‘सुशासन र जवाफदेहिता छत्रदेवको प्रतिबद्धता’

अर्घाखाँची । छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले सुशासन र जवाफदेहिता छत्रदेव गाउँपालिकाको प्रतिबद्धता रहेको बताएका छन् । पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत एकीकृत ग्रामीण विकास समाजको आयोजनामा भएको साझेदारी मञ्चको बैठकमा अध्यक्ष पोख्रेलले गाउँपालिकाले गरेका हरेक सेवा प्रवाह सबैको पहुँचमा र पारदर्शी जवाफदेहिता रहेको बताए ।

गाउँपालिका अध्यक्ष तथा साझेदारी मञ्च संयोजक लेखनाथ प्रोख्रेलले विद्यार्थीको वार्षिक स्वास्थ्य जाँच गर्ने तथा स्वास्थ्यचौकी र सामुदायिक विद्यालयमा सूचना अधिकारी तोक्ने निर्णय भएको पनि जानकारी गराए । मञ्चको बैठकले किसानलाई कृषि पेशाप्रति प्रोत्साहित गर्न भकारो सुधार र पशुपालनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, स्वास्थ्य संस्थाहरू खुल्ने अवधीलाई समेत प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको प्रोख्रेलले बताए ।

गाउँपालिका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले सुशासन र जवाफदेहिताका गतिविधिमा नागरिक समाजको भूमिकाले अझ प्रभावकारिता बढेको बताइन् । श्रेष्ठले गाउँपालिकाले सबै पक्षको सहयोग तथा समन्वयलाई समेत आत्मसाथ गरेको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले छत्रदेव गाउँपालिका सेवाग्राही मैत्री र जवाफदेही रहेको बताउँदै भुसालले गाउँपालिकामा सेवाग्राहीका लागि नागरिक सहायकता कक्ष, नागरिक बडापत्र, सुझावपेटिका र सूचना अधिकारी साथै अनलाइन गुनासो लिने पद्धतीको समेत विकास गरिएको बताए । भुसालले नागरिक समाजबाट आउने सुझावलाई कार्यान्वयन गर्दै लगिने पनि जानकारी दिए ।

पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्यले सुशाशनलाई अझ बलियो बनाउँदै हरेक पक्ष जवाफदेही हुनुपर्ने बताए । पारस्पारिक जवाफदेहिता परियोजनाले सुशासन प्रवद्धन गर्दै सवै पक्षलाई जवाफदेही र पारदर्शी बनाएको कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया