घाट कर्मचारीको सेवासुविधामा वृद्धि

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउने लगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरूको सेवा सुविधा बढाउने भएको छ । सेवा केन्द्रका कर्मचारीहरूले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहान तीनघण्टा शव दाहलगायतका सबै काम बन्दगरेपछि कोषले सुविधा बढाउने सहमति गरेको हो ।

उनीहरूको आन्दोलनबाट शवदाह नै रोकिएसँगै कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा उनीहरूको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरा बोक्ने, खाडल खन्ने तथा शवदाह गर्ने कार्यमा संलग्न हुने श्रमिकहरूले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै सुरु गरेको आन्दोलन वार्तामा सहमति भएपछि टुंगिएको हो ।

आन्दोलनरत पक्षले समयानुकुल पारिश्रमिक वृद्धि, अवकाश हुँदा पाउने उपदानमा वृद्धि, स्वास्थ्य बिमाको व्यवस्था तथा काम गर्न सुरक्षित उपकरणको व्यवस्था हुनुपर्ने लगायतका मागअघि सारेर बुधबार बिहानदेखि आन्दोलनको घोषणा गरेका थिए । सेवा सुविधा वृद्धि गर्न माग गरेको एक वर्ष बितिसक्दा समेत वास्ता नगरेकाले आन्दोलन गर्नू परेको घाट सेवा केन्द्रका विदुर बुढाथोकिले बताए । पशुपति क्षेत्र विकास कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा महाशाखामा भएको दुईपक्षीय वार्तामा सहमति जुटेपछि उनीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

बुधबार भएको वार्तामा नियमानुसार ५० हजार, एक लाख र एक लाख ५० हजार उपदानका रूपमा पाउने रकमलाई वृद्धि गरेर क्रमश १ लाख ५० हजार, ३ लाख र ५ लाख पु¥याइने सहमति भएको छ । यस्तै उपचारका लागि दिइने ५ हजार र २० हजारलाई पनि बढाएर क्रमश १५ हजार र ३० हजार गर्ने सहमति भएको छ ।

यसका साथै श्रमिकहरूले प्राप्त गर्ने ज्यालामा पनि वृद्धि गर्ने सहमति भएको छ । जसअनुसार दाहसंस्कार गर्नेले पाउने रकम १२ सयबाट बढाएर १५ सय गर्ने, चपटी र दाउरा ओसार्नेको रकम ४ सयबाट बढाएर ६ सय गर्ने सहमति भएको छ । यस्तै प्रत्येक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्ने र उमेर हदलाई पनि ६० बाट बढाएर ६५ गर्ने विषयमा सहमति जुटेको सामुदायिक महाशाखाका प्रमुख राजु रेग्मीले जानकारी दिएका छन् ।

कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क भने बढाएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरूको सेवा सुविधा बढाउने सहमति गरेकै दिनदेखि कोषले शव अन्त्येष्टिको शुल्क पनि बढाएको हो । शवदाह गरेको शुल्कमा तीन सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको छ ।

यसका साथै अवकास पाउँदा उपदानबापत पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पु¥याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गर्ने सहमति भएको कोषले जानकारी दिएको छ । यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् । सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसारलगायतका सबै कामहरू बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए ।

प्रतिक्रिया