अनेसास पुरस्कार प्रदान

काठमाडौं । प्रवासमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुनकुमार कार्कीले बताएका छन् ।

अमेरिकाको वासिंटन डिसीमा आइतबार आयोजना गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीको अवसर पारेर गरिएको कार्यक्रमको शुभारम्भ गर्दै राजदूत डा.कार्कीले अनेसासले नेपाली संस्कृतिलाई विस्तार गरेको बताए । उनले सो अवसरमा अनेसास सर्वोत्कृष्ट पुस्तक एवं विशिष्ट प्रतिभा पुरस्कार प्रदान गर्दै नेपाली साहित्यका मूर्धन्य साहित्यकारलाई आमन्त्रण गरेर प्रवासमा पनि उनीहरूको सिर्जना सुन्ने र सिक्ने मौका पाउनु प्रशंसनीय भएको विचार व्यक्त गरे ।

कार्यक्रममा अनेसासको राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्राडा. खगेन्द्र लुईंटेललाई प्रदान गरिएको छ । हरेक दुई वर्षमा प्रदान गरिने दुई लाख ५० हजार राशिको उक्त पुरस्कार साहित्यको क्षेत्रमा प्रवासमा प्रदान गरिने सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा.लुईंटेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, समालोचक हरि अधिकारी, अनेसासका पूर्वअध्यक्ष पदम विश्वकर्मा, पुरस्कार स्थापना गरेका राम लामालगायतले नेपाली भाषा र साहित्यको बारेमा चर्चा गरे ।

यसैबीच कार्यक्रममा राम लामा अविनाशीले लेखेको ‘पिल्सिएको परदेशी मन’ कविता संग्रह पुस्तक सार्वजनिक गरियो । उक्त पुस्तकमा प्रवासी भूमिमा विभिन्न कारणले झेल्नुपरेको समस्या तथा पिल्सिएको भाव समेटिएको २६ वटा कविता संग्रहित गरिएको छ । त्यस्तै, दुई हजार अमेरिकी डलर राशिको अनेसास सर्वोत्कृष्ट पुरस्कार ‘रोबोटका आँखा’ पुस्तकका स्रष्टा नरेन्द्रराज पौडेललाई र दिल लीला सर्वोत्कृष्ट डायस्पोरा पुरस्कार ‘छाप्रो नं ५५’ का लेखक रमेश दियालीलाई दिइयो । अनेसास रोहिणी शर्मा सीता शर्मा काव्य पुरस्कार कवयित्री कुन्ता शर्माको कृति ‘मेरो मान्छे’ कविता संग्रहलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी, अनेसास पदम विश्वकर्मा पुरस्कार कथाकार युवराज मैनालीलाई र एक हजार अमेरिकी डलर राशि रहेको अनेसास स्व डिल्लीराम तिम्सिना पुरस्कार उपन्यासकार तीर्थ गुरुङलाई दिइयो । पाँच सय अमेरिकी डलर राशीको अनेसास डा. श्याम कार्की इन्दिरा कार्की सर्वोत्कृष्ट पुरस्कार नियात्राकार घनश्याम राजकर्णीकारलाई प्रदान गरियो । यसैगरी पाँच सय अमेरिकी डलर राशिको गजल पुरस्कार आँगन गजल संग्रहका लागि नमिता बराललाई र मस्टो संस्कृति पुरस्कार संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रदान गरियो ।

कार्यक्रममा पुरस्कृत स्रष्टा रमेश दियाली, नरेन्द्रराज पौडेल, कुन्ता शर्माले मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रममा गोवद्र्धन पूजा, हरि अधिकारी, कुन्ता शर्मा, सीता पाण्डे, शिव लामिछाने, कृष्ण सादगीलगायत दुई दर्जन कवि तथा कवयित्रीले आफ्नो रचना पाठ गरे ।

प्रतिक्रिया