खोजखबर

निराश जनतालाई उत्साहित बनाउन कांग्रेसले जित्नुपर्छः नेता रिजाल

सौर्य अनलाइन २०७६ कार्तिक २६ गते ११:५७ मा प्रकाशित

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उनले भने, ‘सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काँग्रेसले जित्न सक्नुपर्छ ।’

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिदैं कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए । उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह पनि गरे ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति, विसङ्गतिलाई रोक्न र सरकारलाई सही बाटोमा हिँडाउन यस चुनावमा काँग्रेसले जित्नुपर्ने धारणा राखे । घरदैलो कार्यक्रममा कांग्रेसनेता डा. रिजाल, उम्मेदवार पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायतका नेता तथा कार्यकर्ता सहभागी छन् ।

प्रतिक्रिया