डडेलधुराको रेफरलाई डा. केसी टेरेनन्

काठमाडौं । डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने भन्दै सोमबार वीर र त्रिवि शिक्षण अस्पताललाई दिनभर तयारी अवस्थामा रहन भनिएको थियो ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएको र अस्पतालमा चिकित्सक कम र उपकरणसमेत नभएको भन्दै डडेल्धुरा अस्पतालले चाँडै नै स्थानान्तरण गर्न भनेपछि सरकारले काठमाडौं ल्याउने भएको थियो । तर अनसनरत डा. केसले आफू सत्याग्रहमा नै मृत्युवरण गर्ने तर माग पूरा नभएसम्म काठमाडौं त के त्यहाँबाट अन्य ठाउँ कहीँकतै स्थानान्तरण नहुने बताए । उनले भने, ‘मर्न तयार छु तर माग पूरा नभई डडेल्धुरा छाड्दिन ।’

यता उनलाई लिन डडेल्धुरा पुगेको सेनाको हेलिकोप्टर रित्तै फर्किए पनि काठमाडौंको ठूला सरकारी अस्पताल वीर र त्रिवि शिक्षण अस्पताल तयारी अवस्थामा रहेका थिए । अनसनका कारण डा. केसीको शरीरमा सुगर र अक्सिजनको मात्रा कम भएको भन्दै चिकित्सकहरूले तत्कालै आइसियु भएको स्थानमा सार्न सुझाब दिएका थिए । त्यस्तै रक्तचाप र मिर्गौलामा पनि समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । तर यता काठमाडौंका ठूला अस्पतालहरूले तयारी गरेपनि डा. केसी नआएपछि उनको स्वास्थ्य झनै नाजुक बन्ने भएको छ ।

यता डा. केसीले आफूलाई जबर्जस्ती गर्नुको सट्टा माग पूरा गरिदिए सरक्क उठेर जाने बताउँदै आएका छन् । त्यस्तै उनलाई लिन हेली पुगेपछि स्थानीय र केही समर्थकहरूले प्रदर्शन समेत गरेका थिए । उनीहरूले केसीलाई लैजान नदिने भन्दै बाटो बन्द गराएका थिए । गत कात्तिक १८ गतेदेखि निजी घरमा ७ बुँदे माग राख्दै डा. केसी अनसन बसेका थिए ।

अनशन तोड्न शिक्षामन्त्रीको आग्रह
यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै अनशनको बाटो ठीक नरहेको बताएका हन् । ‘सिंगो देश कालापानीको विषयमा एकताबद्ध ढंगले अघि बढिरहेको समयमा डाक्टर सा’बले अनशनको बाटो लिने होइन ।’ उनले भने ।

त्यस्तै डा. केसीले उठाएका मुख्य मागहरू सम्बोधन भइरहेको मन्त्री पोखरेलले बताए । उनले थपे, ‘उहाँकै मागअनुसार चिकित्सा शिक्षा ऐन बनेर लागु हुने क्रममा छ । लागू नभएको भए अनशन गर्न सुहाउँथ्यो ।’ डा. केसीका कतिपय माग अन्य मन्त्रालयसँग जोडिएकोसमेत मन्त्री पोखरेलले जानकारी दिए ।

यसैगरी नेपाल चिकित्सक संघले १७ औँ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग माग गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवनरक्षा गर्न वार्ता गरी समस्याको समाधानमा पहल गर्न माग गरेका हो ।

यस्तै, काठमाडौं विश्व विद्यालय प्राध्यापक संघले पनि डा. केसीलाई पुनः १७ औँ अनसन बस्न बाध्य पारिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै देशको चिकित्सा शिक्षामा रहेको बेतिथिलाई व्यवस्थित गराउने उद्देश्यमा संघ केसीसँगै रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया