अनुशासन आयोगमा बोहोरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांगठनिक विभागको नेतृत्वलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा तथा सचिवमा अशोक रोकायलाई चयन गरेको छ । यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेललाई दिइएको छ । यसअघि अनुशासनको अध्यक्षमा अमिक शेरचन र निर्वाचन आयोगमा सोमनाथ प्यासीलाई चयन गरेपछि दुवैजना प्रदेश प्रमुख भएपछि सो पद खाली रहेको थियो ।

सचिवालय बैठकले केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल तथा सचिवमा टेकनाथ आचार्यलाई चयन गरेकोे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई र ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ । सो कार्यबाट पार्टी एकीकरणले पूर्णता पाएको उनको भनाइ थियो ।

प्रतिक्रिया