कुकुरबाट बलात्कार गराउने सुरक्षाकर्मीले कति फूली थपे ?

मान्छेले मान्छेलाई बलात्कार गरेको घटना सुन्नु हिजोआज सामान्यजस्तै भएको छ । नचाहेर पनि दिनहुँजसो त्यस्ता घटना सुन्न, लेख्न र पढ्न पर्छ । कहिलेकाहीँ मान्छेले पशुको समेत बलात्कार गरी सजाय भोगेको सुनिन्छ । तर, गत सोमबार दाङको घोराहीमा एक युवतीले सुनाएको पीडा नेपालमा सुनिएको पहिलो अपराधिक घटना थियो । ती युवतीले भावुक हुँदै सुनाएको दर्दनाक घटना सुन्नेका लागि यति विभत्स लागिरहेको थियो भने उनको भोगाइ कति दर्दनाक भयो होला ? यौन हिंसापीडित एक युवतीको पीडा सुन्दा र पढ्दा मान्छेको आङ नै सिरिङ हुन्छ । कुकुरबाट बलात्कार त्यो पनि सरकारी सेनाको क्याम्पमा !

मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा धेरै मान्छेले आफन्त, घर सम्पत्ती मात्रै होइन अस्मितासमेत गुमाए । एउटी महिलाको जीवनमा सबैभन्दा मूल्यवान सम्पत्ती हो अस्मिता । त्यो नै गुमाउन पर्दाको पीडा कम दर्दनाक हुँदैन । उनले आफू अहिले सुन्दर भएको तर, मनभित्रको पीडा बाहिर देखिएजस्तो सुन्दर नरहेको र त्यो मनभित्रको कुरूप पीडा देख्ने कोही छैन भन्दै सबैलाई भावुक बनाइन् । उनको नारकीय घटनामा संलग्न अपराधीलाई प्रचलित कानुनअनुसार जतिसुकै सजाय दिँदा पनि कम हुन्छ ।

युद्धका क्रममा त्यस्ता धेरै घटना भए जसले युद्धमा न लागेकाका लागिसमेत त्रसित बनायो र अहिले पनि त्यो त्रास यथावत नै देखिन्छ । मुलुकमा द्वन्द्व थियो सरकारी सेना र विद्रोहीको चपेटामा थिए सबै सर्वसाधारण जनता । भात खान नदिएको, मागेजति चन्दा नदिएको, वास नदिएको, युद्धमा सँगै नहिँडेको र सुराकी गरेको बहानामा युद्धरत पक्षबाट यातना पाउनेहरू जति थिए वास दिएको, खान दिएको चन्दा दिएको, परिवारका कोही सदस्य युद्धमा लागेको वा सूचना प्रवाह गरेको नाममा राज्यका सुरक्षा निकायबाट सजाय पाउने उति नै थिए । त्यस क्रममा भएका कैयौँ घटना यति निकृष्ट, अमानवीय र घृणित छ कि त्यो सुन्ने कसैले पनि क्षम्य गर्दैन । मुलुक शान्ति प्रक्रियामा आएको लामो समय बिते पनि ती काहालीलाग्दा दिन बिर्सन गाह्रो छ ।

विश्वका धेरै सशस्त्र युद्ध भएका मुलुकमा सेनाले महिलालाई बन्धक बनाएर बलात्कार गरेको पढेको सुनेको हो । तर, यो तहको हर्कत गर्ने सुरक्षा निकायका मान्छे कस्ता थिए होलान् ? कल्पना गर्न पनि गाह्रो छ । हुनसक्छ उतिबेला विद्रोहीलाई पक्राउ गरी यातना दिएको नाममा उनले धेरै फूली थपे होलान्, खोसिनुपर्छ ती थपिएका सबै फूली । त्यो घटनामा निर्देशन दिने संलग्न सबैलाई गरिनुपर्छ कारबाही 

युद्धका कारण कतिले के पाए कतिले के गुमाए आफ्नो ठाउँमा छ । बर्दियामा जन्मिएकी भनिएकी ती पीडित युवतीको दर्दनाक कथा सुन्दा जो कोहीलाई स्तव्ध बनाउँछ । उनले के पाइन् ? भुल्नै नसकिने मानसिक शारीरिक पीडा ? स्वभाविकरूपमा कुनै पनि राज्यका विरुद्ध युद्धमा होमिनेका लागि कारबाही हुन्छ । तैपनि, कारबाहीको सीमा हुन्छ । अपराधअनुसार हिरासत वा जेलको सजाय होला । तर, निर्वस्त्र बनाउनु बलात्कार गर्नु त्यो पनि कुुकुरबाट यो घटना सामान्य वा युद्धका कारण भएको हो भनेर उम्कने ठाउँ छैन । त्यति बेला सुरक्षा निकायका कोकोे त्यस घटनामा संलग्न थिए सबैको खोजी हुनुपर्छ ।

यो घटनाले मान्छेसँग मानवीय समवेदना छ वा छैन भन्नै प्रश्न उब्जाएको छ । हाम्रो समाज र संस्कारलाई मात्रै होइन सुन्ने दुनियाँका लागि पनि यो सामान्य छैन । युद्धले क्षतविक्षत भएका देशमा समेत त्यस प्रकारको घृणित यातना सुनिँदैन । नाजीहरूले महिलालाई बन्धक बनाएको सुनिन्थ्यो । विश्वका धेरै सशस्त्र युद्ध भएका मुलुकमा सेनाले महिलालाई बन्धक बनाएर बलात्कार गरेको पढेको सुनेको हो । तर, यो तहको हर्कत गर्ने सुरक्षा निकायका मान्छे कस्ता थिए होलान् ? कल्पना पनि गर्न गाह्रो छ । हुनसक्छ उतिबेला विद्रोहीलाई पक्राउ गरी यातना दिएको नाममा उनले धेरै फूली थपे होलान्, खोस्नुपर्छ ती थपिएका सबै फूली । त्यो घटनामा निर्देशन दिने संलग्न सबैलाई गरिनुपर्छ कारबाही ।

पीडित युवतीले १९ वर्षपछि आफ्नो दर्दनाक पीडा बाहिर ल्याएकी छन् । आज पनि उनी ढुक्कले सार्वजनिक रूपमा आफ्ना पीडा सुनाउन सक्ने अवस्थामा छैनन् । अनुहार लुकाएर बोल्नुपर्ने अवस्थामा छिन् उनी । उनले आफ्ना पीडा सुनाउँदै त्यो नारकीय जीवन भोग्ने आफूजस्तै धेरै भएको बताएकी छन् । मजस्तै धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरू खुल्न र भन्न सकिरहेका छैनन् । मचाहिँ बोल्छु मान्छेहरूले जानून् हामीले कतिसम्म सास्ती भोगेका थियौँ, नेपाली महिलाले केसम्म भोगे भन्ने उनको सन्देश निकै कारुणिक र हृदयविदारक छ ।

तत्कालीन माओवादीमा लागेर नाच्ने गाउने र जनता जगाउने अभियानमा लागेको आज उनको जागरण शून्यजस्तै बनेको छ । जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँ हिँडदै गर्दा पक्राउ परेकी थिइन् । ०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परेको उनले बताएकी छन् ।

उनको वयान अनुसार सेनाले उनीहरूलाई फक्राउ गरी पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाएका थिए । त्यतिले पनि शान्त नभएका सरकारी सेनाले नांगै बनाएर उनको शरीरमाथि दुई वटा कुकुर छाडिदिए । मान्छेबाट बचाउँदै आएको उनको इज्जत त्यो दिन कुकुरले लुटेको थियो । त्यसदिन उनी दुई वटा कुकुरबाट बलात्कृत भइन् कति घिनलाग्दो अपराधिक घटना ! मान्छे समाजिक सुरक्षाका कारण सचेत भएर हिँड्छ । तर, त्यस्तो यातनाको भने कल्पनामा समेत गर्दैन जुन उनले भोगिन् । १९ वर्षदेखि उनको मानसपटलबाट त्यो दर्दनाक घटना हट्न सकेको छैन र बाटोमा हिँडदा कुकुर हेरेर बहुलाहा जस्तो हुन्छिन्, काँप्छिन् ।

कुकुरबाट बलात्कार गराएका सेनाले उनीमाथि अरू पनि पाशविक व्यवहार गरेको उनले सुनाएकी छन् । सुरक्षा निकायको हिरासतमा बस्दा उनले भागेको अन्य घटना पनि उत्तिकै पीडादायक छ । खान नदिनु, कुटपिट गर्नु, बलात्कार गर्नु, हातले दिसा सफा गर्न लगाउनु र त्यही हातले भात खान लगाउनु, महिनावारी भएका बेला सफा कपडासम्म प्रयोग गर्न नदिनु । एउटा मान्छेले अर्को मान्छेसँग गर्ने व्यवहार नै लाग्दैन । आज आफू बाँचेर पनि जिउँदो लासझैँ अनुभूति भएको उनले सुनाएकी छन् । एउटा मान्छेले मान्छे भएर पाउनुपर्ने आफ्नो सारा सम्मान हरण भएको उनको भनाइ छ ।

पीडित युवतीको दर्दनाक भोगाइपछि नेपालमा थुप्रै प्रश्न उठेको छ । नेपालको सुरक्षा निकाय आफूखुसी जस्तोसुकै यातना दिन तयार छ ? वा सेनाभित्र विद्रोहीलाई दिइने यातना त्यसप्रकारको पनि छ ? नेपाली सेनाभित्र मान्छेको बलात्कार गर्ने तालिम प्राप्त कुकुर पनि छ ? यति मात्रै होइन सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर भएको छ । त्यति बेला सैनिक र विद्रोही पक्षबाट पनि हत्या र महिलालाई निर्वस्त्र बनाएर बलात्कार र हत्या गरेका घटना बाहिर नआउने गरेको होइन । तर, अहिलेको जस्तो भने सुन्न परेको थिएन ।

आफ्ना विरोधीलाई पक्राउ गरी कुकुरमार्फत बलात्कार गराउने र अन्य अमानवीय हर्कत गर्ने कामलाई जेनेभा सन्धिले युद्ध अपराध मानेको छ । कुकुरबाट बलात्कार भएको घटना बाहिर आएको हुँदा त्यसमा छानबिन हुनुपर्छ । समान्य कुकुरले मान्छेलाई बलात्कार गर्न नसक्ने हुँदा सेनाभित्र बलात्कारका लागि कुकुरहरू तालिम प्राप्त थिए भन्ने कुरालाई पीडित युवतीको बयानले प्रष्ट्याएको छ ।

राज्य र विद्रोही दुवै पक्षका पीडितहरूको साझा संगठन द्वन्द्वपीडित साझा चौतारीले सुरु गरेको अभियानमा युवतीले पीडा सुनाइन । उनले १९ वर्षपछि आफ्नो पीडा अनुहार लुकाएर सबैको सामु राखेकी छन् । उनको जस्तै वा त्यो भन्दा फरक अरू पनि हिंसा र अपराधका घटना लुकेका वा लुकाइएका हुनसक्छन् । सबैको खोजतलास गरिनुपर्छ । कानुनी दायराभन्दा बाहिर गएर आफूखुसी वा बदलाको भावनाले प्रेरित भएर यातना दिनेलाई राज्यले कानुनी कारबाही गर्नुपर्छ ।

प्रतिक्रिया