बैतडीमा कांग्रेसको उम्मेदवार टुङ्गो

बैतडी । अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीका तीन वटै वडामा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका चार र दोगडाकेदार गाउँपालिका–चारमा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ ।

नेपाली कांग्रेस सुर्नया गाउँपालिका– १ को वडा कार्यसमितिको बैठकले वडाध्यक्षमा गजेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको छ । यस्तै पुर्चौडी नगरपालिका– ४ मा गोविन्दबहादुर धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । साथै दोगडाकेदार गाउँपालिका– ४ मा सुरेन्द्रप्रसाद भट्टलाई पनि वडाध्यक्षको उम्मेदवार सर्वसम्मत् रुपमा बनाउने निर्णय भएको हो ।

यस्तै सुर्नया गाउँपालिका– १ मा काङ्ग्रेसले प्रचारप्रसार समिति गठन पनि गरेको छ । प्रचारप्रसार समितिको संयोजकमा दासीराम टेलर र उपसंयोजकमा पदमराम टेलर छन् । वडा कार्यसमितिबाट सिफारिस भएका व्यक्तिको नाम जिल्ला कार्यसमितिले अनुमोदन गरेको कोषाध्यक्ष पाण्डेयले बताए ।

सत्तारुढ नेकपाले यसअघि नै आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ । यसका साथै साना दलले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् ।

प्रतिक्रिया