अस्पतालबाट फर्किएपछिका प्रधानमन्त्री

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि १४ कात्तिकमा दुई दिन अस्पताल बसेर बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा परिवर्तन देखिएको छ । अस्पताल जानुअघि प्रधानमन्त्री ओलीको कार्यशैली केही कडा र केही नरम देखिँदै आएको थियो । उनीले हतपत कसैमाथि निर्मम प्रहार गरिहालेका थिएनन् । सकभर मिलाउँदै लैजाने प्रयासमा देखिन्थे ।

प्रधानमन्त्री ओली पछिल्ला दिनमा मन्त्रीहरूको कार्यप्रगति, सक्रियता, सल्लाहकार समूहको भूमिका लगायतमा गम्भीरतापूर्वक समीक्षा गरिरहेका छन् । सरकारलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेका उन त्यसको सुरुआत आफ्नै सचिवालयबाट गर्न लागेको बुझिएको छ

३ फागुन २०७४ मा दुई तिहाई बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका तत्कालीन एमालेका अध्यक्ष ओली सुरुका एक सय दिनको कार्यकालमा खासै आलोचित भएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको विरोध गर्ने गतिलो एजेन्डा पाएन । तर, त्यसपछि भने सरकार विस्तारै आलोचनाको चक्रब्युमा फस्यो ।

कतिपय आफ्नै गल्ती र कमजोरी त कतिपय विपक्षीले चलाएको हल्लाको भरमा आलोचनाको पात्र बन्यो । तर, त्यो पनि विस्तारै मत्थर हुँदै गइरहेका वेला एक सत्यबाट भने सरकार लुक्न सकेको छैन । जनताको अपेक्षाअनुसार सरकारले विकास निर्माणका काम गर्न सकेको छैन । कतिपय मन्त्री र मन्त्रालयकै अधिकारीको कारण सरकारले पटकपटक आलोचना खेपिरहनु परेको छ । यस्तो काम सरकार गठन भएदेखि अहिलेसम्म चलिरहेको छ ।

यसबीचमा प्रधानमन्त्री ओलीको मिर्गौलामा केही असहजता देखा प¥यो । दुई पटक सिंगापुर पुगेर मिर्गौलाको उपचार गरेर फर्किए । तर, फेरि एकपटक मिर्गौलामा समस्या देखिएपछि उनी १३ कात्तिकमा ग्रान्डी अस्पताल पुगे । दुई दिन अस्पतालमा बसेपछि उनको स्वास्थ्यलाई लिएर निकै गम्भीर प्रकारका टिप्पणीसमेत आए । सामाजिक सञ्जाललाई सदैव नजिकबाट नियाल्ने प्रधानमन्त्रीले बाहिर चलेका हल्ला र आलोचनालाई राम्ररी नियालेका थिए । दुई दिने बसाईपछि १४ गते जब प्रधानमन्त्री ओली बालुवाटार फर्किए । त्यसपछि उनि पुराना ओली नभई बोल्ड निर्णय गर्ने ओलीका रूपमा बालुवाटार प्रवेश गरे ।

प्रधानमन्त्री ओलीको दुई पटक मिर्गौलाको डायलासिस भएको थियो । १४ गते अस्पतालबाट फर्किएका प्रधानमन्त्री ओलीले १५ गते शुक्रबारमा बालुवाटारमै आराम गरे । त्यो दिन पनि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतसँग भेट गरे । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले १६ कात्तिकमा बालुवाटारमा सचिवालय बैठक बोलाएका थिए ।

ग्रान्डी अस्पतालमा उपचार गराएर आएपछि उनको त्यो पहिलो राजनीतिक बैठक थियो । शनिबार बसेको सचिवालय बैठकमा उनी डेढ घन्टा सहभागी भए । त्यही बैठकमा प्रधानमन्त्री आफैँले नियमित डायलासिस गर्नुपर्ने त्यसो नगरे मिर्गौला प्रत्यारोपण गर्नुपर्ने जानकारी गराएका थिए । शनिबार वा आइतबार मिर्गौलाको डायलासिस गर्नुपर्ने उनको भनाइ थियो । तर, साताभरि प्रधानमन्त्री बालुवाटारमा व्यस्त भए ।

