भारून्ड राजनीति !

महाभारतको भीष्म पर्वमा एउटा गजबको चराको कथा आउँछ । उक्त चरालाई त्यहाँ भारून्ड नाम दिइएको छ । त्यसका दुई वटा टाउका तर पेट लगायत अन्य शरीरका भाग भने एउटै थिए । म त्यो चरालाई वर्तमान परिस्थितिसँग तुलना गर्न रूचाउँछु । दुईटा ठूला नेता भएका एवं दुइटा विपरित परिस्थितिबाट जन्मिएका दल, दुई किसिमले जनतालाई आश्वासन दिएर एकै ठाउँमा त आए तर परिणाम भने उदेकलाग्दा देखिन थालेका छन् ।

एउटा टाउकोलाई म बाहेक यो संसारमा अरू कोही छँदै छैन भन्ने भ्रम छ त्यसैले उ सम्झौता स्वीकारेर आए पनि क्रान्ति जितेर आएजस्तो गरी आत्मरतिमा रमाउने गर्दछ । अर्को टाउकोले यतिबिघ्न यथार्थता भन्दा परको राष्ट्रवाद पढाउँदै आयो कि अहिले त्यो राष्ट्रवाद उसैलाई भालुको कन्पट बन्दै गइरहेछ । अहिले भारून्ड राजनीति एउटा टाउकोले निर्णय गर्दछ अर्को टाउकोले फिर्ता लिन्छ । यो फल विषादि हो खान हुन्न भन्थ्यो कथामा वर्णित भारून्ड चराको एउटा टाउको, अर्को टाउकोले मन थाम्न सकेन खाइ दियो ।

परिणाम के भयो, बताइरहन नपर्ला । हाम्रा दलहरू चाहे त्यो राप्रपा होस् वा कांग्रेस वा सत्ता चाख्ने अन्य दलहरू नै किन नहुन्, कहिले मयुर जस्ता, कहिले तित्रा जस्ता त कहिले भारून्ड जस्ता देखिने गर्दछन् । के होला यसको रहस्य ? जति थरी विदेशी प्रभुले काखी च्याप्यो त्यति थरी टाउका भएर पो हो कि ?

‘न’ मा ‘त्’, र ‘अ’ मिलेर “नत्र” बनेझै…विदेशतिर पनि त दल छन् प्रतिपक्ष छ, कतै कतै छैनन् पनि । सहमतिको नेपालको जस्तो प्रचलन त्यहाँ छैन । यहाँको सहमतिको सातसालदेखिको इतिहास हेर्नुहोस्, एकचोटी आफ्नै टाउकामा आफैँले खोट्टा हान्नु होस्, कतै सहमतिको सत्यताको दियो बल्न सक्छ । सात सालको सहमति भन्न त राजा, राणा र कांग्रेसबीच भएको भनिएको थियो तर त्यो सहमति भारत, इस्ट इन्डिया कम्पनी र नेपालका स्टेक होल्डरका बीचमा भएको थियो ।

१७ सालको परिपरिवर्तनमा साझेदारहरू परिवर्तन भएका थिए । भारत र चीन प्रमुख भूमिकामा देखिए भने पश्चिमी जगतलाई एनजिओको रूपमा देशभर छरियो तर प्रमुख हिस्सेदार बनाइएन, आवश्यक पर्दा बरू तत्कालीन सोभियत संघको सहयोग लिइयो । त्यसपछिका हरेक परिवर्तनका पृष्ठभूमिमा पश्चिमी जगतले आफ्नो समान हेसियतको खोजि गरिरहेको देखिन्छ ।

एउटा रमाइलो तर गम्भीर वियाय हामीले बेवास्ता गरिरहेका छौँ । दासढुंगा र दरबार हत्याकान्डलाई अहिले एउटा अदृश्य राजनीतिले तर्साउन र भूमिका स्थापित गराउन हतियारको रूपमा प्रयोग गरिरहेको छ । कोही जोडिन वा फुट्न यी दुई घटनालाई नत्र…को शैलीमा प्रयोग गरि रहिएको छ । धेरै टाढा जानु पर्दैन हाम्रा प्रमुख नेताहरूका विगत दुई महिनाको यससम्बन्धी सार्वजनिक अभिव्यक्तिलाई एक ठाउँमा राखेर हेर्नु होस् सत्यता थाहा हुन्छ ।

नेपालमा परिवर्तन हुन्छन् त्यसैले नेपालीको नाम लिइन्छ नै, नेपालीहरू नै प्रताडित हुने गर्दछन् नै । तर, परिवर्तनका संवाहकहरू ट्रिपल एक्स (तेहरो एजेन्ट) को भूमिका निभाइरहेका छन् । सतहमा कुद्ने र डुंगाजस्तो हिँडेको बाटोको इतिहास बिर्सने बानीले गर्दा नै यहाँ तीन थरी एजेन्टहरूको हालीमुहाली चल्न थालेको छ । बेलाबेलामा हाम्रो राजनीति मिलेको जस्तो वा भाँडिएको जस्तो देखिन्छ तर यथार्थता त्यो होइन, वास्तवमा ती तीन थरी एजेन्टहरू मिलेका वा बिच्केका हुन्छन् ।

आफैँले केही गर्न योजना बनाएका भए, त्यसका सम्बन्धमा आउने सबै खाले समस्याका बारेमा पहिले नै आँकलन र मूल्यांकन गरिएको हुन्छ । तर यहाँ जे–जे आउँछ हाजमोलाले पचाउँछ शैलीमा हामी कहाँ एक घण्टा पछिको कुरालाई पनि पूर्वानुमान नगरी निर्णयहरू हुने गरेका छन् । यस्तो तब हुन्छ जब कसैको आदेश अनुसार चल्ने गरिन्छ, कसैसँग भएको गोप्य सम्झौताअनुसार चल्ने गरिन्छ ।

सात सालको परिवर्तन पछि कोसी बाँध बन्नु, विश्वेश्वरको पालामा हिमालको उत्तरी स्वामित्व गुम्नु, महेन्द्रको पालामा कालापानी गुम्नु, कसैको पालामा के त कसैको पालामा के सम्झौता हुनु वास्तवमा नेपालीको चाहना वा हितलाई केन्द्रमा राखेर कहिल्यै भएका छैनन् । यदि ती सम्झौताहरू नेपालीका चाहनाअनुसार भएका हुन्थे भने एजेन्टहरूका बीचमा विवाद नै हुने गर्दैनथ्यो, तीनको नेपालीपनमा विश्वास गरेर आम नागरिकहरू विभाजित नै भइरहेका हुँदैनथे ।

सुगौली सन्धीदेखि आजका मितिसम्म भएका सबै सम्झौतामा नेपाल ठगिएको छ, एजेन्टहरूलाई फाइदा भएको छ, छातीमा हात राखेर ती सम्झौताका प्रावधान पढ्नुहोस् र यथार्थतासँग लगेर दाँज्नु होस्, म गलत भए अनि प्रश्न गर्नु होस् । महाकालीपछि अब कोसी उच्च बाँधको कुरा आएको छ । देशको विकास गर्ने ह्याउ हामीसँग छैन नेताको विकास गर्न वा व्यक्तिको विकास गर्न हामी विश्वलाई सिकाइरहेका छौँ । बूढी गण्डकी होस् वा अरू जुन् जुन् आयोजनामा लगानी बढी हुन्छ, जुन–जुन आयोजनामा विदेशी स्टेक होल्डरको स्वार्थ बढी हुन्छ ती–ती आयोजनाहरूमा यहाँ विवाद हुन्छ ।

अरूण तेश्रो आयोजना बनाउन नदिन तत्कालीन एमालेका नेता माकुने र कांग्रेसकी नेतृ शैलजा आचार्यले आ–आफ्ना मालिकहरूलाई पत्र काटेको कुरा यहाँ सबैलाई स्मरण गराउन चाहन्छु । हामी आमनागरिकहरू अझै पनि विदेशी एजेन्टहरूकै विश्वासमा रगमगिइरहेका छौँ । कहिले देउवा र पौडेल मिले भनेर त कहिले ओली र प्रचण्ड अनि कहिले अरू कोही दुई मिले भनेर खुसी भइरहेका हुन्छौँ । कहिले मिलेनन् भनेर खुसी भइरहेका हुन्छौँ । देशको हितमा देउवा, प्रचण्ड र अरू पनि मिले भनेर नेपालीले कहिल्यै सुन्न पाउने छैनन् किन कि नेपालको राजनीति एजेन्ट राजनीति हो मौलिक राजनीति होइन । भित्रभित्रै मिल्नुपर्ने कुरामा मिले पनि एजेन्ट राजनीतिले कहिल्यै जनतालाई मिल्न दिने छैन ।

प्रतिक्रिया