मत-विमत

महराको ‘यौनसम्पर्क’ र हाम्रा धार्मिक मान्यता

अञ्जु कार्की २०७६ कार्तिक ५ गते ६:३७ मा प्रकाशित

यौनलाई मात्र शारीरिक सुखको माध्यमका रूपमा बुझ्नु एकदमै गलत हुन्छ । यौनमा अनुशासन, प्रेम, मर्यादा, आदर्श र नैतिकताको त्यतिकै खाँचो हुन्छ । यसका साथै प्रेमविनाको यौन अर्थहीन हुन्छ 

सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीबीचको यौन सम्पर्कले यतिवेला मुलुकमा ठूलै तहल्का मच्चाइरहेको छ । स्टाफ नर्स रोशनीले मिडियालाई बोलाएर सभामुख महराले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै अन्तवार्ता दिइन् । प्रहरीमा पनि उनले यस बारे जानकारी दिइन । केही घण्टाभित्रै यो समाचार भाइरल बन्यो । विश्वका धेरै मिडियाहरूले ठाउँ दिए । रोशनीले दिएको अन्तर्वार्ता पढ्दा र सुन्दा जबर जस्ती नभएर सहमतिमै यौनसम्पर्क भएको हो कि ? भन्ने अनुमान सहजै गर्न सकिन्छ । दुवैजनाले सँगै बसेर एउटै गिलासमा करिब आधा घण्टा जति रक्सी पिइसके पछि महराले आफूलाई करणी गरेको दाबी उनको छ । रातिको समयमा कुनै पुरुषलाई घरमा बोलाउने, सँगै रक्सी खाने अनी बलात्कार ग¥यो भन्दै मिडियामा छताछुल्ल पार्ने घटना आफैँमा रहस्यमय छ ।

त्यसैले सहमतिकै आधारमा यौन सम्पर्क भएको अनुमान धेरैले गरेका हुन् । तर, नेपालको कानुनमा श्रीमतीले समेत श्रीमान्लाई बलत्कारका विरुद्ध उजरी दिन सक्ने प्रावधान छ । रोशनी त महराकी श्रीमती होइनन् । त्यही कारण यो घटना विश्वभर भाइरल बनेको हो । विश्वभरीका मिडियाले यो घटनामा चासो दिनुको महत्वपूर्ण कारण हो–‘ महराको पदीय गरिमा ।’ महरा व्यवस्थापिका प्रमुख हुन् । यति उच्च आहोदामा रहेको व्याक्ति यौन प्रकरणमा मुछिएको घटना विश्वमै दोस्रो रहेको भन्दै केही मिडियाहरूले समाचार लेखे । संयुक्त अमेरिकाका राष्ट्रपति बिल क्लिन्टन पनि आफ्नै सहायक कर्मचारी मोनिका लेवेन्स्की सँग यौन प्रकरणमा मुछिएका थिए ।

यो प्रकरण करिब दुई वर्षसम्म विश्वव्यापी भाइरल बन्यो । यही समाचार तथा विश्लेषण बेचेर मिडियाले ठूलो व्यापार गरे । अमेरिकी कानुनमा यौन सम्पर्कलाई अपराध मानिदैन, केवल नैतिकता सँग मात्रै जोडिएको हुन्छ । उनकी श्रीमती हिलारी क्लिन्टनमार्फत दिएको घोषणा गरेपछि यो मुद्दा सकियो । तर, महराको हकमा भने यौन प्रकरणको मुद्दा निकै पेचिलो रूपमा अघि बढेको छ । सुरुमा त उनले आफू रोशनीको घरमै नगएको भन्दै ढाँटे, तर उनी रोशनीको घरमा पुगेको भिडियो सिसिटिभी क्यामरामा कैद भएको सरकार तथा उनको पार्टीले थाहा पाए पछि राजीनामा दिन बाध्य भए । उनले रोशनीसँग आफ्नो यौन सम्पर्क नभएको दाबी गरिरहेका छन् । रोशनीले पनि कुरा फेरेकी छिन् ।

महरा र रोशनी दुवैले यौन सम्पर्कलाई अस्वीकार गरिसकेको अवस्थामा प्रहरी तथा सरकारी वकिललाई प्रमाण पु¥याउन सजिलो छैन । तिमीहरूले यौन सम्पर्क गरेकै हौ भनेर प्रमण पु¥याउनका लागि अब धेरै नै ठूलो मिहेनत गर्नुपर्नेछ प्रहरी तथा सरकारी वकिललाई । दुवैले अस्वीकार गरिरहेको अवस्थामा राज्यको स्रोत र साधन खर्च गरेर प्रमण जुटाउनतर्फ प्रहरी नलाग्न पनि सक्छ । तर, यही प्रकरणका कारण महराले सभामुख पदबाट हात धुनुपरेको छ । उनको राजनीतिक जिवन तवाह बनेको छ । मुद्दा जितिहालेछन् भने पनि उनको प्रतिष्ठा पूर्ववत अवस्थमा आउने सम्भावना अब छैन । महराको जीवनमा धेरै नै ठूलो क्षति पु¥याइसकेपछि रोशनीले ‘यौन सम्पर्क भएकै छैन’ भन्न थालेकी छिन् । यदि यौन सम्पर्क नहुँदा नहुँदै पनि रोशनीले यो स्क्यान्डल मच्चाएकी हुन् भने यो प्रकरणमा अवस्य पनि षड्यन्त्र छ । यो षड्यन्त्रको पाटोतर्फ पनि छानबिन हुनुपर्छ । रोशनीमाथि पनि छानबिन हुनु जरुरी छ ।

