पश्चिमी सीमाको दयनीय अवस्था

काठमाडौं । भारतसँग विवादित रहेको कालापानीलगायतका सीमामा नेपालको उपस्थिति दयनीय रहेको छ । सिमाना मिचिएको ठाउँभन्दा करिब एक दिनको पैदल दुरीमा रहेको नेपाली सुरक्षाकर्मीको टोली त्यहाँबाट बिदा भएर अहिले तल झरेको छ ।

सीमा विवादले नयाँ रूप लिइरहेको अवस्थामा भारतले सुरक्षा अवस्था बढाउँदा नेपालतर्फका प्रहरी भने तल बेसी झरेका छन् । दार्चुलाको तिंकरस्थित छाइलेकमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी चिसो बढेसँगै तल झरेका हुन् । सिमानाभन्दा एक दिनको पैदल दुरी वारी नै रहेको नेपाली सुरक्षाकर्मीको टोली सो स्थान छाडेर अझै तल आएपछि सो क्षेत्रमा भारतीय मनोमानी जहिले पनि बढ्ने गरेको छ ।

छाइलेकमा वर्षको पाँच महिनामात्र नेपाल प्रहरी रहने गरेको छ । बाँकी सात महिना सो क्षेत्रमा नेपाल प्रहरी र प्रशासनको उपस्थिति नभएपछि भारतीय सुरक्षा बलले आफुखुसी जुनसुकै कार्य गर्न पनि कुनै रोकावाट हुँदैन । तर भारतीय सुरक्षाकर्मी बसेको नेपाली भूभाग पुग्नमा भने नेपालीले भारतको अनुमति लिनुपर्ने विडम्बना रहेको छ ।

जाडो सुरु भइसकेको र त्यहाँ बस्न सकिने अवस्था नभएपछि छाइलेक प्रहरी चौकीका सबै प्रहरीहरू तल झरिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिएका छन् । चिसो बढेपछि तिंकरबासी पनि तल बेसीतर्फ झरिसकेका छन् । जसका कारण प्रहरी पनि सो प्रहरी चौकीमा ताला लगाएर आएका हुन् । ‘तिंकरमा बसोबास गर्ने स्थानीय सबै तल झरेपछि प्रहरीको टोली पनि तल झरेको हो’, प्रहरी अधिकारीले भने, ‘पहिला स्थानीय तल झर्छन्, सबै तल झरेको निश्चित गरेपछि अनि बल्ल प्रहरी पनि छ्याङरुमा रहेको सीतापुर प्रहरी चौकीमा झर्छ ।’

अहिले छ्याङरु रहेको सीतापुर प्रहरी चौकी आइपुगेको टोली केही समय मात्रै त्यहाँ बस्छ । चिसो अझै बढ्दै गएपछि भने त्यो क्षेत्रका बासिन्दासँगै प्रहरीहरू अझै तल झरेर व्यास गाउँपालिकाको वडा नम्बर २ मा आइपुग्छन् । ब्यास गाउँपालिकामै पर्ने कालापानीमा अहिले राज्यको उपस्थिति नै छैन ।

पछिल्लो समय भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको झन्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नोमा पारेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्नेक्रममा नेपालको यो क्षेत्रलाई पनि औपचारिक रूपमा आफ्नो बनाएको हो ।

नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा भारतले सैन्य गस्तीलाई बढाएको छ । नेपालमा भारतविरोध गतिविधि बढिरहेका बेला सिमानामा भारतले थप चासो देखाएको हो । पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ । कालापानी क्षेत्रमा भारतले सीमा सुरक्षा बल (एसएसबी) र इन्डो तिब्बतियन बोर्डर पोलिस(आईटीबीपी)को सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको थियो । उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिनाअघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ । नेपाल र चीनको सीमानजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको लडाकु विमानको नियमित उडान भइरहेको छ ।

पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दुरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती पनि गर्दै आएको छ । पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टोबर २३ (कात्तिक ६ गते) समाचार प्रकाशित गरेको छ ।

 

प्रतिक्रिया