जोकोभिचको कीर्तिमानी लक्ष्य

एजेन्सी, पेरिस । जोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौँ पटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा रहेको बताएका छन् । १६ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले आइतबार पाँचौँ पटक पेरिस मास्टर्सको फाइनलमा क्यानडाका डेनिस सापोभालोपविरुद्ध ६–३, ६–४ को जित हात पारेका थिए । यद्यपि, सोमबार जारी विश्व वरीयतामा जोकोभिचले राफेल नाडाललाई भने विश्व नम्बर एकबाट प्रतिस्थापित गर्न भने सकेनन् ।

नाडालले पनि नोभेम्बर १० बाट सुरु हुने वर्षको अन्तिम च्याम्पियनसिपमा फिट नभए पनि अन्तिमसम्म हात नझिक्ने बताएका छन् । स्पेनिस स्टार नाडालले राउन्ड रोबिनको आधारमा हुने फाइनल खेल्न नसकेको खण्डमा पनि जोकोभिचले समूहचरणका दुई खेलमा जितका साथ फाइनल प्रवेश गर्दै उपाधि जित्नुपर्नेछ । यसका लागि जोकोभिच भने सेमिफाइनलभन्दा माथि गएको हुनुपर्नेछ ।

‘मैले लन्डनमा सबै खेल जित्ने सम्भावना जीवितै छ । मैले पछिल्लो वर्ष सबै खेल जितेको थिएँ । मलाई त्यहाँ खेल्न मन पर्छ,’ ३२ वर्षे जोकोभिचले भने, ‘तर मेरो प्रतिद्वन्द्वी को हुन्छन् र उनीहरूले कस्तो प्रदर्शन गर्छन् भने भन्न कठिन छ । यो पक्का हो कि प्रत्येक खेलमा शीर्ष १० भित्रका खेलाडीसँग प्रतिस्पर्धा हुनेछ । त्यसैले म उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शन गर्नेमा केन्द्रित छु ।’

‘परिणामस्वरूप विश्व नम्बर एकमा बस्दै सिजनको अन्त्य गर्न सके, त्यो मेरा लागि अविस्मरणीय बन्नेछ,’ जोकोभिचले भने । जोकोभिच यसपटक पिट साम्प्रासको नाममा रहेको छैटौँ पटक विश्व नम्बर एक बन्दै सिजन अन्त्यको कीर्तिमान बराबरी गर्ने संघारमा छन् । नाडाल भने पाँचौं पटक यो उपलब्धिको नजिक छन् ।

‘यो सबै खेलाडीले देखेको सपनासमेत हो,’ जोकोभिचले भने, ‘एउटा व्यावसायिक ग्रान्ड स्लाम टेनिस खेलाडीको हिसाबमा यो सबै खेलाडीले यस्तै किसिमको लक्ष्य लिएको हुन्छ । सबै खेलाडी लामो समयसम्म विश्वको शीर्ष खेलाडी बन्न चाहन्छन् ।’ ३३ वर्षे नाडालले पेरिसमा उपाधि जितेको भए स्वतः विश्व नम्बर एकमा रहँदै वर्षको अन्त्य गर्ने निश्चित थियो । तर, नाडालले पेटको मांसपेशीमा समस्या देखिएको भन्दै सापोभालोपविरुद्धको सेमिफाइनलबाट हात झिकेका थिए ।

वर्ष २०१९ को सुखद नतिजा हात पार्ने क्रममा जोकोभिचले अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि जितिसकेका छन् । गत वर्ष जोकोभिचले कुइनोको चोटका कारण इटालियन मार्कोे सिचेनाटोविरुद्ध अप्रत्याशित हार बेहोरेका थिए । तर त्यसपछि भने उनले उत्कृष्ट पुनरागमन गर्दै आएका छन् । यस क्रममा उनले २०१८ मै विम्बल्डन र युएस ओपनसहित चार प्रमुख उपाधि जितेका थिए ।

प्रतिक्रिया