आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र) मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ ।

कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ । ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक हितमा काम गर्दै आएको र हाल विश्वको ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्यूट नेपाल’ को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौँमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर रहेका छन् ।

‘हामीले सन् २०१६ मा यो सर्वेक्षण गरेका थियौँ’, मनुमित्र कार्यक्रम संयोजक सङ्गीता सापकोटाले भनिन्, ‘२२ हजार यस्ता कुकुर मध्ये कूल १४ हजारको बन्ध्याकरण गर्नुपर्ने थियो, आठ हजारको बन्ध्याकरण गरिसक्यौँ भने छ हजारको अझै गर्न बाँकी छ ।’ २२ हजारमध्ये आठ हजार सामुदायिक कुकुर केही बूढा, केही दूध चुसाउने बच्चाको माउ, केही बच्चा रहेकाले यिनीहरुको बन्ध्याकरण गर्न नमिल्ने सापकोटाले बताइन् ।

काठमाडौँमा बढ्दै गएको कुकुरको सङ्ख्याबाट भित्रिने रोगले मानिसमा कुनै असर नपारोस् भनी मनुमित्रले ८० प्रतिशत यस्ता कुकुरलाई रेबिज विरुद्धको खोप लगाइदिइसकेको मनुमित्र सामुदायिक कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।

मनुमित्रले शुक्रबारका दिन आफ्नो क्लिनिकमा लगेर यस्ता कुकुरको बन्ध्याकरण गरी ‘भी’ आकारमा कान चिरेर चिह्न लगाउने गरेको छ । विसं २०७३ मा द जेन गुडअल इन्स्टिच्यूट नेपालले सामुदायिक कुकुर व्यवस्थापनमा लगानी गरेको थियो । विसं २०७४ मा कामपाले रु ७२ लाखको औषधी खरिद गरिदिएको थियो । यसैगरी २०७६ सालमा कामपाले रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मनुमित्रका संयोजक सापकोटाले बताइन् ।

मनुमित्रले कामपाको सबै वडामा पशु व्यवस्थापन सहायक समुह गठन गरी ३० जना सदस्यसहित २, ३ १३ र १४ बाहेक सबै वडामा रहेका यस्ता कुकुरको बन्ध्याकरणको काम सम्पन्न गरिसकेको छ । मनुमित्रले सामुदायिक कुकुरसम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । हरेक प्रकारका कुकुरको आयु १२ देखि १५ वर्ष हुने हुँदा मनुमित्रले समाजमा रेबिज शिक्षाका कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रमलगायतका विभिन्न काम गरिरहेको बताइएको छ ।

मनुमित्रले महानगरसँग गरेको तीन वर्षसम्मको सहकार्य हाल अन्तिम चरणमा रहेकाले यसको समाप्तीसँगै समाजमा रहेका यस्ता कुकुरको हेरविचार कसले गर्ला भन्ने चिन्तामा कार्यक्रमका सहभागीको मत छ । यो कार्यक्रम केवल काठमाडौँमा मात्र अघि बढाइएको थियो । यस कार्यक्रमका कारण आफ्ना घरमा कुकुर पाल्ने मानिससमेत सचेत भएका बताइएको छ ।

प्रतिक्रिया