दक्ष जनशक्ति अभावमा विदेशीकै भर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा–सिस्नेरी सुरुङमार्गको शिलन्यास गर्दै भने,‘नेपाल अब सुरुङमार्गको युगमा प्रवेश गर्यो ।’ उनको भनाइको लक्ष्य थियो, सरकारले अब सुरुङमार्गलाई प्राथमिकता दिनेछ ।

सडक बनाउनुभन्दा सुरुङ बनाउन निक्कै महँगो लागत पर्ने गरेको छ । महँगो लागतसँगसगै अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको आवश्यकता यसमा पर्दछ । नेपालको भौगोलिक अवस्था र चट्टानका कारण सुरुङ बनाउन निक्कै महंगो र कठिन पर्ने देखिएको छ । नेपालमा हालसम्म जलविद्युत् र खानेपानीका लागि मात्र सुरुङ बनेका छन् । यातायातका लागि भनेर अहिलेसम्म भरपर्दो सुरुङमार्ग बनेको छैन ।

चन्द्रशमशेरले मकवानपुरमा बनाएको भनिएको सुरुङ निक्कै साँगुरो अवस्थामा देखिन्छ । मुस्किलले सानो चारपांग्रे गाडी छिर्नसक्ने गरी बनाइएको त्यो सुरुङको भग्नावशेष मात्र रहेको छ । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले पाँच सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए । यो सुरुङमार्ग ९ फिट चौडा र १० फिट अग्लो छ ।

नेपालमा अहिलेसम्म २ सय किलोमिटर सुरुङ बनेपनि आवश्यक जनशक्ति नहुँदा नेपाल अझै विदेशीको भरमा पर्ने गरेको छ । १५ सय किलोमिटर सुरुङ अझै बन्ने अवस्थामा छन् । यत्तिका आयोजना निर्माण हुदै गर्दा र खर्बौं खर्च भईसकेका सुरुङ बनाउदासम्म दक्ष नेपाली जनशक्ति तयार नहुँदा विदेशीकै मुख ताक्नुपर्ने अवस्था छ 

नेपालमा अहिलेसम्म करिब दुई सय किलोमिटर सुरुङ बनेका छन् । अधिकांश सुरुङ जलविद्युत् आयोजनाका लागि बनेका छन् । खानेपानीका लागि मेलम्ची, सिँचाइका लागि भेरी–बबई लगायत जलविद्युत्का लागि सुरुङ बनेका हुन् । यतिका सुरुङ बनेपनि आवश्यक जनशक्ति नहुँदा नेपाल अझै विदेशीको भरमा पर्ने गरेको छ । खर्बौं खर्च भईसकेका सुरुङ बनाउने अहिलेसम्म दक्ष नेपाली जनशक्ति तयार नहुँदा विदेशीकै मुख ताक्नुपर्ने अवस्था छ ।

चट्टान एंव सुरुङविज्ञहरुले समेत अझै खर्बौं लगानीका ‘प्रोजेक्ट’हरू बन्न बाँकी रहेको अवस्थामा विदेशी गुहार्नुभन्दा नेपालीलाई दक्ष बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । चट्टान एंव सुरुङविज्ञ तथा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (एनटीएनयू)का प्राध्यापक कृष्णकान्त पन्थीले नेपाली जनशक्तिलाई दक्षरूपमा विकास नगरेसम्म सबै लगानी बालुवामा पानी खनाएजस्तै हुने बताए ।

‘जबसम्म हामी नेपालीहरूले आफ्नै कन्स्ट्रक्सन र इन्जिनियरिङ कम्पनीहरू प्रयोग गरेर अगाडी बढ्दैनौं । तबसम्म इम्प्लोइमेन्ट जेनेरेसन हुँदैन’, उनले भने, ‘जापानीजहरूले अहिले नांगढुंगामा बनाउँदैछन् । उनीहरूले त्यो प्रोजेक्ट बनाएर फर्किन्छन् । उनीहरूले सिकेको त्यो ज्ञान त नेपालमा रहदैन ।’ प्राध्यापक पन्थीका अनुसार विदेशी कम्पनीले विदेशी कामदार नै लिएर आउने र नेपाली पैसामा उल्टै ज्ञान पनि सिकेर जाने बताए । नेपालीलाई नै यो क्षेत्रमा पोख्त नबनाएसम्म जति रकम खर्च गरेपनि बालुवामा पानी खनाएजस्तै हुने उल्लेख गरे ।

नेपालले अहिले पनि सुरुङ बनाउने थुप्रै योजना अगाडि सारेको छ । जलविद्युत्का लागि मात्रै अहिले पनि करिब १५ सय किलोमिटर सुरुङ खन्नुपर्ने आवश्यकता देखिएको छ । जलविदुत्का लागि अध्ययन गरेर तयारी अवस्थामा रहेका आयोजनामा लामा लामा सुरुङ खन्नुपर्ने अवश्यकता रहेको छ । तर, त्यसका लागि अहिलेसम्म दक्ष जनशक्ति नेपालमा छैन ।

जुन देशको कम्पनीले ठेक्का पाएको हो त्यसले त्यही देशका इन्जिनियर र कामदार लिएर आउने गरेका छन् । त्यस्ता सुरुङमा नेपाली इन्जिनियरले सहायक र हेल्परका रूपमा मात्र काम गर्ने गरेका छन् । हुनत यो क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न केही समय लाग्ने देखिन्छ । तर, भविष्यका लागि सजिलो बनाउनका लागि अहिलेबाटै लगानी गर्नुपर्नेमा प्राध्यापक पन्थीले जोड दिए । सुरुङलाई स्वदेशी जनशक्तिबाटै बनाउनका लागि पनि नेपाली दक्ष जनशक्ति उत्पादन गर्नु मुख्य लक्ष्य अहिलेको हुनुपर्ने प्राध्यापक पन्थीले बताए ।

सडक विभागले विपी राजमार्गमा पर्ने खुर्कोट–सिन्धुलीबजार, नवलपरासीको दाउन्ने, कुलेखानी–हेटौंडा, नुवाकोट जोड्ने टोखा–छहरे र कास्कीको हेम्जादेखि नागडाँडा–काँडे–लुम्ले सुरुङ मार्गको अध्ययन सुरु गरेको छ । सडकमा बन्ने सुरुङभन्दा पानी ल्याउने सुरुङमार्ग बनाउन सहज हुने गरेको छ । सडकका लागि विभिन्न ठाउँमा अक्सिजनका लागि प्वाल, विजुलीबत्ती, आकस्मिक उद्धार लगायतका आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पश्चिमाञ्चल क्याम्पस, पोखराले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेका छन् । पुल्चोक र पश्चिमाञ्चल क्याम्पसले स्नातकोत्तर तहमा छुट्टै कार्यक्रमका रूपमा सुरुङ विद्याको सम्भावना, पाठ्यक्रम, विज्ञको खोजीका लागि अध्ययन समिति बनाएका छन् । दुवै क्याम्पस आउँदो शैक्षिक सत्रदेखि नै कक्षा सुरु गर्ने तयारीमा जुटेका हुन् ।

प्रतिक्रिया