काउन्सिलमा आर्ट फेस्टिभल

काठमाडौं । नेपाल भारतको सांस्कृतिक सम्बन्धलाई जनस्तरसम्म पु¥याउने उद्देश्य राखेर कला प्रदर्शनी भएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ५६ जना नेपाली तथा भारतीय कलाकारले तयार पारेका करिब सयवटा चित्र प्रदर्शनीमा राखिएको थियो ।

कला आकार फाउन्डेसन भारतले आयोजना गरेको ‘नेपाल आर्ट फेस्टिभल’ मा कलाकारले नेपाली तथा भारतीय संस्कृति तथा प्राकृतिक सम्पदालाई क्यानभासमा उतारेका थिए । प्रदर्शनी विविध विषय र शैलीका चित्र राखिएको नेपाली कलाकार नरबहादुर बिकेले बताए । उनले भने, ‘संस्कृतिले मानिसका मनलाई नजिक ल्याउने र सम्बन्धको गहिराईलाई दरिलो बनाउने भएकाले कला प्रदर्शनी गरिएको हो ।’

नेपाल तथा भारतको युगौदेखिको सम्बन्धलाई बलियो बनाउने लक्ष्य राखेर कला प्रदर्शनी गरिएको आयोजक संस्थाका फाउन्डर जया आरोराले बताइन् । उनले कलाप्रतिको दृष्टिकोणलाई दुई देशबीच गहिरो गरी स्थापित गर्ने र कलाकारको अनुभव आदानप्रदान गर्ने मुख्य ध्येय प्रदर्शनीको रहेको जिकिर गरिन् । जयाले भारतका विभिन्न स्थानबाट कलाकार प्रदर्शनीमा सहभागी हुन आएको जनाइन् ।

त्यस्तै, प्रदर्शनीको छेको पारेर बिके आर्ट ग्यालरी लाजिम्पाटले एकदिने चित्रकला कार्यशालाको आयोजना गरेको थियो । कार्यशालामा नेपाल तथा भारतका कलाकारले सांस्कृतिक तथा सामाजिक विषयलाई चित्रण गरेको नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले बताए । उनले कलाकारबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै दुई देशका विभिन्न सहरमा कला प्रदर्शनी गरिनुपर्ने भनाइ राखे ।

उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलामार्फत जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया