दौडधुपछि उम्मेदवार फिर्ता !

बाग्लुङ । सत्तारुढ नेकपाका बागी उम्मेदवार शेरमान घर्तीले राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवारलाई सघाउने घोषणा गरेका छन् । बागलुङ क्षेत्र नं. २ (ख)मा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, घर्तीले सो निर्णयविरुद्ध आफ्नो उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ता गर्ने दिन साढे १ बजे हेलिकोप्टरबाट सदरमुकाम झरेका शेरमान घर्तीले नेकपाको जिल्ला नेतृत्वसँगको छलफलपछि राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई सहयोग गर्ने घोषणा गरेका हुन् । यद्यपि उनले कानुनीरूपमा आफ्नो उम्मेदवारी भने फिर्ता लिन पाएनन् ।

आतइबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बिहान ११ बजेदेखि १ बजेसम्मको लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । आइतबार बिहानसम्म उम्मेदवारी फिर्ता लिन तयार भएका उनी एकएक गायब भएका थिए । पार्टीको सम्पर्कमा नआएपछि उनको खोजीतीव्र रूपमा भएको थियो । स्रोतका अनुसार प्रहरीले उनलाई फेला पारेपछि हेलिकप्टरबाट लिएर गएको थियो ।

स्रोतका अनुसार प्रहरीले उनलाई बुर्तिबाङ बजारस्थित स्थानीय नेता तुलसी अर्यालको घरमा फेला पारेर हेलिकप्टरमार्फत बागलुङ बजार लगिएको थियो । अर्याल २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार रहेका थिए । नेकपाका जिल्लास्तरका नेताको दाबीजस्तै उनी अपहरणमा परेर त्यहाँ पुगेका हुन् कि उम्मेदवारी फिर्ता लिन नचाहेर लुकेर बसेका हुन् भन्नेबारे आधिकारिकरूपमा पुष्टि भइसकेको छैन । तर, प्रहरीको सहयोगमा त्यहाँबाट उनलाई केही किलोमिटर प्रहरीकै भ्यानमा राखेर त्यसपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा हेलिकप्टरमार्फत लगिएको एक प्रत्यक्षदर्शीले बताए । कतिपयले उनको उम्मेदवारी कायमै राख्न बागलुङ कांग्रेसको हात रहेको समेत दाबी गरेका छन् ।

उम्मेदवारी फिर्ताको अन्तिम समयमा तीव्र दबाबपछि मनोनयन फिर्ता लिन तयार भएका शेरमानलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा हेलिकप्टरमार्फत सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता गर्न समय सकिएका कारण प्रयास विफल भएको थियो । यद्यपि नेकपाले अन्तिम विकल्पको रूपमा घर्तीलाई पत्रकार सम्मेलन गरेर विज्ञप्तिमार्फत बागी उम्मेदवारी फिर्ता र राजमो उम्मेदवारलाई सघाउने उद्घोष गराउन सफल भएको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।

आफूलाई उपेक्षा गरिएको गुनासो र विभिन्न एजेन्डासहित स्वतन्त्ररूपमा दर्ता गराएको उम्मेदवारी केन्द्र र जिल्ला तहका नेताहरूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेपछि फिर्ता लिएको घर्तीले बताए । ‘स्वभाविकरूपमा मेरा पार्टीप्रति केही गुनासो र पश्चिम क्षेत्रलाई ‘फरक जिल्ला’को रूपमा स्थापित गर्नेलगायतका माग थियो,’ शेरमानले भने, ‘केन्द्रका नेताले मेरा मागलाई सक्दो पूरा गर्ने वचन दिनुभएको छ, त्यसैले उम्मेदवारी फिर्ता गरेको हुँ ।’ उपनिर्वाचनका लागि ८ दल र २ जना स्वतन्त्रले उम्मेदवारी दिएकोमा औपचारिक रूपमा भने कसैले पनि फिर्ता नगरेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए ।

प्रतिक्रिया