खोजखबर

पर्यटक लोभ्याउँदै पोकली झरना

पूर्णप्रसाद न्यौपाने २०७६ कार्तिक २२ गते ६:५२ मा प्रकाशित

पोकली झरना अवलोकन गर्नेको संख्या बढेको छ । ओखलढुंगा जिल्लाको पश्चिमी भेगमा रहेको सो स्थान देशकै दोस्रो अग्लो हो । उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । विगतमा ओखलढुंगा र आसपासकै केही युवामात्रै झरनामा पुगेर रमाउने गरेका भए पनि पछिल्ला दिनमा झरना हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका लेतीका रामप्रसाद घिमिरेले बताए ।

‘पहिला त यो झरना हेर्न गाउँका मान्छे मात्रै फुर्सद मिलाएर जान्थे,’ उनले भने, ‘अहिले त देशका विभिन्न ठाउँदेखि मात्रै होइन विदेशी पनि झरना हेर्नकै लागि भनेर आउँन थालेका छन् । उनका अनुसार मौसम सफा भएको समयमा दैनिक ४०–५० जना सम्मले झरनाको अवलोकन गगरी मनोरञ्जन लिने गरेका छन् ।

महोत्सवसहितका कार्यक्रम गरेर झरनाको प्रचार–प्रसार भएसँगै यहाँ पुग्ने पर्यटकको संख्या पनि ह्वात्तै बढेको पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष गुरुकेदार बरालले बताए । ‘हामी पोकली छाँगो भन्थ्यौँ, त्यो छाँगो अहिले झरना भयो,’ उनले भने, ‘हामीले त्यसको महत्व बुझेर जब प्रवद्र्धन गर्न लाग्यौँ, त्यो छाँगो नै हाम्रो मुख्य सम्पत्ति रहेछ, पहिल्यै विकास गर्न पाएको भए अहिलेसम्म धेरै राम्रो भइसक्थ्यो होला ।’ उनकै नेतृत्वमा विसं २०६३ मा झरना सेवा समाज गठन गरेर आधिकारिकरूपमा प्रवद्र्धन थालिएको थियो ।

विसं २०६४ मा बालकृष्ण ढुंगेल सभासद निर्वाचित भएपछि पहिलोपटक झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारिएको थियो । ढुंगेलकै पहलमा झरनाको पर्यटन प्रवद्र्धनका लागि विसं ०६५ वैशाख २२ गते पर्यटन महोत्सव गरिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गरेका थिए । जिल्लाको लिखु गाउँपालिकामा पर्ने सो झरना १ सय ३० मिटर उचाइको छ । गत वर्षबाट उक्त झरना अंकित हुलाक टिकटसमेत प्रचलनमा आएको छ ।

समुद्री सतहदेखि करिब दुई हजार २ सय मिटर उचाइमा उक्त झरना रहेको छ । कर्णाली प्रदेशको कालिकोटस्थित १ सय ४८ मिटर उचाइको पचल झरना नेपालको पहिलो उचाइको र पोकली दोस्रो झरना मानिन्छ । लिखुखोलाको उत्तरपूर्वबाट झर्ने सो झरना नजिकै पर्ने घना जंगलले ढाकेको गौरी वन अर्को आकर्षण हो । खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको वेगले त्यहाँ जाने जो कोहीलाई आनन्द दिन्छ । चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा घामको झुल्को र अस्ताउने वेला इन्द्रेणी लाग्छ । यहि दृश्ले पनि त्यहाँ मान्छेलाई आर्कषक गर्ने गरेको छ ।

उक्त झरनासँग सम्बन्धित थुप्रै किंवदन्ती छन् । झरनादेखि दुई सय मिटर तल हाँडीदह छ । परापूर्वकालमा झरना आसपासमा रिठ्ठे झाँक्री बसोवास गर्ने र गाउँमा आवश्यक पर्दा हाँडीदहमा धूप हालेर प्रार्थना गरेपछि भाँडाकुँडा दहबाट निस्कने गरेको जनविश्वास रहेको छ । सुनुवार र ब्राह्मण समुदायको बाहुल्यता रहेको पोकली झरना क्षेत्र आसपासमा तामाङ, शेर्पासहित अन्य जातजातिको पनि बसोवास रहेको छ । बहुसांस्कृतिक एवं बहुधार्मिक पहिचानको सम्भाव्यता बोकेको पोकली क्षेत्रमा पुग्ने पर्यटकलाई स्थानीयले लोभलाग्दो जातीय झाँकी देखाउने गरेका छन् । त्यसले झरनाका साथै स्थानीय संस्कृतिले पनि पर्यटकको ध्यान तान्ने गरेको छ ।

पहाडी क्षेत्रको उत्कृष्ट भूगोल भएको सो झरना क्षेत्र साहसिक खेल ‘क्यानोनिङ’ को समेत सम्भावना बोकेको ठाउँ हो । त्यसका लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ । झरनाको नजिकै निर्माण गरिएको माधव मन्दिरले उक्त क्षेत्रलाई धार्मिकस्थलका रूपमा समेत चिनाएको छ । माधवलाई भगवान् शिवको पुरानो रूपसमेत मानिन्छ । झरनासम्म पुग्न पक्की सिँढी र झरना दर्शन गर्न नजिकै झोलुंगे पुल निर्माण गरिएको छ ।

