चन्द्रागिरि गोल्डकप फुटबल हुने

काठमाडौं । चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही कात्तिक अन्तिम साता हुने भएको छ ।  ए डिभिजन क्लबले समेत सहभागिता जनाउने प्रतियोगिताको मिति आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रतियोगिता कात्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म चन्द्रागिरि नगरपालिकाको नैकापस्थित नैकाप खेल मैदानमा आयोजना हुने प्रतियोगिताका संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।

प्रतियोगितामा आयोजकको दुई टोलीको सहभागिता हुनेछ । आयोजकको तर्फबाट दीपशिखा युवा समूह र चन्द्रागिरि नगरपालिकाको टोली सहभागी हुनेछ भने त्यसबाहेक ‘ए’ डिभिजनका ८ देखि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । तर, प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिनसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजकले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्धा गराउने जनाएको छ । प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिने संयोजक बुढाथोकीले जानकारी दिए । पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन भएका थिए ।

प्रतिक्रिया