गजुरमुखीमा दर्शनार्थीको घुइँचो

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्वकालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ लागिरहेको छ ।

मेलाको मुख्य दिन मंगलबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरूको घुँइचो लागेको छ । धाम आसपासमा पाल टाँगेर सयौँ अस्थायी टहराहरू निर्माण गरी होटल व्यवसायहरू सञ्चालनमा छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरूको भीड लागेको छ । कतिपय सावारी साधनबाट भने कतिपय पैदल यात्रामा धाम आउनेको घुँइचो छ ।

धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुँदै पैदल र सवारी साधनमार्फत आउनेहरूको क्रम जारी छ । मेलालाई व्यवस्थित गर्न मेला आयोजक गजुरमुखी धाम बजार व्यवस्थापन समिति क्रियाशील छ । हुलहुज्जत र झैझगडा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बर कार्कीले बताए ।

गजरमुखी धाममा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भूभागसँगै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसामलगायत स्थानबाट भक्तजनहरू आउने गरेका छन् । बोली नआएकाहरूको बोली आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले सयाँैको संख्यामा भक्तजनहरू आउने गरेका छन् । मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरूबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोली नआएकाहरूको बोली आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण बर्सेनि हजारौँको संख्यामा भक्तजनहरू पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा सयौँको हाराहारीमा भक्तजनहरूको उपस्थिति रहन थालेको छ ।

मेची लोकमार्गअन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाका लागि आउने गरेका पर्यटकहरू इलाम आएका बेला प्रायः गजुरमेखी जान छुटाउँदैनन् । वर्षाको समयमा कच्ची सडक पर्यटकहरूका लागि केही असजिलो हुने गरेको भए पनि हिउँद याममा गाडीहरू चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।

धार्मिक पर्यटकीय सम्भावना रहेको गजुरमुखीको विकास र प्रवद्र्धनका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गरी अगाडि बढिरहेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए । ‘जिल्लाकै एक प्रमुख धार्मिकस्थलको रूपमा रहेको गजुरमुखीलाई विकास र प्रवद्र्धनका लागि गुरुयोजन निर्माण गरेर अगाडि बढिरहेका छौँ’, अध्यक्ष इदिंगोले भने, ‘आगामी दिनमा संघीय र प्रदेश सरकारसँग समेत समन्वय गरेर यसलाई पूर्वकै महत्वपूर्ण धार्मिक स्थलको रूपमा विकास र विस्तार गर्ने तयारीमा छौँ ।’

प्रतिक्रिया