बालक अपहरण गर्ने पक्राउ

बारा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ बाट तीन वर्षीय बालकलाई अपहरण गरी फरार रहेका रुस्तम देवान पक्राउ परेका छन् । रुस्तमलाई पर्सा प्रहरी मातहतको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त पर्साकै वीरगञ्ज महानगरपालिका–३१ प्रसौनीका स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीले बताए । अभियुक्त देवानले गएको ३० असोजमा पर्सागढी नगरपालिकाका–३ का बलराम उपाध्यायको आँगनमा खेलिरहेका उनैका नाती बालकृष्ण मैनालीका तीन वर्षीय छोरा आयुष मैनालीलाई अपहरण गरी बन्धक बनाएका थिए ।

प्रहरीले अपहरित बालकलाई हराएको केही समयपछि सकुशल उद्दार गरी अपहरणमा संलग्न देवानलाई खोजी गरिरहेको थियो । फरार रहेकै समयमा बल्ल पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक शाहीले भने । प्रहरीले पक्राउ गरेका देवानलाई अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेकोे पर्सा प्रहरीले जनाएको छ ।

त्यसैगरी पर्सा प्रहरीले पर्सा जिल्ला अदालतले तीन महिना कैद र १ हजार ५ सय जरिवाना तोकेको लागुऔषध मुद्दाका फरार कसुरदारलाई पनि पक्राउ गरेको छ । पक्राउ गरेका फरार कसुरदार वीरगञ्ज महानगरपालिका–२ का ४२ वर्षीय नबिर रहसुल रहेका छन् ।

त्यसैगरी स्रोत नखुलेको करिब ६ लाख रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्रोत नखुलेकको रकमसहित भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा–१६ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ वर्षीय कृष्णमोहन कलवारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कलवारलाई वीरगञ्ज–१६ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो । भारतको रक्सौल तर्फबाट वीरगञ्जतर्फ ना ५३ प ७१५९ नम्बरको स्कुटी चलाएर आउँदै गरेका कलवारको साथबाट ५ लाख ८३ हजार ५ सय ६० रुपैयाँ नगद, सुनजस्तो देखिने सिक्का दुई थान, सुनजस्तो देखिने गणेश भगवानको लकेट एक थान र विभिन्न बैंकको चेकबुक, भौचरसमेत बरामद गरेको छ ।

पक्राउ परेका कलवारलाई प्रहरी नियन्त्रणमा राखी आवशयक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया