आर्सनलमाथि लेस्टरको सहज जित

एजेन्सी, पेरिस । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले प्रभावशाली खेल प्रदर्शन गर्दा आर्सनल २–० ले पराजित भएको छ ।  लेस्टरको मैदान किङ पावल स्टेडियममा भएको खेलमा घरेलु टिमको जितमा भार्डीले नायकको भूमिका निभाए । लेस्टर सिटीलाई नतिजा सुम्पिएसँगै आर्सनलका प्रशिक्षक युनेई इमिरेले समर्थकलाई धैर्य हुन आग्रह गरेका छन् ।

लेस्टरलाई लगातार उत्कृष्ट लयका साथ केही समयका लागि भए पनि प्रिमियर लिगको दोस्रो स्थानमा बस्न जेमी भार्डे र जेम्स माडिसनले समान एक गोल गरेका थिए । यस हारपछि भने आर्सनल शीर्ष ४ को टोलीभन्दा ८ अंकले पछि परेको छ । लेस्टरको १२ खेलमा २६ अंक छ, जुन १० खेल खेल्दै शीर्ष स्थानको लिभरपुलभन्दा ५ अंक कम हो ।

चेल्सी २६, म्यानचेस्टर सिटी २५ र सेफिल्ड युनाइटेड १७ अंकका साथ क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । आर्सनल १७ अंकका साथ छैटौँ स्थानमा छ । इमिरेले टोली पुनर्निर्माणमा लागेकाले हारबाट तत्काल नआत्तिन आग्रह गरेका हुन् । ‘हामी हाम्रो लक्ष्यमा प्रतिबद्ध छाँै, तर हामीलाई यसका लागि अझै समय र धैर्यताको खाँचो हुने थाहा छ,’ इमिरेले भने ।

गत सिजनबाट आर्सनलको प्रशिक्षण सम्हालेका इमिरेको प्रशिक्षणमा टोलीले पहिलो ५० खेलमा हात पारेको अंकभन्दा पूर्वप्रशिक्षक आर्सेन वेंगरले अन्तिम ५० खेलमा हात पारेको अंक बढी छ । वेंगरले गत सिजनबाट आर्सनलको २२ वर्षे यात्रामा पूर्णविराम लगाएका थिए । ‘हामीले सुरुआती गोल गरेमा खेल नियन्त्रण लिने थियौँ । त्यसको विपरीत भयो, लेस्टरले गोल गरेपछि खेलमा बलियो पकड जमायो,’ इमिरेले भने । ६८औँ मिनेटमा भार्डेले गरेको गोलमा लेस्टरले अग्रता लिएको थियो । त्यसको ७ मिनेटपछि माडिसनले लेस्टरको अग्रता दोब्बर पारेका थिए ।

‘भार्डेले उत्कृष्ट गोल गरे, त्यसपछि खेल नियन्त्रणमा लिन सहज भयो,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने । आर्सनलले पछिल्लो १० लिग खेलमा मात्र २ खेमला सुखद नतिजा ल्याएको छ । यता शनिबारै भएको अर्कोे खेलमा टोटेनह्याम र सेफिल्डले भने १–१ को बराबरी खेले । ५८औँ मिनेटमा सन ह्युङ मिनले गरेको गोलमा टोटेनह्यामले गोल खाता खोलेको थियो । तर, खेल सकिन १२ मिनेटअघि जर्ज बाल्डकले गरेको गोल सेफिल्डलाई खेलमा फर्काउन पर्याप्त बन्यो । प्रिमियर लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा न्युक्यासल युनाइटेडले बर्नमाउथलाई २–१, एभर्टनले साउथह्यामटनलाई २–१ र बर्नलीले वेस्ट ह्याम युनाइटेडलाई ३–० ले हरायो ।

प्रतिक्रिया