नेपाली टोली बंगलादेश पुग्यो

काठमाडौं । बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बंगलादेश पुगेको छ । १२ खेलाडीसहितको १५ सदस्यीय नेपाली टोली स्थानीय दिउँसो २ बजे ढाका आइपुगको हो । नेपाल भलिबल संघले मंगलबार मात्रै ६ नयाँ खेलाडीलाई समेट्दै १२ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । थाइल्यान्डमा १९ दिनसम्मको प्रशिक्षण र ७ अभ्यास खेलबाट सेन्ट्रल जोनका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको नेपाल भलिबल संघले जनाएको छ ।

टोलीका लागि निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, सुनिता खड्का, पुनम चन्द र सलिना श्रेष्ठले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसीले स्थान बनाउन सकेनन् । नेपालले २४ कात्र्तिकमा माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको सुरुआत गर्नेछ । २५ कात्र्तिकमा अफगानिस्तान, २६ कात्र्तिकमा किर्गिस्तान र २७ कात्र्तिकमा आयोजक बंगलादेशसँग खेल्नेछ ।

राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि खेल हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानको सहभागिता रहेको छ । सेन्ट्रल जोन च्याम्पियनसिपलाई मंसिरमा नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद सागको तयारीको रूपमा हेरिएको छ । १३औँ साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

प्रतिक्रिया