मर्यादित भाषा

नेपाली पत्रकारितामा प्रयोग भइरहेको भाषाका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक सार्वजनिक टिप्पणी गरेका छन् । गत असोज २८ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरे । उनले भने– ‘नेपाली भाषामा आदरार्थी शब्दहरूको कमी छैन, तर नेपाली पत्रकारितामा अनादरार्थी शब्द प्रयोग भएका छन्, यसले हाम्रो संस्कृति तथा परम्परालाई आँच पुर्याउने त होइन ?’ प्रधानमन्त्री ओलीको पटकपटकको यो टिप्पणीपछि नेपाली पत्रकारिता क्षेत्रका भाषा विज्ञहरू पनि बहसमा उत्रेका छन् । पत्रकारिता समाजको दर्पण समेत भएकोले यस क्षेत्रमा प्रयोग गरिने भाषा प्रति सचेत रहनु सबैको कर्तव्य हो । खासगरी पत्रकारिता क्षेत्रमा लागेकाहरूले एउटा निक्र्यौल निकाल्नै पर्ने हुन्छ । नेपाली भाषामा कसैलाई सम्बोधन गर्नुपर्दा तँ, तिमी, तपाइँ, हजुरको प्रचलन छ । राजतन्त्र कालमा राजपरिवारका लागि मौसुफ भनेर सम्बकोधन गर्ने परम्परा थियो । तर, अंग्रेजी भाषामा सबैका लागि ‘यु’ को प्रयोग हुन्छ । ‘यु’ को नेपाली अर्थ हो ‘तिमी’ । पछिल्लो समयमा अंग्रेजी भाषाको यही शब्दलाई आधार बनाएर नेपाली पत्रकारितामा तिमी भन्ने शब्द प्रयोग हुन थालेको छ । खासगरी निजी मिडियाले ‘तिमी’ शब्द प्रयोगमा ल्याएका छन् । यी शब्द प्रयोगमा आउँदै जाँदा कालान्तरमा नेपाली भाषामा रहेका हजुर, तपाइँ र तँ जस्ता शब्दहरू लोप हुने त होइनन् ? भन्ने प्रश्न उठेको छ । शब्द लोप हुनु भनेको भाषाको तौल घट्नु पनि हो ।

समाजले सम्बोधनका क्रममा व्यक्तिको मर्यादाअनुसार तपाइँ, तिमी र तँ सम्बोधन प्रयोगमा ल्याइरहेको छ । यस्तो मर्यादा व्याक्तिले स्वविवेकमा निर्धारण गर्दै आएका छन् । तर, पत्रकारितामा स्वविवेकले निर्धारण गर्न सकिन्छ कि सकिन्न ? भन्ने प्रश्न अहं बनेको छ । हजुर, तपाइँ, तिमी र तँ भनेर कस–कसलाई सम्बोधन गर्ने ? भन्ने प्रश्नको उत्तर आधिकारिक रूपमा खोज्न सजिलो छैन । सरकारी सञ्चार माध्यमले प्रायजसोलाई ‘तपाइँ’ भन्ने सम्बोधन नै प्रयोग गरिरहेका छन् । तर, केहीलाई ‘तिमी’ भन्ने सम्बोधन प्रयोग गरेको पनि देखिएको छ । केका आधारमा तपाइँ र केका आधारमा तिमी भन्ने ? वा केका आधारमा तँ भन्ने ? यो प्रश्नको उत्तर खोज्नु जरुरी छ । भ्रष्टाचारी हो, आतंककरी हो, चोर हो, बलात्कारी हो भन्ने थाहा छ तर अदालतबाट प्रमाणित भइसकेको छैन, यस्तो अवस्थामा उसलाई तपाइँ भनेर सम्बोधन गर्ने कि, तिमी या तँ भनेर सम्बोधन गर्ने ? यस्ता समस्याहरूको निक्र्यौल जरुरी छ ।

विगतमा जातका आधारमा र शक्तिका आधारमा सम्बोधन गर्ने प्रचलन समाजमा थियो । अहिले पनि यो प्रचलन छँदैछ । उदाहरणका लागि ०४६ सालमा तत्कालीन राजा वीरेन्द्रले सर्वोच्च नेता गणेशमान सिँहलाई भेट्दा ‘तिमी’ भनेर सम्बोधन गरे । गणेशमानले आपत्ति प्रकट गर्दै भने–‘म त मौसुफको बाजेसरहको मान्छे, तिमी भनेको सुहाएन ।’ यसपछि राजा वीरेन्द्रले व्यक्तिको मर्यादा हेरी तपाइँ र तिमी भन्न थालेको बताइन्छ । २००७ सालअघि राणाहरूले जनतालाई ‘तिमी’ भन्थे । जनतालाई तपाइँ भन्नु हुँदैन भन्ने मान्यता राणाहरूमा यति गडेको थियो कि, त्यसको उदाहरणका रूपमा राणाहरूको पार्टी गोर्खा परिषद्ले २०१५ सालको आम निर्वाचनमा तयार गरेको पर्चालाई लिन सकिन्छ । त्यो पर्चामा भनिएको थियो – ‘हामीबाट देशका लागि के–कति महत्वपूर्ण काम भएका छन् आँफूहरूलाई अवगत नै होला ।’ जनतालाई ‘तपाइँ तथा तिमी’ भन्न हच्केकोले उनीहरूले ‘आफू’ भन्ने सम्बोधन प्रयोगमा ल्याएका थिए । तर, सम्बोधन जे जस्तो प्रयोग गरिए पनि त्यसको आसय महत्वपूर्ण हुन्छ । उदाहरणका लागि राजावादी साहित्यकार क्षेत्रप्रताप अधिकारीले ‘चौतारीमा राजा भेटिए’ भन्ने गीत बनाएका थिए । पञ्चायतकालमा रेडियोमा त्यो गीत खुब घन्किन्थ्यो । त्यसैगरी, ०४७ सालमा जननेता मदन भण्डारीले ‘दरबारमा बसेर आखाँ नझिक्याइबक्स्योस् महाराज, शासन गर्ने इच्छा भए श्रीपेच खोलेर चुनाव लड्न आइबक्स्योस्’ भनेका थिए । शब्दकै आधारमा भन्ने हो भने क्षेत्रप्रतापको भन्दा मदन भण्डारीको शब्द आदरार्थी थियो, तर आशय विलकुल फरक थियो । यो पाटोका बारेमा पनि अध्ययन हुनु आवश्यक छ ।

प्रतिक्रिया