यौन संकुचनमा स्वतन्त्रताको खोजी

प्रदीप उप्रेती

विद्यालय तहदेखि नै यौन शिक्षाका आधिकारीक धारणा प्रष्ट्याउनु जरुरी छ । साथै उपयुक्त यौन साथीको पहिचान सहितको धारणालाई स्वतन्त्र रूपमा चयन गर्ने परीपाटीको विकासले यस क्षेत्रमा धनात्मक परिणाम हासिल गर्न सम्भव रहन्छ । यौन शिक्षा सहितको स्वतन्त्रताको प्रत्याभूतीले संकुचित अवस्थामा रहेको यौन व्यवहारमा स्वतन्त्रताको अनुभूति हुने देखिन्छ 

आधुनिक मानव सम्प्रदायले प्राकृतिक रूपमा प्राप्त हुन आएको यौनिक गतीविधिलाई सही एवं विवेकसम्मत ढंगले प्रयोग गर्न नजान्दाको प्रतिफल भन्नु नै विकृतिमूलक यौन दुर्घटनाको भयाभय रूप हो ।

यौनजन्य स्वतन्त्रतालाई विश्वका कयौँ मुलुकले मानविय स्वतन्त्रतासँग तुलना गर्दै न्यायिक स्वतन्त्रताको खोजी गरिरहेको पाईन्छ । यद्यपि यस प्रकारका व्यवहारलाई स्वतन्त्रताको नाममा उदारीकरण गर्ने हो भने नेपालजस्तो यौनजन्य शिक्षाको अभाव रहेको मुलुकमा यौनीक दुर्घटनाहरू निम्तिने सम्भावनालाई सहजै इन्कार गर्न मिल्दैन । किनकि, प्रस्तुत विषयमा संकुचित अवस्थामा समेत स्वतन्त्रताको चाहना राख्ने मानव समूह यदि राज्यको कानुनद्वारा वाध्ने प्रयत्न नगर्ने हो भने यौन विकृतिको रूप के होला सजहै अनुमान लगाउन सकिनेछ । तसर्थ, यसलाई बहसको विषय बनाउनुभन्दा पनि केही हदसम्म संकुचित अवस्थामा नै रहन दिनु नेपालजस्तो मुलुकको लागि न्यायसंगत कदम मान्न सकिन्छ । तर यसो भन्दैमा आजको एक्काइसाँै शताब्दीको आमनेपाली जनमतको यौनिक स्वतन्त्रतालाई भने कुनै हालतमा कुण्ठित गर्न मिल्दैन ।

संकुचित अवस्थामा रहेको यौन व्यवहारलाई स्वतन्त्रताको नाममा प्रस्फुटन हुन खोज्ने प्रवृत्तिले गर्दा उत्पन्न हुने परिस्थितिजन्य व्यवहारलाई मानव समुदायले समयानुकूल नियन्त्रण गर्न नसक्दाको परिणाम नै यौनजन्य दुर्घटना हो । घटना पश्चात्ः पश्चातापबाहेक अन्यथा केही पनि हात नलाग्ने हुँदा समयमै विवेक पु¥याउनु दुर्घटना न्यूनीकरणमा सहयोगीको भूमिका निभाउनु हो ।

समग्रमा हेर्दा प्रस्तुत तथ्यले विशेष महत्व राख्ने हुँदा सावधानी अपनाउँदै आफ्नो सदाचारयुक्त नैतिक व्यवहारलाई क्रमबद्ध रूपमा स्थापित गर्दै लैजानुपर्ने हुन्छ । निश्चित रूपमा यौनीक स्वतन्त्रता मानवीय यौन व्यवहारमा निर्भर रहने एवं प्राकृतिक विषयवस्तु भएको हुँदा कानुनत यसलाई व्यवस्थित गर्नाले यौन अपराधको दरमा केही हदसम्म भए पनि नियन्त्रण गर्न सघाउ पुग्ने देखिन्छ । जसलाई अवश्य पनि सामाजिक मुल्य एवं मान्यताका अतिरिक्त व्यक्तिगत नैतिक चरित्रले बाध्ने प्रयास गर्ने हो भने यस क्षेत्रमा सकारात्मक नतिजा हासिल गर्न सम्भव रहला । यौन स्वतन्त्रता अपवादबाहेक धेरै हदसम्म विपरीत लैंगीय व्यवहारमा निर्भर रहने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

संकुचित अवस्थामा रहेको यौन व्यवहारलाई स्वतन्त्रताको नाममा प्रस्फुटन हुन खोज्ने प्रवृत्तिले गर्दा उत्पन्न हुने परिस्थितिजन्य व्यवहारलाई मानव समुदायले समयानुकूल नियन्त्रण गर्न नसक्दाको परिणाम नै यौनजन्य दुर्घटना हो

तथापि, लैंगीय मानवअधिकार हनन् नहुने अर्थमा यसलाई लिँदै व्यवहारत सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने हुन्छ । जसबाट प्रत्येक लैगिंक समुदायले आफ्नो यौनिक अधिकारको रक्षा गर्न समक्ष रहेको विश्वास लिने छन् । राज्यद्वारा प्रदान गरिएको यौन तथा प्रजनन् स्वतन्त्रतालाई गलत अर्थमा उपयोगमा ल्याउदा सामाजिक विकृतिको प्रादुर्भाव भई आपराधिक समूहको बाहुल्यता बढ्न जाने देखिन्छ ।

यद्यपि, सामाजिक मूल्य एवं मान्यताप्रति प्रतिबद्ध रहदै आएको पुरात्तन यौन सम्बन्धि सोचलाई क्रमशः परिवर्तन गर्न बदलिँदो सामाजिक परिवेशमा सकारात्मक यौनशिक्षाको आवश्यकता अति नै जरुरी भइसकेको छ । जसले केही हदसम्म भए पनि स्वतन्त्रताको नाममा कायम रहँदै आएको बालविवाह, अनमेल विवाह, बहुविवाह एवं बहुपति जस्ता सामाजिक कुरीतिलाई अन्त्य गर्न सहयोग पु¥याउने छ भन्ने विश्वास लिन सकिनेछ ।

यसका अतिरिक्त यौन स्वतन्त्रताको जानजान उपहास गर्दै विषेशगरी नारी समुदायप्रति गरिने असान्दर्भिक यौनशोषण एवं मानसिक रूपमा गरीने यौन प्रताडनलाई कुनै पनि हालतमा क्षमा दिन मिल्दैन । यो विशुद्ध यौन दुव्र्यवहारले भरिएको सामाजिक विकृति मात्र हो । तसर्थ, स्वतन्त्रताको नाममा अन्य कुनै विपरीत लैंगीय समूहलाई कुनै पनि हालतमा यातना दिनु वा दिन खोज्नु स्वतन्त्रताको भावना एवं मर्मविपरीतको कार्य हो ।

आफ्नो यौन स्वतन्त्रताको खोजी गर्दा अर्को कुनै लैंगीय समूहलाई हतोत्साही बनाउने कार्य न्यायसंगत हुन सक्दैन । यस प्रकारका गतिविधि मनोवैज्ञानिक यौन विकृतिबाट उब्जेका असामाजिक कार्यका अनेकन रूपहरू हुन् । जुन वर्तमान परिप्रेक्ष्यमा पाश्चात्य संस्कृतिको अनुशरण गर्ने क्रममा मुलुकभित्र भित्रिएका अनेकन विकृतिहरू मध्येको एक विकृति रूपमा यौनजन्य विकृतिलाई लिन सकिन्छ । किनकि, सामान्यतया नेपाली समाजले अभद्र यौनव्यवहारलाई सहज रूपमा स्विकार गर्ने वातावरण हालसम्म पनि तयार भएको पाइँदैन ।

सामाजिक मूल्य एवं मान्यताअनुसार नारी एवं पुरुष बीचको सौहार्दपूर्ण यौन व्यवहार नै उच्चत्तम यौन परिवेश हो । जसले एक आपसमा रहेको भावनात्मक प्रेमको अभिवृद्धि गर्दै अपराधरहित मानव मात्रको यौन स्वतन्त्रताको रक्षा गर्दै न्यायिक समाजको प्रतिस्थापन गर्ने कार्यमा सहायकसिद्ध भूमिका निर्वाह गर्ने देखिन्छ । यथार्थमा यस व्यवहारलाई यौन संकुचनभित्रको स्वतन्त्रताको रूपमा परिभाषित गर्न सकिन्छ । किनकि विश्वका कुनै पनि स्थानमा जतिसुकै यौन उदारीकरणको नारा दिएता पनि वास्तवमा यौन भन्ने कुरा संकुचित अवस्थामा नै रहेकै हुन्छ भन्दा फरक नपर्ला ।

प्रस्तुत विषयलाई स्वतन्त्रताको नाममा खुला छाड्ने प्रयत्न गर्ने हो भने मानव समुदाय एवं पशुबीच कुनै प्रकारको तात्विक विभेद रहने छैन । अतः संकुचन भित्रको कौतुहलताले नै नारी एवं पुरुष सम्प्रदायमा यौनिक आस्वादनको अतिरिक्त आत्मसन्तुष्टि प्राप्त गर्न सम्भव रहेको मान्न सकिन्छ । सामान्यता यौन स्वतन्त्रताभित्र मानवअधिकारसहितको व्यक्तिगत स्वतन्त्रतालाई निःशर्त रूपमा स्थापित गर्ने चेष्टा गरिएको हुन्छ । जसका लागि सम्बद्ध राज्यको कानुन, अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारका न्यूनत्तम बुँदाहरू आकर्षण हुने गर्दछन् । यस प्रकारका यौनजन्य दुर्घटनाहरू कुन अवस्थामा कहाँ र कहिले हुन्छ भन्ने कुरालाई सहजै अनुमान लगाउन कठिन हुने हुँदा उल्लेखित मानवअधिकार लगायतका विषयलाई यौन स्वतन्त्रताभित्र समाविष्ट गर्न खोजिएको मात्र हो । जसमा आम जनसमुदायको स्वास्थ्य प्रति सहज रहनसमेत सचेत गरिएको हुन्छ ।

तसर्थःव्यक्तिगत तवरले विवाहको लागि इच्छुक वा अनिच्छुक भन्ने कुराको निक्र्योल गर्ने अधिकार सम्बद्ध नारी एवं पुरुष वर्गलाई प्रदान गरिनु यथार्थमा यौन स्वतन्त्रताको विस्तृत रूप हो । जसले धेरैहदसम्म यौनजन्य विकृति न्यूनीकरण गर्नुको साथै आधुनिक नेपाली समाजमा बढ्दै गएको पारपाचुकेजस्ता वैवाहिक सामाजिक समस्या समाधान गर्ने कार्यमा उल्लेख्यनीय सकारात्मक भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । जसका लागि विद्यालय तहदेखि नै यौन शिक्षाका आधिकारिक धारणा प्रष्ट्याउनु जरुरी छ । साथै, उपयुक्त यौन साथीको पहिचानसहितको धारणालाई स्वतन्त्र रूपमा चयन गर्ने परिपाटीको विकासले यस क्षेत्रमा धनात्मक परीणाम हासिल गर्न सम्भव रहन्छ । यौन शिक्षा सहितको स्वतन्त्रताको प्रत्याभूतिले संकुिचत अवस्थामा रहेको यौन व्यवहारमा स्वतन्त्रताको अनुभूति हुने देखिन्छ । यस अवस्थापश्चात्ः यौन विकृति रहित आदर्श समाजको चाहनासहितको परिकल्पना साकार हुने कार्यमा महत्वपूर्ण सफलता हासिल गर्न सम्भव रहन्छ ।

प्रतिक्रिया