चन्द्रशेखरलाई विद्यापति पुरस्कार

जनकपुरधाम । विद्यापति मैथिली भाषा साहित्य पुरस्कार यस वर्ष साहित्यकार चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल सरकारद्वारा स्थापित मैथिली भाषाको सबैभन्दा ठूलो राशीको उक्त पुरस्कार धनुषा रघुनाथपुरका उपाध्यायलाई ‘सुदामा चरित्र’ नामक मैथिली खण्डकाव्यका लागि प्रदान गरिने लागिएको हो ।

नेपाल विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी आइतबार जानकारी दिएको हो । पुरस्कारको राशी दुई लाख रहेको छ ।

सुनसरीका शिवनारायण पण्डितलाई ‘नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । पण्डितले ‘कालो सूर्य’ नेपाली भाषाको उपन्यास मैथिलीमा अनुवाद गरेका छन् । त्यसैगरी, जनकपुरका पत्रकार उपेन्द्रभगत नागवंशीलाई ‘नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार’ दिइने भएको छ । उनको ‘काव्यकृति’ कविता संग्रहको पाण्डुलिपि रहेको कोषका सदस्य सचिव नवीनकुमार मिश्रले जानकारी दिए ।

त्यस्तै, सप्तरीका दिनेश यादवलाई ‘नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार’ दिइने भएको छ । धनुषा धनौजीका लक्ष्मण मण्डललाई ‘नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार’ प्रदान गर्ने कोषले निर्णय गरेको छ । यी पुरस्कारको राशी जनही एक–एक लाख रुपैयाँ रहेको छ ।

मैथिली कला, साहित्य, भाषा तथा संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कृत गर्ने लक्ष्य राखेर नेपाल सरकारले ०६८ साल कात्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरेको थियो । अहिलेसम्म ३० जना स्रष्टालाई पुरस्कृत गरिसकेको कोषका सदस्यसचिव मिश्रले जानकारी दिए ।

प्रतिक्रिया