श्रम कार्यालयमा सेवाग्राहीलाई सास्ती

बुटवल । रूपन्देहीको मर्चवारी गाउँपालिका–७ का एकउल्लाहा मुसलवान गएको बिहीबार बिहानै कार्यालय सुरू हुनुभन्दा अगाडि नै बुटवलस्थित श्रम कार्यालय पुगेका थिए । बिहान ८ बजेदेखि लाइन बसेका उनले ४ बजेसम्म पनि फर्म कार्यालयभित्र बुझाउन पाएनन् ।

कतारका लागि श्रम स्वीकृति लिनुपर्ने काम सकेर साँझ घर फर्किने उनको योजना काम नभएपछि तुहियो । शुक्रबार फर्म त बुझाए तर साँझसम्म पनि काम सकिएन । सबै कागजपत्र मिलेको छ तर काम नभएको उनको गुनासो छ । काठमाडौं जान नपर्ने भनेर बुटवलमा श्रम स्वीकृति गर्ने व्यवस्थाले झन् सास्ती थपेको उनको भनाइ छ ।

यी त केही उदाहरण मात्र हुन् । यस क्षेत्रका वैदेशिक रोजगारमा कामदारलाई श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न भन्दै सञ्चालनमा आएको कार्यालयबाट झन् सास्ती पाएका छन् । आफ्नै प्रदेशमा आएको कार्यालयले समयमै सेवा दिनेभन्दा सास्ती दिएको उनीहरूको गुनासो छ । दैनिक रूपमा चार सयभन्दा बढी सेवाग्राही आउने कार्यालयमा दुई सय जनाको मात्र काम हुने गरेको बताइन्छ । कार्यालयमा चार सयभन्दा बढी सेवाग्राही दैनिक रुपमा कार्यालयमा पुग्छन् । श्रम स्वीकृतिको लागि काठमाडौं धाउनु नपर्ने भनेर सञ्चालनमा आएका कार्यालयले झनै सास्ती दिएको छ ।

गएको १५ पुसदेखि बुटवलमा पनि पुनः श्रम स्वीकृति (एकपटक विदेश गएर आएकाहरूका लागि) सुरू भएको थियो । स्थापना हुँदा बुटवल उपमहानगरपालिका–६ चाँदबारीस्थित एक घरबाट कार्यालय स्थापना गरिए पनि त्यहाँ साँघुरो भएपछि श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा चैतबाट बुटवल–१० रामनगरस्थित सीप विकास तालिम केन्द्रको भवनमा कार्यालय स्थापना गरी काम गरिएको छ ।

कार्यालयमा सेवाग्राहीको ठेलमठेल गर्ने गर्छन् । आफ्नो नाम नबताउने सर्तमा केही सेवाग्राहीले फर्मसँगै पैसा दिनेको एकैदिनमा पनि काम गरिदिने गरेको आरोप लगाए । गएको पुसदेखि सातै प्रदेशबाट एकपटक विदेश गएर आएकाहरूका लागि श्रम स्वीकृत गर्न सुरू गरिएको थियो । नयाँ कामदार भने काठमाडौं नै जानुपर्ने हुन्छ । सेवा प्रवाहामा समस्या हुनु मुख्य कारणमा इन्सुरेन्स गर्न समय लाग्नु पनि रहेको व्यवसायीको भनाइ छ ।

कार्यालयमा ११ जना मात्र कर्मचारी छन् । भाषा अनुवादक नहुँदा पनि कार्यालयले धेरैको काम गर्न सकेको छैन । कार्यालयमा अनुसार अंग्रेजी र अरबी भाषाका अनुवादक कम हुँदा समस्या भएको छ । सेवा दिन दुई वटा काउन्टर मात्र छन् । भाषा अनुवादक र केही कर्मचारी थप गर्न सकिए चार वटा काउन्टरबाट सेवा प्रवाह गर्न सकिने देखिन्छ । सेवाग्राहीको चाप बढेपछि कार्यालयले टोकन वितरण गरेको छ । कार्यालय प्रमुख अनन्तमणि मरासिनीले दसैँलगत्तै सेवाग्राहीको चाप ह्वात्तै बढेकाले श्रम स्वीकृतिका लागि आउने सबैलाई एकै दिनमा सेवा दिन नसकेको स्वीकार गरेका छन् ।

कार्यालयबाट प्रदेशका १२ वटै जिल्लावासीले सेवा लिन सक्नेछन् । त्यसबाहेक नेपालका जुनसुकै जिल्लाका मानिसले पनि यो कार्यालयबाट सेवा लिन सक्छन् । कार्यालयले हालसम्म २७ हजार जनाको श्रम स्वीकृति गरेको जनाएको छ । वैदेशिक रोजगारमा बढी भएका ठाउँलाई लक्षित गरी सुरूमा प्रदेशमा श्रम स्वीकृति दिन सुरू गरिएको थियो । नेपालमा सबैभन्दा धेरै प्रदेश–२ का युवा वैदेशिक रोजगारमा छन् ।

प्रतिक्रिया