धान झुलेको र गुराँस फुलेको वेला पर्यटकीय आकर्षण थप्ने पोकली झरना हिउँदको समयमा पानी कम भए पनि महोत्सवसहितका कार्यक्रम गरेर स्थानीयले पर्यटकको आवागमन बढाइरहेका छन् । यही कात्तिक १६ र १७ गते पनि पोकली झरना सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । झरना र आसपास क्षेत्रमा रहेका जिल्लाका सम्भावित पर्यटकीयस्थलको प्रवद्र्धनार्थ कार्यक्रम गर्ने गरिएको झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले जानकारी दिए । सो झरना हुँदै सगरमाथाको दृश्यावलोकन गर्न थोलेदेम्बा–पिकेसम्मको पदयात्रासमेत त्यहाँबाट गर्न सकिन्छ ।

पोकलीमा सन् २०२० मा २० हजार पर्यटक ल्याउने स्थानीय अगुवाको योजना छ । ‘नेपाल पर्यटन वर्ष २०२०’मा घुम्नुपर्ने सय पर्यटकीय गन्तव्यमा उक्त झरनालाई सरकारले समेटेपछि हौसिएका स्थानीयले पर्यटक ल्याउन होडबाजी गरिरहेका छन् । केही दिनअघि मात्रै झरनाको प्रचारप्रसारका लागि स्थानीयले झरना महोत्सव सम्पन्न गरेका छन् । झरनालाई विश्वमा प्रचार गर्न वृत्तचित्रसमेत बनाइएको छ । यसले झरना र स्थानीय ठाउँको प्रचारप्रसारमा सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

जिल्ला सदरमुकामदेखि पश्चिममा पर्ने सो झरना पुग्न सदरमुकामबाट १२ घण्टा पैदलयात्रा गर्नुपर्छ । सदरमुकाम जोड्ने कच्ची सडकको यात्रा बसमा करिब पाँचदेखि छ घण्टा लाग्छ । तर, राजधानी काठमाडौंदेखि सोझै पोकली झरना पुग्न भने करीब राजधानी काठमाडौंबाट १ सय ८३ किलोमिटर दूरीमा रहेको झरनासम्म यातायातको पहुँच छ । काठमाडाँंबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली–धोवी–शिरिसे हुँदै झरनास्थल पुग्न सकिन्छ ।

राजधानीबाट रामेछापको मन्थली नजिक हलेदेसम्म पक्की सडक छ । त्यहाँबाट करीब तीन घण्टा कच्ची सडकको यात्रा गर्नुपर्छ । जिल्लामा मानेभञ्ज्याङस्थित लिब्जु मन्दिर दर्शन गरेर सदरमुकाममा सिद्धिचरण श्रेष्ठको जन्मभूमि, स्रष्टापार्क, लगलगे भ्युटावर अवलोकन गरी ठाडेको घरवासमा बास बसेर भोलिपल्ट बिहान जन्तरधाप हुँदै देशका अग्ला सातडाँडामध्येको एक थोलेदेम्बा हुँदै पोकली झर्न सकिन्छ । त्यहाँ बसोवासका लागि घरवासको पनि सुरुआत गरिएको छ ।

सरकारले सय गन्तव्यको सूचीमा राखेसँगै पोकली झरनाको प्रवद्र्धनका लागि पूर्वाधार निर्माणको काम थालिएको छ । संघीय सरकारको २५ लाख रुपैयाँ, प्रदेश सरकारको ५० लाख रूपैयाँ र गाउँपालिकाको १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । सांसद यज्ञराज सुनुवारले पनि सांसद विकास कोषमार्फत ५० लाख रूपैयाँ विनियोजन गरेका छन् । विनियोजित बजेट पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गर्नेगरी पोकलीको विस्तुत गुरुयोजना तयार हुँदैछ । यसरी हरेक क्षेत्रबाट सो स्थानको विकासका लागि सहयोग जुटिरहेको छ ।

वृत्तचित्र निर्माण, फनपार्क, झरना आसपासमा सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ घरवास, बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन गरेर डिपिआर बनाउने काम भइरहेको समाजका महासचिव शम्भु बरालले जानकारी दिए । डिपिआरमा पोकली झरना क्षेत्रमा चिल्ड्रेनपार्क, स्विमिङ पुल, सिसाको पुल, गौतमबुद्ध र शिव–पार्वतीको मन्दिरजस्ता संरचनाको डिजाइन गरिनेछ ।

पोकली झरना हेर्न जाने पर्यटकले माथि उल्लेख अन्य स्थानको समेत अवलोकन गरी मनोरञ्जन लिन सक्ने भएकाले पनि यो स्थानको विकास र प्रर्वधन गरिनर पर्ने स्थानीयको माग रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय