स्तरोन्नति सडकको शिलान्यास

दैलेख । गुराँस गाउँपालिकाअन्तर्गत पर्ने धरमपोखरा–गर्चाहुँदै घोडावास जोड्ने गुराँस गौरवको आयोजना स्तरोन्नति गर्ने शिलान्यास गरिएको छ ।  दैलेखबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य पार्वती विशुन्के र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले धरमपोखरा–गर्चाहँुदै घोडावास जोड्ने गुराँस गौरव मार्गको बिहीबार धरमपोखरामा संयुक्त रूपमा शिलान्यास गरेका हुन् । प्रारम्भमा केन्द्र सरकारको एक करोड रुपैयाँमा करिब तीन किलोमीटर सडक स्तरोन्नति गरिने बताइएको छ । कर्णाली प्रदेश सरकारको मापदण्डअनुसार यो सडक नालीसहित १० मिटर चौडा गराइनेछ ।

सडकको सिलन्यास गर्दै साँसद बिशुन्केले गुराँस गाउँपालिकाका कृषकहरूले उत्पादन गरेको तरकारी बजारमा सहज पहँुच पु¥याउन गुराँस गौरव मार्गले सहयोग पुग्ने बताइन् । ‘कृषिलाई व्यवसायिकतामा जोड दिएको यो गाउँपालिका अरू पालिकाहरूका लागि समेत प्रेरणाको स्रोत बनेको छ’, उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारले अग्र्यानिक प्रदेश बनाउन लिएको रणनीति र सुखी नेपाली समृद्ध नेपाल केन्द्र सरकारीको विकास रणनीतिलाई सघाउने कार्यक्रमहरू ल्याउन सांसद विशुन्केले स्थानीय सरकारलाई आग्रह गरिन् । गाउँबस्तीलाई सहज हुने गरी गुराँस गाउँपालिका–८ लालीकाँडा, वडा–६ को पिलाडी, वडा–५ को गोगनपानी हुँदै वडा–४ को घोडाबास पुग्ने करिव ५३ किलोमीटर गुराँस गौरव मार्गको लागि ८३ करोड रुपैयाँ लाग्ने डिपीआर तयार भएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।  उक्त कार्यक्रममा बोल्दै गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले सो वडाको शिक्षा र स्वास्थ्य सेवा अभिवृद्धिमा सांसद विशुन्केको सहयोग र तत्परताको प्रशंसा गरे ।

प्रतिक्रिया