विधानविपरीत गए नेतृत्वविरुद्ध आन्दोलन

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिको संयोजक विधानविपरीत चयन गर्ने तयारी भएको छ । विधानमा ३२ वर्ष उमेर नकटेको भए पनि पार्टी सभापति शेरबहादुर देउवाले ४० कटेका व्यक्तिलाई बनाउने तयारी गरेका हुन् ।

समयमा अधिवेशन गर्न नसकेपछि नेविसंघ अहिले कोमामा रहेको अवस्थामा छ । देउवाले मनोमानी ढंगले संयोजक चयन गर्न लागेपछि नेविसंघको एकपक्षले विधानको रक्षाका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने नेतृत्वलाई चेतावनी दिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी विधान उल्लघंन भए पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्ने चेतावनी पनि दिएका हुन् ।

नेविसंघको विधान २०२७ को सातौ संशोधन– २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ उल्लेख छ । निवर्तमान केन्द्रीय समितिले सोही विधान बमोजिम विभिन्न १६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको थियो । यसबाहेक अन्य ४० जिल्लामा जिल्ला अधिवेशनभन्दा तल्लो तहका सम्पूर्ण कमिटीहरू गठन भइसकेका छन् । बाँकी २१ जिल्लामा भने अधिवेशन प्रक्रिया मात्रै सुरु हुन पायो ।

नेविसंघको ११औँ महाधिवेशन सम्पन्न गर्नुपूर्व पनि कांग्रेसद्वारा गठित निर्देशन समितिले पनि आउने महाधिवेशनबाट ३२ वर्षे उमेरको हदबन्दी कायम हुने प्रावधान तय गरिसकेको छ । सोहीबमोजिम जिल्ला अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लाहरूलाई निर्देशन दिइएको थियो ।

नैनसिंह महर नेतृत्वको निवर्तमान कमिटी विघटन भएपछि पार्टीले नयाँ तदर्थ समिति बनाउने तयारी गरिरहेको छ । तर, पार्टी नेतृत्वले उक्त तदर्थ समितिमा नेविसंघको विधान उल्लघंन गर्दै ३२ वर्षभन्दा माथिकालाई नेतृत्व सुम्पन्ने तयारी गरेको भन्दै त्यसो गरे आमरण अनसन गर्ने चेतावनी विधार्थी नेताहरूले दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले ४९ वर्षमा आफू प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरवहादुर देउवाले सोही उमेरका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउन खोज्नु लज्जास्पद भएको बताए । उनले विधानविपरित आउने नेतृत्वले नेविसंघको सधारण सदस्यता वितरण गर्ने नैतिक हैसियत गुमाउने पनि बताए । ‘कम्युनिष्ट सत्ताले सर्वसत्तावाद लागु ग¥यो भन्ने अनि आफ्नो दलभित्र विधि र विधानलाई उल्लघंन गर्दै सर्वसत्तावाद लागु गर्नु कदाचित मिल्दैन, यसका विरुद्ध हामी आमरण अनसनको हदसम्म जान तयार छौँ’, त्रिपाठीले चेतावनी दिए ।

‘विधानबमोजिम १६ जिल्लामा अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भइसकेको र बाँकी २१ जिल्लामा अधिवेशनको तयारी भइरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल वृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौँ’, विधान पक्षधर नेताहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ नेविसंघको विधि विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वन गरी ने.वि.संघ तदर्थ केन्द्रीय समिति गठन गर्न नेपाली कांग्रेस पार्टी नेतृत्व सामु विनम्रतापूर्वक आग्रह गर्दछौँ । अन्यथाः–नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समिति गठन गरेकै दिन विधान उल्लंघनविरुद्ध नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय, सानेपामै आमरण अनशनको कार्यक्रम थाल्ने चेतावनी दिन चाहन्छौँ ।’

नेविसंघ नेता महेन्द्र भट्टराईले विधानविपरीत समिति आए आमरण अनसनसहितको आन्दोलनले त्यसलाई खारेज गराई विधान सम्मत समिति ल्याउन पार्टी नेतृत्वलाई बाध्य पारिने बताए । पत्रकार सम्मेलनमा नेविसंघ नेता योगेन्द्र रावले नेविसंघलाई कुनै पनि हालतमा वृद्ध संघ बन्न नदिने बताउँदै वृद्धहरूले कक्षा कोठाको भावना बुझ्न नसक्ने जनाए ।

प्रतिक्रिया