एनजिओका कार्यक्रममा सांसदको रोदन

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदले एक एनजिओको कार्यक्रममा मर्यादा विपरीत आफूले पाएको दुखेसो पोखेका छन् । समस्याको समाधान गर्ने थलो संसद् नै भए पनि उनीहरूले अमेरिकी एनजिओको कार्यक्रममा दुखेसो पोखेका हुन् ।

ललितपुरको कुपन्डोलस्थित एक होटलमा मंगलबार अमेरिकी गैरसरकारी संस्था आइआरआई (इन्टरनेसनल रिपब्लिकन इन्सिच्युट्स) गरेको कार्यक्रममा करिब ५० सांसद उपस्थित थिए । कार्यक्रममा अमेरिकाको प्रतिनिधि सभाका लागि भर्जिनियाका पूर्वसांसद बब गुडलाटे, ३६ वर्षसम्म अमेरिकाको संसद सचिवालयमा काम गरेका पूर्वकर्मचारी ब्राड स्मिथ, कांग्रेसी अनुसन्धान सेवा, परराष्ट्र मामिला, रक्षा तथा व्यापार महाशाखा र परराष्ट्र नीति पूर्वविशेषज्ञ सुसन एप्सिटन, प्रतिनिधि स्कट नेमेथलगायतको टोली थियो ।

उनीहरूले अमेरिकाको विधेयक बनाउने अनुभव सुनाउँदै नेपाली सांसदलाई अमेरिका यसरी आउन सकिन्छ भनेर सुझाव पनि दिए । पूर्वसांसद बबले यस्तै कार्यक्रमका लागि अमेरिका सहभागी हुन चाहाने हो भने आइआरआईमार्फत् प्रोसेस गर्न सक्ने जानकारीसमेत दिए ।

त्यसपछि नेपाली सांसदको पालो आयो । उनीहरूले विषयवस्तुभन्दा पनि आफ्नो दुखेसो पोखे । सरकारले रकम नदिएको, ट्याक्सी भाडासमेत उपलब्ध गराउन नसकेको, प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद गर्ने गरेको, अमेरिका जान नपाएकोसम्म गुनासो गरेर नेपाली सांसदको योग्यता छताछुल्ल पारिदिए । नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले भनिन् ‘तपाईंहरूसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र काम गर्न खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जाननै सक्दैनौँ, जिल्ला जानको लागि खर्च नै हुँदैन । बरू तपाईँहरूले हाम्रा माथिल्लो निकायका मानिसहरूलाई भेटेर यो खबर सुनाइदिनु प¥यो ।’

त्यस्तै सत्तारुढ दलबाट राष्ट्रियसभा सांसद माया ज्ञवालीले त खुलेरै अमेरिका जान र ट्याक्सी चढ्न नपाएको गुनासो पोखिन् । ‘हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन, मैले त अमेरिका पनि देख्न पाएकी छैन । तपाईंहरूले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु’, उनले भनिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन ।

धेरै ठूलो समस्या छ ।’ प्रतिनिधि सभा सदस्य मानबहादुर विश्वकर्माले भने, ‘मेरो जिज्ञासा अमेरिकामा सरकारले विधेयक ल्याउँदा के हुन्छ ? हाम्रोमा सरकारले विधेयक ल्याउँछ, संसद्मा छलफल हुन्छ । तर, सत्तापक्षले प्रश्न सोध्न पाउँदैन । ह्वीप लाग्छ । प्रतिपक्षको विरोधको स्वर सुनिँदैन । यसका कारण अपरिपक्व ऐनहरू पनि बनेका छन् । मन्त्रीले सदनमा बोलेका कुरा पनि पूरा हुँदैनन् । लोकप्रियताका लागि जे पनि बोल्छन् । सांसदहरू ब्युरोकेसीको अन्डरमा छन् ।’

सांसद तथा राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति रामनारायण बिडारी पनि सो कार्यक्रममा सहभागी थिए । उनले कार्यक्रमबाट सांसदले आफ्नै देशको बइज्जत गरेको टिप्पणी गरे । सांसद बिडारीले सांसदहरूले विदेशी संस्थाको कार्यक्रममा आफ्ना आन्तरिक समस्या देखाउनुभन्दा पनि उनीहरूको बारेमा धेरै सोध्नुपर्ने बताए । ‘सांसदहरूले एनजीओको कार्यक्रममा गएर म यस्तो काम गर्छु, यस्तो कानुन बनाउँछु भन्नु कानुन विपरीत हुन्छ । अझ विदेशीको कार्यक्रममा गएर त भन्नै हुँदैन । बरू तिमीहरूकोमा संसदीय सुनुवाइको व्यवस्था कस्तो छ, महाअभियोगको व्यवस्था कस्तो हुन्छ भनेर सोध्नुपथ्र्यो’, उनको भनाइ छ ।

प्रतिक्रिया