स्वास्थ्यमा समस्या आएको विषयलाई लिएर आएका विभिन्न नकरात्मक टिकाटिप्पणीबाट प्रधानमन्त्री निकै दुःखित बनेको सचिवालयका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण धेरैले उनी देशको प्रमुख कार्यकारी भूमिकामा सक्रिय हुन नसक्ने टिप्पणी गरिरहँदा उनले भने पछिल्लो समय कुराभन्दा कामले जवाफ दिन सक्रिय भएका छन् । पटकपटक डायलासिस गरेका प्रधानमन्त्री ओलीको पछिल्लो सक्रियताको हाराहारीमा उनकै मन्त्रिपरिषद्का कतिपय ‘स्वस्थ’ भनिएका सदस्यहरू समेत पुग्न सकेका छैनन् ।

आफ्नो सक्रियतालाई निरन्तरता दिदै १७ कात्तिक आइतबार मन्त्रिपरिषद् बैठक बोलाए । त्यही बैठकबाट सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय भयो भने मेडिकल काउन्सिलमा डाक्टर भगवान कोइरालालाई अध्यक्ष नियुक्त गरियो । सोही मन्त्रिपरिषद्ले धर्मकान्त बास्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनायो । मन्त्रिपरिषद् बैठक चलिरहेकै वेलामा प्रधानमन्त्री शिक्षण अस्पताल महाराजगञ्ज गए । फोक्सोको एक्सरे गराएर फर्किए । सो एक्सरेबाट उनको स्वास्थ्यमा सोचेभन्दा राम्रो नतिजा देखिएपछि प्रधानमन्त्रीले सक्रियता झनै बढाए ।

उपनिर्वाचनको उम्मेदवार तोक्न र प्रदेश प्रमुखको नियुक्तिबारे छलफल गर्न सोही साँझ सचिवालय बैठक बोलाए । सचिवालय बैठकले उपनिर्वाचनको उम्मेदवार तोके पनि प्रदेश प्रमुख सिफारिस गर्न सकेन । प्रदेश प्रमुखको सिफारिस हुन नसकेपछि सचिवालय बैठक त्यही साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सोमबारका लागि स¥यो । सोमबार बिहान ११ बजे बसेको सचिवालय बैठकले प्रदेश प्रमुखको नाम टुंग्यायो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले ती नामलाई राष्ट्रपति कार्यालय पठायो । मंगलबार राष्ट्रपति भवन शितल निवासमा भएको प्रदेश प्रमुखको सपथ समारोहमा प्रधानमन्त्री ओली सहभागी भए ।

बुधबारदेखि शुक्रबारसम्म भने उनले औपचारिक राजनीतिक भेटघाट गरेनन् । यद्यपि पार्टीका शीर्ष नेतासँग भने छलफल जारी राखे । अर्का अध्यक्ष प्रचण्डसँग दैनिक जसो र कुनै दिन दुई पटकसम्म पनि भेटवार्ता गर्दै आइरहेका छन् । यहीबीच शुक्रबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सल्लाहकार र कर्मचारीलाई बोलाएर मार्ग प्रसस्त गर्नुपर्ने समय आउन सक्ने भनेर जानकारी गराएका छन् ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली पछिल्ला दिनमा मन्त्रीहरूको कार्यप्रगति, सक्रियता, सल्लाहकार समूहको भूमिका लगायतमा गम्भीरतापूर्वक समीक्षा गरिरहेका छन् । सल्लाहकार समूहलाई प्रधानमन्त्री ओलीले बहिर्गमनका लागि तयार रहन भनेपछि मन्त्रीहरूमा समेत यो विषयमा टिका–टिप्पणी हुन थालेको छ ।

सरकारलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेका प्रधानमन्त्री ओलीले त्यसको सुरुआत आफ्नै सचिवालयबाट गर्न लागेको बुझिएको छ । उनले मन्त्रिपरिषद् पनि हेरफेर गर्ने तयारी गरेको बताइएको छ । यस विषयमा अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका छन् । यस्तै, पार्टी एकतामा देखिएको ढिलाइलाई पनि टुंगो लगाउने तयारीअनुसार सोमबार सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री निवासमा बिहान बोलाइएको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया