खोजखबर

इमान्दारहरूको जापान

सौर्य अनलाइन २०७६ कार्तिक २३ गते ९:१३ मा प्रकाशित

सरोजदिलु

विप्लव समूहको नेपाल बन्द, २०१९ जुनको २५ तारिख, रमेश बन्धु र विक्रम भाइले न्यानो अंगालोसहित बिदाइ गरेपछि जापानको पहिलो यात्रा सुरु हुन्छ । भित्र इमिग्रेसनका अधिकृत राजकुमार दुलालजीको कफीसहितको न्यानो स्वागतले यात्रा सुखद् हुने साइत जुराइरहेको थियो । कफी सकिएकै थिएन, अन्तिम पेसेन्जरको रूपमा एयरपोर्टमा मेरो नाम माइकिंग हुन थाल्यो । म हतारिँदै, गेटतिर गएँ । किन हो, त्यसदिन चाइना इस्टर्नको जहाज ४५ मिनेट अगाडि नै उड्नुरहेछ र एयरस्टाफहरूले मलाई खोजिरहेका थिए ।

चौध ब्यासमिटरका दुईदुईवटा पंखाहरूले यत्रो बढेमान जहाजलाई, यतिधेरै लोड बोकेर आकाशमा उड्नसक्ने बनाउने मानिसको मगज हामीले कल्पना गरेको स्वर्गका देवताको भन्दा फरक छैन । हामीले सानो छँदा साथीसंगीहरूलाई सुनाउने गथ्र्यौं ः यो जमिनभन्दा माथि साततला र मुनि पनि सातै तला छ रे ! अब स्वर्गको कथा सुनेजस्तो रहेन । प्रत्यक्ष देख्न, भोग्न र अनुभूति गर्न नै पाइन्छ ।

म जमिनभन्दा माथि पानी पर्दै गरेको बादल, त्योभन्दा माथि खुल्ला, अनि फेरी बादल, फेरि त्योभन्दा माथि सेता कपासजस्तो बादलको अनुभूति गरिरहेको छु । हाम्रो जहाजभन्दा माथि फुंग उड्दै गरेको फेरी अर्को बादल छ । त्यसबीचमा अर्थात् चार तलामाथि हामी उडिरहेका छौँ । चीनको पूर्वीक्षेत्रको समय हामीभन्दा २ घन्टा अगाडि भएको र हामी पनि साँझ पर्नै लाग्दा उडेकोले जमिनको भागलाई पहिलेजस्तो राम्रोसँग नियाल्न सकिएन । यसैबीचमा समथर फाँटमा सुनझैँ टल्किरहेको कुन्मिङमा त्यहाँको रातको १०.३० बजे माथिल्लो सात तलाबाट झरेर फेरि जमिनमा टेक्न पुगेका छौँ ।

चाइना इमिग्रेसनले ४८ घन्टे भिसा दिएपछि बाहिर बंगाली होटलमा एक रात बिताएपश्चात् भोलिपल्ट बिहान ७ बजे नै हामी सांघाईका लागि उड्यौँ । कुन्मिङदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब १० जना कर्मचारीसमेत बेजिङका लागि मसँगै थिए । हजारौँ भूकम्पपीडितहरू ४ वर्षसम्म गोठ, पाली र त्रिपालमा बसिरहेकै अवस्थामा यति ठूलो टोली राज्यको श्रोतमा बेइजिङ रमाउन गएको, जोसुकै नेपालीले ठम्याउन सक्थ्यो । उनीहरू नै जहाजको झ्यालबाट मुनितिर चियाएर नेपालको विकास यसरी कहिले हुनेहोला, नेपालमा त निरंकुश शासन आएर जनताका आँगनमा डोजर चलाउनुपर्छ भनेर कुरा गरिरहेका थिए । मलाई भने यति सानो नेपाल एकीकरण गर्न त करिब ७० वर्ष लाग्यो भने यो विशाल भूभागलाई सिंगो चीन बनाउन कति समय लाग्यो होला अनि यो कुन्मिङ र यो सांघाई र अरू पनि सहर बनाउन कति लाग्यो होला भन्ने प्रश्नले अड्काइरहेको थियो । सँगैका साथीहरू भने मुलुक लुट्ने योजना मात्र बनाउँदैछन् र त्यही लुटलाई समृद्धि हो भन्दै डाँटिरहेका छन् ।

सांघाई ओशाकाको करिब तीन घन्टाको यात्रा भने एकदमै पट्यारलाग्दो । मबाहेक कोही नेपाली छैन, सबै चाइनिज, जापानिज र मंगोलियन वर्णका अन्य । चाइनिज र जापानिजलाई एउटै कुराले छुट्याउन सकिँदोरहेछ । चाइनिजहरू नयाँ मानिससँग बोल्दैनन्, हेर्दा पनि हेर्दैनन् । जापानिजहरू नयाँ अनुहारको मानिससँग रमाउँछन्, मुस्कुराउँछन् । झ्यालबाहिर हेर्दा निष्पट्ट कुहिरो छ अनि कुहिरो ओडेको मंगोलियन संसार सुरुभएको महसुस हुन्छ । कुहिरोको बीचमा काग हराएजस्तो हामी हराइरहेका थियौँ ।

समुद्रका किनारमा विश्राम गरेर बसेका बढेमानका पानी जहाजहरू देखिन्छन्, कोही भर्खर आइपुगेका, कोही अब पौडी खेल्न तयार भएका, तिनीहरूलाई नाघ्दै हामी नेपालजस्तै पाखापधँेरी, खोँच र टार परेका सानासाना बस्तीलाई छिचोलेर जापानको मध्यभागको पश्चिमसमुद्री टापुमा अवस्थित ओशाका कुन्साई एअरपोर्टमा उत्रन्छाँँै । करिब–करिब समुद्रको पानीलाई छुने गरेर हाम्रो जहाज ल्यान्डिङ भयो । समुद्रबीचको सानो टापुलाई खारेर जापानले कुन्साई एअरपोर्ट बनाएको हो । अनि त्यहींबाट अन्डरग्राउन्ड सुपरमेट्रोले ओशाका सहरलाई जोड्दछ ।

अमेरिकी राष्ट्रपति, चिनियाँ राष्ट्रपति, जर्मन चान्सलर, बेलायती प्रधानमन्त्रीलगायत २० वटा देशका सरकार प्रमूखहरू सहभागी हुँदै गरेको ओशाका, यात्रुहरूलाई निकै कडाई गरिएको थियो । मलाई पनि धेरैबेर सोधखोज गरेपश्चात् मात्र इमिग्रेसन पार गर्न दिइयो । कुन्साई एयरपोर्टबाट तीन तला जमिनभित्र छिर्नसाथ ओशाका सहर जाने चालकविहीन सुपरमेट्रो ट्रेन तयार थियो । १०६० यन तिरेपछि जमिनमुनिको ट्रेन मानिसको भीड लिएर लाग्यो सहरतिर ।


सुनिन्थ्यो, जापानीको मिहिनेती र सहनशील संस्कृतिले नै आजको जापान बनेको हो । त्यसबाहेक, त्यतिकै सहयोगी मन पनि पाएँ । उनीहरूको सहयोगले मलाई ८ वर्षअघि ब्राजिलको यात्रा गर्दाको सम्झना आयो । एयरपोर्टमा करिब २०–२५ मिटरको दुरीमा सूचना डेक्सहरू छन् । कुनै कुरामा अलमलिइयो भने नक्सासहित उनीहरूले सूचना दिन्छन् । टे«नभित्र पसेपछि मैले एउटा जापानिज युवालाई नक्सा देखाएर सोधेँ, उसले आफ्नो मोबाइलमा त्यो लोकेसन हेर्दै यहाँ उत्रिने, यति स्टेसन बाँकी, उत्रिएपछि यताउता जाने भनेर सबै बतायो ।

अलिअलि त अंगे्रजी जान्दोरै’छ । म उसले बताएअनुसार गन्तव्यको पर्खाइमा थिएँ, ऊ मलाई हेर्दै घरीघरी मुस्कुराउँथ्यो पनि । उसले इसारामा समेत म तँलाई पु¥याइदिन्छु भनिरहेको थियो । अनि नजिकै आएर भन्यो, फलो मी, आइक्यान् हेल्प यु । उसले जानेको अंग्रेजी यस्तै थियो । मैले होइन, लोकेसन बताऊ, म आफैँ जान्छु भनेर जवाफ दिइरहेको थिएँ । तर पनि उसले मानेन । पछिपछि आइज भन्यो । तन्नेजुमा पुगेपछि हामीले ब्लुलाइनको अर्को सिटीमेट्रो समात्दा २७० यन तिरेर मेरो टिकट पनि उसैले किनिदियो । मैले पैसा दिँदा पनि ओकेओके भन्दै उसलै ति¥यो र एयरपोर्टबाट करिब २०–२५ किलोमिटर पर रहेको निसितावेमा लगेर उसले मलाई छाडि फर्कियो । बाहिर निस्कनासाथ एउटी युवती साइकल लिएर उभिएकी थिइन्, मैले इक्सक्युज मी भन्दासाथ पहिले त झस्किई । तर फेरी उनले आफ्नो मोबाइलमा मेरो गन्तव्य पत्ता लगाएर फ्लो मी भन्दै परसम्म पु¥याइदिई ।

जापानिजहरूको सूचनाको सहारा नै मोबाइल हो । खानपिन, मनोरञ्जनन, प्रेम, जागिर, खरिद–बिक्री, भेटघाटलगायतका जीवनमा आवश्यकपर्ने सम्पूर्ण कुराहरूमा उनीहरू मोबाइल नै प्रयोग गर्छन् । तर, कलरर्सको आफ्नो थोत्रे मोबाइल सुन्न बोल्न, अलिअलि फोटो खिच्न र फेसवुक चलाउन कामसिवाय अरू सिन्को भाँच्दैन्थ्यो ।

करिब अँध्यारो भइसकेको थियो होटल पुग्दा । तल्लो फ्ल्याटमा भर्खर बन्द गर्दै गरेको रेस्टुरेन्ट रहेछ । मैले हेलो भनेर होटलको ढोका तानँे, एउटा युवाले जापानिज भाषाबाट बोल्दै ढोका खोल्यो । म त्यो युवकलाई देखेर छक्क परेँ र एकोहोरो हेरिरहेँ, उसले पनि मलाई एकक्षण हे¥यो । आर्यन मुलको आँखा र नाक अनि हल्का दाह्री पालेको, नेपालीजस्तो लाग्यो । मैले आरयु नेपाली ? भनेर अन्दाजमा झटारो हानेँ । झटारो ठीक ठाउँमा लाग्यो । नभन्दै ऊ नेपाली थियो– अनिल शर्मा ।

मसँग खर्च कम भएकाले मेरो सहयोगका लागि अनिल भाइलाई मसँग भेट् जुराएको पक्कै हो । जबकी, चिन्नु न जान्नुको नेपालीसँग सोधी न खोजी परदेशमा एक्कासि भेट हुनु भनेको संयोग मात्रै होइन । साह्रै सरल, सहयोगी र मनकारी अनिल भाइको भर्खर जन्मेकी छोरीसहितको सुखी परिवार ।

१० वर्ष भो रे जापान बसेको । जापानमा जति कमाइ भए पनि महँगो प्रविधिको खर्च धान्न मात्र ठिक्क हुन्छ रे ! त्यस्तो महँगीमा फेमिलीसहित बसेको परिवारले कहिले नदेखेको एक्कासि भेट भएको मानिसलाई घरभित्र लगेर २–३ रात पाहुना बनाउनु भनेको ठूलै मन हो । अझ उनको छोरी काखमा आइ लुटुपुटु खेल्दा सानो छोराको यादलाई बिर्साउँथ्यो । उनीहरूको मीठो आतिथ्यले एउटा क्षणलाई सधैँ यादगार बनाइराख्नेछ ।
पुगेको रात बोनाफाइड् होटलको डर्मिटरी रुम । भित्रपसेर हेर्छु, ४ वटा बेडमा केटीकेटी । मेरो बेड पनि लेडिज रूममै परेको रहेछ । उनीहरूलाई कुनै आश्चर्य छैन, मलाई भने संकोच लागिरहेको थियो । मैले किन यस्तो ? भनेर होटेल वार्डेनलाई सोधेँ– उसले तिम्रो नाम अगाडि मिसेज रैछ, त्यसैले । बस्छौ, ओके, बस्दैनौ, अर्को होटल जान सक्छौ ।’ बाध्य परियो, लेडिजहरूकै रूममा रात बिताउन ।

