अमिताभको ५० वर्ष

मुम्बई । भारतीय चलचित्रमा अभिनेता अमिताभ बच्चनले काम गरेको पचास वर्ष भएको छ । अक्टोबर ११ मा ७७ वर्ष पुग्ने उनले चलचित्र क्षेत्रमा पाँच दशकसम्म अनवरत् योगदान गरेका छन् । उनले सन् १९६९ मा चलचित्र ‘सात हिन्दुस्तानी’ बाट यस क्षेत्रमा प्रवेश गरेका थिए ।

अमिताभलाई छोरा अभिषेकले चलचित्रमा ५० वर्ष काम गरेको भन्दै बधाइ दिएका छन् । अभिषेकले एक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनको प्रशंसा गर्दै बधाइ दिएका हुन् । उक्त चलचित्रमा पोर्चुगलको उपनिवेशबाट भारतलाई मुक्त गर्न सात भारतीयले गरेको संघर्षको कथालाई देखाइएको छ ।

अभिनेता अभिषेकले लेखेका छन्, ‘एक छोराका रूपमा मात्रै होइन एक कलाकार र प्रशंसकका रूपमा पनि तपाईंको ५० वर्षीय चलचित्र यात्रा देख्न पाउँदा खुसी लागेको छ । चलचित्र हेर्ने धेरै पुस्ताका मानिसले आफूलाई सप्रेम बच्चन पुस्ताका दर्शक भन्ने गरेका छन् ।’

यसैबीच बलिउडका अग्रज तथा अनुज कलाकारले अमिताभलाई भारतीय चलचित्र क्षेत्रमा ५० वर्ष योगदान गरेका भन्दै बधाइ दिएका छन् ।
सन् १९६९ मा चलचित्रमा अभिनय सुरु गरेका उनले सन् १९७३ सम्म असफलता मात्रै व्योहोर्नु प¥यो । यसबीचमा अमिताभले अभिनय गरेका १२ चलचित्र असफल भएका थिए भने उनले काम भने दुई चलचित्र मात्रै सफल भएका थिए । जसमा ‘बम्बे टु गोवा’ मा उनी मुख्ख अभिनेता थिए भने ‘आनन्द’ मा उनी सहअभिनेताका रूपमा काम गरेका थिए ।

यसपछि सलिम खान र जावेद अख्तरले लेखेको चलचित्र ‘जञ्जीर’ बाट उनले सफलताको सिँढी चढेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो चलचित्रमा उनलाई एक रिसाहा युवकका रूपमा प्रस्तुत गरिएको थियो । त्यसपछि उनले लगातार दिवार, सोले जस्ता सफल चलचित्रमा काम गरे ।

प्रतिक्रिया