पृथ्वी राजमार्ग फराकिलो बनाउनुअघि

त्रिभुवन राजपथअन्तर्गतको थानकोट नौबिसे खण्डमा सुरुङ मार्ग निर्माण आरम्भ हुनै लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार सुरुङ मार्ग निर्माणको शिलान्यास गरिएको छ । ०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री बनेपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त स्थानमा सुरुङ मार्ग निर्माण गर्ने निर्णय गरेको थियो । करिब १० वर्षपछि उक्त निर्णयले मूर्तरूप पाउने निश्चित भएको छ । ४२ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीसँग सम्झौता भएको छ । बिनाअवरोध फटाफट काम हुँदै गयो भने ०८० सालको दसैँभित्रमा उक्त सुरुङ मार्गमार्फत यातायातका साधन सञ्चालन हुनेछन् । करिब दुई दशमलव सात किलोमिटर लामो उक्त सुरुङ मार्ग निर्माणपछि थानकोट नौबिसेसम्मको दुरी ३० किलोमिटरबाट छोटिएर करिब १६ किलोमिटर कायम हुनेछ । दुरी मात्रै छोटिने होइन कि समयसमेत निकै छोटिनेछ । अहिले नौबिसेबाट काठमाडौं आउने २६ किलोमिटर सडक दर्जनौँ घुम्ती तथा मोड भएको उकालो छ । जसका कारण समान्य अवस्थामा पनि कम्तीमा एक घण्टा समय लाग्ने गरेको छ । तर, उकालो र मोडका कारण धेरै लामो लाइनमा गाडी जाम हुने गरेको छ । सुरुङ मार्ग निर्माण सम्पन्न भए पछि नौबिसे काठमाडौंको दुरी आधा छोटिने मात्रै होइन समय पनि एक घण्टाबाट घटेर २० मिनेटमा झर्छ । यस्तो अवस्थामा नौबिसेदेखि गल्छीसम्मको क्षेत्रसमेत राजधानी काठमाडौं उपत्यकाकै एउटा अंग बन्न सक्छ । राजधानी काठमाडौंको बढ्दो जनचापलाई धेरै हदसम्म नियन्त्रण गर्न यो सुरुङ मार्गले सहयोग गर्छ ।

२०११ सालमा बनेको त्रिभुवन राजपथ काठमाडौंबाट नौबिसे हुँदै हेटौँडामा जोडिन्छ भने २०३२ सालमा बनेको पृथ्वीराजमार्ग काठमाडौंबाट नौबिसे हुँदै पोखरा जोडिन्छ । यी दुवै राजमार्गका लागि यो सुरुङ मार्ग वरदान सावित हुने निश्चित छ । मुलुकभरीका सवारी साधन नौबिसे हुँँदै राजधानी भित्रिन्छन् । हाल नौबिसे हुँदै काठमाडौं भित्रिने सवारी साधनको संख्या दैनिक १५ हजारभन्दा माथि रहेको तथ्यांक छ । त्यसैले थानकोट–नौबिसे सुरुङ मार्ग सबै हिसाबले लाभदायक छ । सञ्चालनमा आएको पाँच-सात वर्षभित्रै लगानीले मुनाफा दिन थाल्ने परियोजनाका रूपमा यसलाई लिइने गरिएको छ ।

राजधानी काठमाडौं उपत्यका र मुलुकका पश्चिमी भेगलाई छोटो तथा सहज रूपमा जोड्न यो सुरुङ मार्ग मात्रै काफी छैन । पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकको क्षमता वृद्धि गर्नु अपरिहार्य छ । यसै गरी सुरुङ मार्गको पश्चिमी मुख नजिकै बाह्य तथा राजधानी काठमाडौं उपत्यकाका लागि आन्तरिक बसपार्क निर्माण पनि अपरिहार्य छ । तर, राज्यका नीति निर्माताहरू गम्भीर भएको देखिँदैन । सुरुङ मार्गको पश्चिमी मुख नजिकै बसपार्क निर्माण गर्नेतर्फ योजनासमेत बनेको छैन । पृथ्वीराजमार्गको चौडाइ वृद्धि गर्ने योजना त अघि सारिएको छ तर अत्यन्त हचुवा ढंगले । पृथ्वीराजमार्गको नौबिसे–मुग्लिनखण्ड ६ लेन फराकिलो बनाउने भनिएको छ । यो भिरालो जमिनमा ६ लेनको सडक बनाउँदा हुन सक्ने पहिरोको समस्याका विषयमा अध्ययन गरिएको छैन । साथै सडक फराकिलो बनाउने क्रममा यात्रुले भोग्नुपर्ने सवारी जामको समस्याका विषयमा पनि अध्यायन गरिएको देखिन्न । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ मुग्लिन–नारायणगढ ३० किलोमिटर सडक फराकिलो बनाउने क्रममा पाँच वर्ष लाग्यो । अझै पुलहरू निर्माण सम्पन्न भएका छैनन् । सडक फराकिलो पार्ने क्रममा यात्रुले भोग्नुपरेको सास्ती अकल्पनीय थियो । त्यो अवस्था नौबिसे–मुग्लिन सडक फराकिलो बनाउने क्रममा यात्रुले भोग्नु नपरोस् भन्नेतर्फ अहिले नै सरकारको गम्भीर ध्यान जानु जरुरी छ । यसका लागि विकल्प अपनाउनुपर्छ । भिरालो ठाउँको साविककै सडकलाई ६ लेन फराकिलो बनाउनुको सट्टा त्रिशूली नदीको अर्को किनारमा दुई लेनको नयाँ सडक निर्माण गर्नु उचित हुन्छ । साथै यो सडक फराकिलो बनाउने काम आरम्भ गर्नुअघि पोखरादेखि त्रिशूली खण्डसम्मको मध्यपहाडी लोकमार्ग युद्धस्तरमा सम्पन्न गर्नुपर्छ ।

प्रतिक्रिया