तथापि, बेडहरूलाई एकबाट अर्को नदेखिने गरी पर्दा लगाउन मिल्ने गरी बनाइएको थियो । त्यसैले, बेडभित्र कसले के गर्छन् देखिँदैन । अझ, कुनै अपरिचित मानिसलाई एकोहोरो हेर्न वा उसको इच्छाविपरीत जिस्क्याउनु भनेको सिधै जेल जानु हो । त्यसैले नेपालमा जस्तो कोहीउपर कसैको डर हुन्न ।

मानिसहरू त्यहाँको ८ बजे र नेपालको पौने ५ बजेतिर उठ्दा रै’छन् । ११ बजेबाट जि २० को कार्यक्रम सुरु हुँदैथ्यो । विश्वका २० धनी राष्ट्रहरूको सम्मेलनः सौर्य दैनिक पत्रिकाको एउटा लेटरको आड्ले मात्र म सो भव्य कार्यक्रममा पुगेको थिएँ । करिब १० बजेतिर निसितावेबाट पानीले अलिअलि भिज्दै मेट्रोस्टेसनबाट वर्डट्रेड सेन्टरतर्फ तीन वटा टे«न बदलिँदै लागियो । अन्तिम मेट्रो थियो चालकविहीन टिमट्राम । अलि छोटो खालको, भूँइको लिकमा होइन, दुवैतिर भित्तामा भएको लिकमा झुन्डिएर गुड्दोरैछ । करिब ३ स्टेसनपछि वर्डट्रेड सेन्टरका आकाशै छुनेगरी बनाइएका भव्यभव्य महलहरू ।

त्यसमध्येको एउटा महलमा जिट्वैन्टीको मिटिङ, ट्रेनमा चढ्ने र झर्ने स्थानमा अत्यन्त कडा सुरक्षा व्यवस्था । म ट्रेनबाट झर्नासाथ राइफल बोकेका खाइलाग्दा सुरक्षाकर्मीले रोके अनि कार्यक्रम हुने भवनको गेटतिर अघि लगाउँदै लगे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सि जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल, बेलायती प्रधानमन्त्री मे थेरेसा, जापानी प्रधामन्त्री सिन्जो अवे लगायतका २० देशका राष्ट्र प्रमुखहरूको उपस्थिति हुने कार्यक्रममा प्रवेश गर्ने दुस्साहस गर्दै थिएँ । तर, केही घेरा पार गरेपछि बीचको सुरक्षा घेराले मलाई फकाईदियो । एउटा अधिकृतले मलाई नम्रसँग पत्रकारलाई छुट्टै भवनमा बसेर लाइभ कार्यक्रम हेर्ने व्यवस्था गरिएको बताउँदै त्यतातिर जान सल्लाह दियो । सोहीमुताविक म अर्को अग्लो भवनको भुँइतलामा पुगेँ । हामीले, आजतक, बिबिसी, सिएनएन, अलजजिरा, रेप्चअर आदिमा देखिएका बढेमानका पत्रकारहरू सबै त्यहीँ थिए । उनीहरूका हातमा तोप र मेसिनगनजस्ता लाग्ने क्यामेराहरू थिए ।

मसँग भने खल्तीमै हराउने सोनी क्यामेरा । बाहिर निकाल्नै लाज लाग्यो । एउटी सुन्दर केटी मेरो नजिक आएर तपाईंलाई केही सहयोग गर्नसक्छु भनेर सोधी । अब त भाग्ने र लुक्ने उपाय थिएन । अनि मैले सौर्य दैनिकले दिएको कार्ड देखाउँदै आफ्नो बेलिबिस्तार लगाएँ । उसले फेरि मसँग आयोजकले पठाएको कन्फरमेसन लेटर मागी । तर, मसँग साधारण रजिस्ट्रेसन लेटर मात्र थियो । उसले यो लेटरले कसरी यहाँसम्म आइस् ? भनेर सोधी । म नाजवाफ भएँ । त्यो लेटर अरूलाई पनि देखाई र मेरो बारेमा थप जानकारी माग्न थाली । नेपालमा हुन्थ्यो भने तुरुन्त समाएर मलाई पक्कै जेल हालिन्थो । म गलत र मनभित्र संकोच हुँदाहँुदै, गल्ती नै गर्दा के चँै कारबाही होला भनेर कारबाहीको अनुभूति गर्न चाहिरहेको थिएँ । तर, उसले त्यसो गरिन ।

ओके, गेस्ट अब्जर्वरको रूपमा छुट्टै हलमा बसेर मिटिङको लाइभ हेर्न सक्छौ भनेर अर्को बिल्डिङतिर देखाइदिई । त्यसैले उसले देखाएको भवनमा पुगेँ । त्यहाँ मजस्तै स्याल्टु पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो जमघट थियो । विश्व हाँक्ने शक्तिलाई ठूलो स्क्रिन भएको पर्दामा लाइभ हेर्न सकिन्थ्यो । हेर्दाहेदै सिन्जो आवे देखिए । उनले पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्कार गर्दै भित्र ल्याए, त्यसपछि एन्जेला मर्केल, त्यसपछि ट्रम्प, त्यसपछि अर्को, फेरि अर्को, अन्तिममा चिनियाँ राष्ट्रपति सी जिङपिङलाई मिटिङ हलमा सत्कार गरे । हलमा भएकाले मलाई हेरिरहेका थिए, मलाई भने कसैलाई हेर्न मन थिएन । किनकि, यति भव्य समारोहमा मुसाजस्तो भएर बस्नुपरेकाले मलाई अत्यन्त संकोच लागिरहेको थियो । हुनत मेरो देश, मेरो सरकार नै महाराष्ट्रहरूको तुलनामा मुसाजस्तै छ, अनि मुसाजत्रो देशको अझ सानो मुसा, म । कतिवेला बाहिर निस्केर कुलेलम ठोकुँ भइरहेको थियो । उफ् बल्ल लञ्चब्रेक भयो, सहभागीहरू तितरबितर भएपछि भाग्न सहज भयो, तब ढुक्क भयो ।

सरकारी पदाधिकारीहरू तथा स्थानीय नेताहरू मसँगै टे«नमा झुन्डिएर त्योे विशाल समागममा पुगेँ । नेपालजस्तो न तामझाम, न कारगेट, न सलामी, न सडकजाम न कुनै यात्रुले १ मिनेट कतै रोकिनुप¥यो न त कुनै मन्त्रीले ठेलागाडाकै कुरा गरेर मजाक गरे, न अरबौँको हेलिकोप्टर । विश्वका २० धनी राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिहरू, थप विभिन्न देशका सरोकारवाला मन्त्रीहरू र प्रशासकीय प्रमुखहरूको बेजोड जमघट ।

२८ तारिख बिहान फेरि म वल्र्डट्रेड सेन्टरको लाइभ हेर्न पुगेँ । उही बाटो, उही टे«न, उस्तै मानिसहरूको भीडभाड । जमिनमाथि मानिसको भीडभाड छैन, जब जमिनमुनि पस्यो, विशाल संसार त्यहीँ छ । फेरिसँगै जाने कर्मचारी, भद्रभलादमीहरू मसँगै टे«नमा झुन्डिरहेका थिए । उनीहरूले मलाई सोधे, कुन देशबाट आएको ? मैले नेपालको परिचय दिएँ । उनीहरूले सगरमाथाको कुरा गरे, हाम्रो राजनीतिक परिवर्तन र संविधान निर्माणको कुरा गरे । नेपाल पनि जिट्वेन्टीमा पर्छ र ? भनेर पनि सोधे ।

पल्लो बिल्डिङमा भइरहेको विशाल सभाको लाइभ पर्दामा देख्न पाए पनि एञ्जेला मार्कर, सि जिङपिङले कानैमा आएर उनका कुरा सुनाएजस्तो लाग्थ्यो । उनीहरूको सामुन्ने बसेर दोहोरो बात मारेजस्तो भान हुन्थ्यो । दुवैले शक्ति राष्ट्रको आर्थिक सन्तुलनको कुरा गरे । चीनसँग मिलेर काम गर्न चाहेको कुरा जर्मन चान्सलरले कुरा राखेपछि चीनले युरोप अमेरिकासँग प्रतिस्पर्धा होइन, सँगसँगै अगाडि जान चाहेको कुरा चिनियाँ राष्ट्रपतिले बताए । यी कुराहरू गर्दा तिनीहरूले हामीलाई साक्षी राखेर सुनाएजस्तो लाग्थ्यो ।

सो भव्य कार्यक्रमपछि ओसाका सहरलाई अवलोकन गर्न हामीे केही साथीहरू ओमेदातर्फ लाग्यौँ । जापानका सबै सहरलाई स्थलमार्गबाट जोड्ने सहर ओमेदा । करिब सय तलाका घर, अन्तरिक्षमा भर्खरै प्रक्षेपण हुन तयार भएका जस्ता, फराकिला सडकहरू, प्रशस्त पार्किङ र हरियाली गार्डेनहरू । सहरका बीचमा रूखको शीतलता लिने वातावरणका विश्रामस्थलहरू । भुइँमै रगडिए पनि एककण धूलो लाग्दैन । तर, यहाँ मानिसहरूको त्यति भीड छैन । एकादुयक मानिसहरू बेन्चमा आराम गरिरहेका । मैले तिनीहरूलाई राम्ररी नियालेँ । तिनीहरू मजस्तै फुर्सदिला थिए । तिनीहरूमध्ये लिखुरेपरेको, च्वाँस्स दारी पलाउँदै गरेको २० वर्षजतिको भाइ मेरो नजरमा प¥यो । ऊ मलाई देखेर मुस्कुरायो । त्यसको मुस्कुराहट्ले मलाई नेपाली नै हो भन्ने लाग्यो र बोलाएँ– तपार्इं नेपाली हो ? उसले हो भन्दै नजिकै आयो । सामान्य जानकारी दियो ।

१० वर्ष भयो जापान पुगेको, आफ्नै बाबुको रेस्टुरेन्ट छ रे ! आफूचँै अर्कैको होटलमा काम गर्छ रे ! मैले उसलाई नेपालीको स्थितिको बारेमा राम्ररी सोधेँ । मालिक र नोकरसँगसँगै काम गर्छन्, खाँदा पनि एउटै टेबलमा बसेर साथीभाइजस्तो खान्छन्, पिउँछन् रे ! मेरो नेपालमा त जातिजाति, वर्गवर्गबीचमै मालिक र नोकर, मालिकले नोकरलाई छोइछिटो गरिहाल्ने । सामान वा पैसा हरायो भनेर कुनै चिन्ता लिनुपर्दैन जापानमा, जहाँ हराए पनि घरमै आइपुग्छ रे ! लाखौँ रुपैयाँ भएको ब्याग सडकमा भेटिए पनि मानिसले वास्ता गर्दैनन्, बरू त्यसलाई कसैले उठाएको पाइएन भने, पुलिसलाई खबर गरेर बुझाई दिन्छन् अनि पुलिसले मानिस खोजेर जिम्मा लगाइदिन्छ रे ! कसैलाई कामको फिक्री छैन रे, कुनै जापानीहरू पनि भोलि के गरौँ के खाऔँ, कसरी जिन्दगी गुजारौँ भन्ने चिन्तामा हुन्नन् ।

किनकि, उनीहरू इमान्दारिताका साथ ट्याक्स तिर्छन् र मेरो पछाडि सरकार छ भनेर ढुक्क हुन्छन् रे ! जापानिजहरूमा सबैले खानुपर्छ, पाउनुपर्छ, अवसर लिनुपर्छ भन्ने मानसिकता छ । त्यसैले कसैले कसैलाई बेइमान गर्दैनन्, कसैले कसैलाई ठग्दैनन्, लुट्ने चोर्ने शब्द त डिस्नरीबाट हराइसक्यो रे ! उसको कुराले मलाई घोचिरह्यो ः मेरो देशमा मेरो सरकार छ भनेर सबै चिन्ताबाट मुक्त हुने दिन कहिले आउला ? हाम्रो मुलुकमा त खुराफाती, विभेद, बेइमान गर्नेहरू नै महान् कहलिन्छन् । एकअर्कालाई ठग्ने, त्यसले होइन मैले मात्र पाउनुपर्छ, मैले मात्र मीठो खानुपर्छ, मेरो मात्र सम्पत्ति हुनुपर्छ, मेरै मात्र राम्रो घर परिवार हुनुपर्छ भन्नेहरू नै समाजमा प्रतिष्ठित छन् । नाङलो पसलेदेखि सरकार प्रमुखहरूमै यस्तो मानसिकता इतिहासदेखि आजसम्मै छ ।

प्रतिक्रिया