बढी शुल्क फिर्ता नगरे ठगी मुद्दा

काठमाडौं । सरकारले बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध ठगी मुद्दा दायर गर्ने भएको छ । सरकारले पटकपटक आग्रह गर्दा पनि तोकिएभन्दा बढी शुल्क फिर्ता नदिएपछि मुद्दा नै अगाडि बढाउने चेतावनी दिएको हो । यद्यपि लिएको भए १५ दिनभित्र फिर्ता गर्न अन्तिम पटक अल्टिमेटम दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन गर्न अल्टिमेटम दिएका हुन् । उनले यस विषयमा गृहमन्त्रालयलाई पनि पत्र लेखेर जानकारी गराइसकेको बताए । मन्त्री पोखरेलले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिए ।

उनले शिक्षा मन्त्रालयले त्रिभुवन विश्व विद्यालयक, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग मन्त्रीस्तरीय बैठक गरेर १५ दिनसम्म शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने निर्णय भएको बताए । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बसेको बैठकले कलेजलाई ठगी मुद्दा लगाउने निर्णय गरेको थियो ।

‘म मेडिकल कलेज चलाउने सबै साथीहरूलाई के भन्न चाहन्छु भने हिजो संक्रमणमा जेजे भए, अब चिकित्सा शिक्षा ऐन आइसकेपछि ऐन कार्यन्वयन र क्याविनेटले गरेका निर्णयको सन्दर्भमा हामी आफ्नो भूमिका खेलिरहेका छौँ सबैलाई आफ्नो भूमिका लेख्न पनि आग्रह गरेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘यो आग्रह गरेपछि पनि उहाँहरूले मिलाउनु भएन भने निश्चित रूपमा विद्यार्थी र अभिभावकले दिएका निवेदनहरूमाथि कार्यन्वयनको प्रक्रियामा जान्छ ।’

मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकलाई पनि मेडिकल कलेजको गठी धन्दामा नफस्न आग्रह गरे । मेडिकल कलेजहरूले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजहरूमा लामो समयदेखि आन्दोलनसमेत गर्दै आएका छन् । मन्त्री पोखरेलले अभिभावक र विद्यार्थीसँग बढी रकम लिएर प्रमाण लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिन पनि आह्वान गरेका छन् । यद्यपि उनले सुरुका १५ दिन कुर्न र त्यस समयमा पनि समस्या समाधान नभएमा जिप्रकामा उजुरी दिएर सहयोग गर्न भनेका हुन् ।

सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै मूल्य लिएको दाबी गर्छ । विद्यार्थीहरूलाई इन्टनसिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया