खाल्डाखुल्डी सडकको धुलोले सास्ती

सुर्खेत । वीरेन्द्रनगरका विभिन्न स्थानका खाल्डाखुल्डीयुक्त सडकको अवस्थामा अहिलेसम्म सुधार भएको छैन । कर्णाली प्रदेशसभाका अधिकांश सांसद, मन्त्रीहरू हिँड्ने सडकहरूसमेत खाल्डाखुल्डीकै अवस्थामा हुँदा नागरिकहरूमा निराशा छाएको छ । कर्णाली प्रदेशसभामा जाने सडक पनि खाल्डाखुल्डीमुक्त छैन ।

कर्णाली प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारीको चाप दैनिक बढिरहेको छ । त्योसँगै जागिर, पढाइ र अन्य कामको सिलसिलामा वीरेन्द्रनगर आउने दैनिक बढिरहेका छन् । भने कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश राजधानी विरेन्द्रनगर बसाइँ सर्ने पनि उत्तिकै छन् । वीरेन्द्रनगरमा जनघनत्व एकदमै बढ्दो छ ।

पानी पर्न रोकिएसँगै वीरेन्द्रनगरका अधिकांश कच्ची र खाल्डाखुल्डी परेका सडकमा धुलो उड्न थालेको छ । यसले आमसर्वसाधारणको स्वास्थ्यमा असर पर्ने स्पष्ट छ । खास कुरा त के छ भने यहाँका मन्त्रालय र सरकारी कार्यालय जाने सडक नै धुलाम्मे छन् । दैनिक सबैभन्दा धेरै आवतजावत हुने सडकहरूको यस्तो दुर्दशा हुँदा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका मुकदर्शक बनिरहेको स्थानीयले पटकपटक आरोप लगाउने गर्छन् । तैपनि, ती सडकको हालत त्यस्तै छ । तीन वर्षअघि दैलेखबाट सुर्खेत आएका खड्कराज थापाले आपूm सुर्खेत आउँदा सडक जस्तो थियो आज पनि त्यसमा सुधार नभएको दावी गरे ।

सडकका खाल्डाखुल्डीले सवारी चालकलाई पनि उस्तै सास्ती भएको उनीहरूको गुनासो छ । दैनिकजसो धेरै यात्रु आवतजावत गर्ने हटियालाइनदेखि क्याम्परोड सम्मको सडकको खाल्डाखुल्डीले विशेषगरी मोटरसाइकल चालकलाई धेरै सास्ती हुने गुनासो छ । त्यस्तै पैदल यात्रीले झनै सास्ती बेहोर्नुपरेको गुनासो गर्छन् । धुलोको कारणा मुख छोपेर हिँड्नुपर्ने वाध्यता रहेको सुर्खेत क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले बताए ।

त्यस्तै घण्टाघर पार्क अगाडिदेखि नगरपालिकाको कार्यालय अगाडि हुँदै जाने सडकको अवस्ता झनै विजोग छ । सडकमा रहेका अत्यधिक खाल्डाखुल्डीका कारणले सवारीसाधन छेउछाउबाट गुडाउन थालेका छन् । जसको मार पैदलयात्रुहरूमा परेको छ । नगरप्रमुख आफ्नो कार्यालयमा जाने बाटो पनि त्यही नै पर्छ । प्रदेशका मन्त्रालय र सरकारी कार्यालय अगाडी र त्यहाँ जाने सडक पनि अवस्था उस्तै छ । धुलाको कारण मर्निङवाक गर्नेहरू पनि अनुहार छोपेर हिँड्नुपरेको गुनासो गर्दै आएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीका अनुसार खाल्डाखुल्डी रहेका प्रायः सडक कालोपत्रे गर्नका लागि टेन्डर भइसकेका छन् । आगामी असार मसान्तसम्म काम सकिसक्नुपर्ने गरी कालोपत्रे गर्न टेन्डर भएको नगरप्रमुख सुवेदीले दावी गरे ।

प्रतिक्रिया