लुम्बिनीमा साहित्यिक गोष्ठी

रूपन्देही । कला, साहित्य तथा संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय साहित्यिक गोष्ठि सुरु भएको छ । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको गोष्ठीको सोमबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरे ।

प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित उक्त गोष्ठीमा मन्त्री गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरूको भूमिका महत्वपूर्ण हुने जिकिर गरे । उनले भने, ‘सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै हुने गरेकाले यस पछाडिको कारण खोतलेर आम जनमानसमा सही सूचना पु¥याउन साहित्यकारहरूले कलम चलाउनु पर्दछ ।’

उनले सरकारका राम्रा कामको चर्चा गरी कमीकमजोरी भएका ठाउँमा सही ढंगले सुझाव दिन आग्रह गर्दै प्रदेशमा पर्यटनको पूर्वाधार तयार गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष मनाउन सुरु गरेको जानकारी दिए । मन्त्री गिरीले प्रचारका हिसाबले लुम्बिनीसँग जोडिएका सबै क्षेत्रमा पुगेर कार्यक्रमहरू आयोजना गरिएको बताए । उनले भने, ‘लुम्बिनी र योसँग जोडिएका सबै क्षेत्रलाई विश्वसामु पस्कन नसके पनि प्रचारको थालनी गरेका छौँ, यसको परिणाम राम्रो आउनेछ ।’

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले गौतम बुद्धका वाणीहरूमा कथा, कविता र साहित्य भएका बताए । उनले स्रष्टालाई बौद्ध साहित्यमा कलम चलाउन साहित्यकारलाई आग्रह गरे । उनले भने, ‘गौतमबुद्ध दर्शनका प्रणेतामात्र नभई साहित्यकारसमेत भएकाले यो विषयलाई बाहिर ल्याउन जरुरी रहेको छ ।’

प्रदेशसभा सदस्य फकरुद्दिन खानले साहित्यलाई लुम्बिनीको पर्यटनसँग जोडेर विकास गर्न जरुरी रहेको बताए । उनले लुम्बिनी आउने पर्यटकलाई यहाँको कला संस्कृति देखाउन सक्ने ठाउँ बनाउन आवश्यक रहेकाले प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले भाषा, कला र साहित्यको जगेर्नाका लागि यस्ता गोष्ठीहरू महत्वपूर्ण हुने बताए । गोष्ठीका संयोजक प्राध्यापक डा. गीतु गिरीले भाषा, साहित्य र कला राष्ट्रको ढुकढुकी भएकाले यसलाई विकाससँग जोडेर लैजान जरुरी रहेको बताइन् । उनले साहित्य हरेक क्षेत्रसँग जोडिएको हुँदा यसको संरक्षण र विकासमा प्रदेश सरकारले तदारुकता देखाउनुपर्ने जिकिर गरिन् ।

मन्त्रालयका सचिव डा. राधा वाग्लेले साहित्यप्रति धेरैको अभिरुचि हुने भएकाले यसको मार्फत समाजलाई सकारात्मक दिशामा लैजान सहयोग मिल्ने धारणा व्यक्त गरिन् । उनले समाजलाई रूपान्तरणको दिशामा लैजानसमेत साहित्यको महत्वपूर्ण भूमिका रहने बताइन् । प्रदेश वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले प्रदेशमा तत्काल प्रज्ञा–प्रतिष्ठान गठन गर्न प्रदेश सरकारसँग माग गरे ।

उक्त गोष्ठीमा ‘बौद्ध दर्शन र साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले बौद्ध संगायन, बौद्ध शैक्षिक प्रतिष्ठानहरू, धर्म र संघमार्फत भिक्षुभिक्षुणी, बौद्ध विद्वानहरूले बौद्ध दर्शन र साहित्यको विकासमा योगदान पु¥याएको चर्चा गरे । उनले बौद्ध साहित्यले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै राज्यले यसको विकासमा तदारुक्ता देखाउनुपर्ने विचार राखे । कार्यपत्रमाथि संस्कृतिविद् राजेन्द्र आचार्य, दिन पन्थी, हरि तिमिल्सिना र दामु मर्सिफुलले टिप्पणी गरेका थिए ।

त्यसैगरी ‘पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राडा. हिरण्यलाल ज्ञवालीले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, लोकपरम्परा झल्कने खालको साहित्य सिर्जना गर्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाइ राखे । उक्त कार्यपत्रमाथि प्राडा. कपिलदेव लामिछाने, शारदा पौडेल, बनमाली निराकार र विजय सागरले टिप्पणी गरे । गोष्ठीमा स्रष्टा टंकनाथ ज्ञवालीद्वारा लिखित ‘मेरो देश’ कविता संग्रहको मन्त्री गिरीले विमोचन गरे । दुईदिने गोष्ठीमा नेपालसहित सिक्किमका चर्चित नेपाली भाषी साहित्यकारले रचना वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी बाँकेका स्रष्टा महानन्द ढकालले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा राज्यले प्रभावकारी कार्य गर्नका लागि गोष्ठी उत्प्रेरक रहने विचार राखे । उनले समाजलाई गतिशील र सचेत बनाउन साहित्यको भूमिका विशिष्ट रहेको जिकिर गर्दै नेपालका मौलिक साहित्यलाई जर्गेना गर्न कार्यक्रम फलदायी हुने बताए ।

सो गोष्ठीमा बर्दियाका मणि पन्थी, दाङका कमल देवकोटा, अर्घाखाँचीका डा. लक्ष्मी कोपिला र हिम लेकाली, प्यूठानका गेहराज थापा, रूपन्देहीका विजय सागर, वनमाली निराकार, हिमलाल ज्ञवाली, राजेन्द्र आचार्य, ऋषि आजाद, रोल्पाका कविता उपाध्याय, गुल्मीका गोपाल पन्थी, पाल्पाका कृष्णकला भण्डारी र लक्ष्मी ज्ञवाली, नवलपरासीका डा.श्याम न्यौपाने र प्रा. होमकान्त पाण्डे, कपिलवस्तुका राजेन्द्र श्रीवास्तवलगायत सिक्किमका जीविका अश्रु र श्यामानन्द सिंहलगायतका साहित्यकारले आ–आफ्ना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

साहित्यिक गोष्ठीको दोस्रो दिन साहित्यकारहरू कपिलवस्तुको कुदान क्षेत्रको अवलोकन गरी पूर्णिमा उत्सवमा सहभागी हुने कार्यक्रम छ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कंदा पिता शुद्धोधनलाई पहिलो पटक भेटेको स्थान कुदान अर्थात् निग्रोधराममा मंगलबार साँझ पर्यटन मन्त्रालयले पूर्णिमा उत्सवको आयोजना गरेको छ ।

प्रतिक्रिया