अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।  म्यानमारको घरेलु मैदानमा भएको खेलमा नेपाल ३–० को गोलअन्तरले पराजित भएको हो । मन्डलाथिरी रंगशालामा सुरुआतदेखि दबाबमा परेको नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेपनि हार टार्न सकेन् ।

खेल सुरु भएको तेस्रो मिनेटमा नै गोलको शिकार भएको नेपाल पहिलो हाफको अन्तिम समयमा दोस्रो गोलको सिकार भयो । दोस्रो हाफमा सम्हालिए पनि नेपालविरुद्ध म्यानमारले १ गोल थपेको हो ।  तेस्रो मिनेटमा नेपाली खेलाडीले गरेको गल्तीमा फ्रिकिक पाएको म्यानमारका लागि औङ थुले अवसर खेर जान दिएनन् ।

नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बल उनले गोलमा परिणत गरेका थिए । त्यसपछि म्यानमारको आक्रमक खेल रोकेको नेपाल अन्तिम समयमा दोस्रो गोलको सिकार भएको हो । म्यानमारका खेलाडीले गरेको प्रहार गोलकिपर विकेश कुथुले रोकेपनि डेभिड हाल्टनले गरेको दोस्रो प्रहार गोलमा परिणत भएको थियो ।

आक्रमक रणनीतिसहित दोस्रो हाफमा मैदान पुगेको म्यानमारका लागि तेस्रो गोल बो बोले गरे । नेपालले केही पाएका अवसर सदुपयोग गर्न नसक्दा ३–० को नतिजा घरेलु टोलीलाई सुम्पिएको हो । नेपालले अब दुईसातापछि विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेल्दैछ । विशेषतः कुवेतसँगको तयारीका लागि म्यानमार पुगेको टोलीले गतिलो प्रदर्शन भने गर्न सकेनन् ।  कुवेतविरुद्धको खेल घरेलु मैदानमा गरीने बताइएपनि अन्नत एएफसीको निर्देशनपछि नेपालले भुटानमा खेलाउने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया