नागरिकमा सेवा प्रदायक निकायले कसरी सेवासुविधा दिइरहेका छन् जानकारी लिई काम छिटोछरितो गर्न सहज हुने स्थानीय बासिन्दाको दाबी छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषि अर्यालले गाउँपालिकाका प्रत्येक वडामा नागरिक बडापत्र पु¥याउने लक्ष्य रहेको बताए । सोही अनुसार गाउँपालिकाले कुसुमखोलाबाट पहिलो चरणको कार्यक्रम थालनी गरेको अर्यालको भनाइ छ । झन्डै ७१ हजारको बजेटमा वडाले नागरिक बडापत्र प्रकाशन गरी नागरिकका घरमा पु¥याउन थालेको हो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले यस कामले नागरिकलाई सेवासुविधा प्रयोग गर्न सहज हुने बताए । कतिपय मानिस आवश्यक कागजपत्रविना गाउँपालिका, वडामा उपस्थित भई सेवा लिन खोज्दा समय बढी खर्च गर्नुपर्ने बाध्यता थियो । अब कागजपत्रसहित जिम्मेवार पदाधिकारीलाई सम्पर्क गरी सेवा लिँदा सहज र छिटो काम हुने आशा नागरिकमा पलाउन थालेको छ । कुखुमखोलामा ७ सय ४ पुरुष र ९ सय २० महिला रहेका छन् ।

प्रतिक्रिया