‘सीमामा स्थायी ब्यारेक बनाऊ’

काठमाडौं । संसदीय समितिले सरकारलाई नेपालको सबै भूमाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नु सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप भएको ठहरसमेत गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राख्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप भएको निष्कर्ष निकालेको हो । भारतको सो कार्यविरुद्ध अविचिलित र दृढ रहन समितिले सरकारलाई निर्देशन दिएको छ । जसमा लिम्पियाधुरासमेत समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिइएको छ ।

‘नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्नुका साथै हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुराको मुहान काली नदीसम्मको भूभाग समावेश गरी नयाँ नक्सा तयार पार्न नेपाल सरकारलाई निर्देशन दिने’, समितिको निर्देशनमा भनिएको छ ।

यद्यपि समितिले समस्याको समाधानका लागि भने कूटनीतिक पहल नै गर्न सुझाव दिएको छ । उक्त भूभाग नेपालकै हो भन्ने भौगोलिक र ऐतिहासिक तथ्यहरूलाई स्वीकार गर्दै उक्त क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय राजनैतिक एवं कूटनैतिक पहल’ गर्नुपर्ने बैठकले आवश्यकता औँल्याएको छ । त्यस्तै सरकारलाई अहिले आम नेपाली एकताबद्ध भएकाले अन्य स्थानका सीमा विवादहरू समेत स्थायीरूपमा समाधान गर्न तत्काल पहलकदमी लिन सरकारलाई निर्देशन दिएको छ ।

समितिले नयाँ नक्सा बनाउन निर्देशन दिएपछि सरकार भने तत्काल भारतसँग यो विषयमा कूटनीतिक तवरमा अगाडि बढ्न चाहेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सर्वदलिय बैठकमा समेत कूटनीतिक तवर नै यो समस्याको समाधानको पहिलो विकल्प भएको बताएका छन् । बैठकमा सहभागी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कूटनीतिक प्रयास नै सरकारको पहिलो कदम हुने बताए ।

उनले अहिले अन्तर्राष्ट्रिय अदालत जाने जस्ता कुरा गरेर माहौल विगार्नुभन्दा कूटनीतिक तवरबाटै समस्याको समाधान निकाल्ने तर्फ जानुपर्ने बताए । ‘नेपाल सरकारले राजनीतिक पहल गर्नुपर्छ भन्ने कुरा ठीक छ । तर, त्यसो भएन भने अन्तर्राष्ट्रियकरण गर्ने कुरा भने अहिले नगरौँ । भएन भने के गर्ने त्यति वेला नै सोचौँला । पहल गर्दै जाँदा नैतिक रूपमा हामी माथि पर्छौं’, दाहालको भनाइ थियो । उनको भनाइमा सत्तारुढ नेकपाका सांसदहरुले सहमति जनाएका थिए ।

समितिले कालापानीलगायतका अन्य सीमा क्षेत्रमा नेपालको तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षा व्यवस्था गर्न र सिमाना नियमन गर्न पनि निर्देशन दिएको छ । नेपाल भारत अन्य स्थानमा रहेका सीमा विवादहरुसमेत स्थायीरूपमा समाधान गर्न तत्काल पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराइएको छ । लिम्पियाधुरा मुहान भएको कालीनदी (महाकाली) पूर्वको भुभाग नेपालको हो भन्ने भौगोलिक र ऐतिहासिक तथ्यहरुलाई स्वीकार गर्दै उक्त क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न तत्काल उच्चस्तरीय राजनीतिक एवं कूटनैतिक पहल गर्न पनि समितिले सरकारलाई भनेको छ ।

कैलाश मानसरोबर तीर्थस्थल जाने यात्रीको सहज यात्राका लागि, धार्मिक पर्यटन र नेपालको तिब्बत व्यापारका लागि दार्चुलाको खलंगादेखि तिंकर भञ्ज्याङसम्मको सडकका लागि तत्काल बजेट विनियोजन गरी द्रुत गतिमा काम सम्पन्न गर्न पनि समितिको निर्देशन छ । नेपाली भूमि अतिक्रमण गरी भारतले नक्सा तयार पारेकोले त्यसका विरुद्ध एकजुट भएर अघि बढ्न सरकार, राजनीतिक दल र सामाजिक संघसंगठनलाई समितिले आग्रह गरेको छ ।

सीमा सुरक्षा बढाउँछौँ – गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले अब सिमानामा करिब १०–१० किलोमिटरको दूरीमा सीमा सुरक्षा बल राख्ने बताएका छन् । अहिले करिब ३५ किलोमिटरको फरकमा सीमा सुरक्षा बल रहेको बताउँदै उनले अब त्यसलाई घटाउने बताए । सीमा सुरक्षाको मुख्य जिम्मा सशस्त्र प्रहरी बल (एपीएफ)लाई नै रहेको उनले जानकारी दिए । ‘सीमा सुरक्षामा नै एपीएफलाई केन्द्रित गर्ने ढंगले त्यो फोर्सलाई नयाँ ढंगले हामीले विन्यास गर्दैछौँ । ३०–३५ किलोमिटरको अन्तरमा सुरक्षा बल थियो । त्यसलाई अब घटाएर हामीले औसतमा १० किलोमिटरमा फोर्सलाई विन्यास गर्ने भन्ने योजना बनाइएको छ’, गृहमन्त्री थापाको भनाइ छ ।

खुला सिमानाका कारणले सीमा सुरक्षा राम्रोसँग गर्न नसकेको भन्दै उनले राजनीतिकरूपमा खुला सिमानाबारे विगतका सहमतिबारे सरकारले निर्णय गर्नुपर्नेमा जोड दिए । ‘खुला सिमानाबारे पनि विगतका सन्धीसम्झौताको पुनरावलोकन गरि नयाँ गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । लिम्पियाधुरामा राजनीतिकरूपमा कुनै निर्णय नभएको हुनाले विवादित क्षेत्रमा हामीले हाम्रो सुरक्षा बललाई पठाएका छैनौँ । त्यसको नजिकमा त छ । त्यसलाई विस्तार गर्ने क्रममा छौँ’, उनले भने ।

प्रतिक्रिया