यौनसम्बन्ध तथा सम्पर्क भनेको प्राकृतिक प्रद्धत्त गुण हो । सृष्टिको नियम नै हो । विद्धानहरूले यसलाई जैविक आवश्यकता पनि भनेका छन् । तर, सभ्यताको आरम्भसँगै मानिसले यौन सम्पर्कको आफ्नै मर्यादा तथा नियम बनाएका छन् । नितान्त निजी तथा गोप्य मामिला हो यो । दुई हजार वर्ष अघिका महान विचारक चाणक्यले भनेका छन्–‘ मानिसले कागले जस्तै गुप्त रूपमा यौनसम्पर्क गर्नुपर्छ ।’ हाम्रो पूर्वीया जगतमा श्रीमान् श्रीमती बाहेक अरूबीच हुने यौन सम्पर्कलाई धार्मिक, कानुनी तथा नैतिक रूपमा समेत आपत्तिजनक मानिने गरिएको छ ।

तर, पश्चिमा जगतमा भने मन मिल्यो भने यौन सम्पर्क गर्न हुन्छ भन्ने मान्यताले जरो गाडेको छ । अमेरिकी राष्ट्रपति क्लिन्टन र हाम्रा सभामुख महराको यौन प्रकरण करिब करिब उस्तै हो तर यसको परिणाम भने धेरै नै फरक देखिएको छ । अर्थात् क्लिन्टनले श्रीमतीसँग माफी मागेर छुटकारा पाए तर महराले सभामुख पदबाट राजीनामा दिँदासमेत पुगेन । यदि, यौन सम्पर्क कानुनी रूपमा प्रमाणित भयो भने उनले लामो जेल सजाय भोग्नुपर्नेछ । यो आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

यौन एउटा प्राकृतिक र जैविक क्रियाकलाप हो, जसलाई अस्वीकार गरेर जीवन र जगतको परिकल्पना पनि गर्न सकिँदैन । प्राणी र वानस्पतिक जीवनको सृष्टि, वृद्धि र विकास यौनमा नै आधारित हुन्छ । यस ब्रह्माण्डमा जीवन र जगतको आपसी सम्बन्ध रहेको छ । जीवनविनाको जगत र जगत विनाको जीवनको परिकल्पना अधुरो हुन्छ । यो जगतमा जीवनको आफ्नै महत्व छ र जीवन केवल सृष्टि अडिएको छ । त्यो सृष्टि यौनबाट परिचालित छ । हरेक जीवित वस्तुको वंश वृद्धि र निरन्तरतामा आ–आफ्नै प्रकारको यौन चरित्र विद्यमान छ ।

पूर्वीय दर्शनले जीवनका चार लक्ष्यहरू (धर्म, अर्थ, काम र मोक्ष)मध्ये काम अर्थात् यौनलाई पनि जीवनको एउटा प्रमुख लक्ष्य मानेको छ । वेद, उपनिषद्, पुराण र अन्य धार्मिक ग्रन्थमा धर्म, अर्थ, काम र मोक्षको व्याख्या गरिएको छ । हिन्दू धर्म संस्कृतिमा काम अर्थात् यौनलाई जीवनको एक अभिन्न अंगको रूपमा स्वीकार गरिएको कुरा यथार्थ हो । यो कुरा प्राचीन सभ्यतादेखि नै चलिआएको भनेर प्रमाणित भइसकेको छ । तर, यौनलाई मात्र शारीरिक सुखको माध्यमका रूपमा बुझ्नु एकदमै गलत हुन्छ । यौनमा अनुशासन, प्रेम, मर्यादा, आदर्श र नैतिकताको त्यतिकै खाँचो हुन्छ । यसका साथै प्रेमविनाको यौन अर्थहीन हुन्छ ।

ऋषि वात्सायन यौनसम्बन्धी पहिलो पुस्तक ‘कामसूत्र’का रचयिता थिए । उनी आजीवन ब्रह्मचारी भए पनि यौनका बारेमा उनलाई सबै जानकारी थियो । वेदका ज्ञाता रहेका उनले भारतको बनारसमा धेरै लामो समय बिताएका थिए । उनले नै सर्वप्रथम नारी र पुरुषका बीचमा किन आकर्षण हुन्छ र यसको विज्ञान के हो भनेर धर्म सम्मत कुरा सबैका सामु ल्याएका थिए । उनले बनारस र अन्य क्षेत्रका वेश्यालयमा गई उनीहरूको क्रियाकलाप र वार्तालापको अवलोकन गरेर ‘कामसूत्र’ ग्रन्थको रचना गरेका थिए ।

प्रख्यात लेखिका वेंडी डोनिगरले आफ्नो पुस्तक ‘रिडिमिङ द कामसूत्र’मा वात्सयायनको बारेमा सविस्तार व्याख्या गरेकी छन् । कामसूत्रलाई असल जीवन बाँच्ने कलाको रूपमा पनि हेर्न सकिन्छ भनेर धेरै लेखकले आफ्नो निष्कर्ष दिएका छन् । उनले यौनका विषयमा खुलेर चर्चा हुनुपर्ने र यसलाई गोप्य तथा अश्लील कार्यको रूपमा लिन नहुने तर्क गरेका छन् । आफ्नो पुस्तक कामसूत्रमा यौनको महत्व, आवश्यकता र सही गतिविधिहरूको बृहत् चर्चा गरेका छन् । उनी केवल लेखक मात्र थिएनन्, दार्शनिक पनि थिए ।

सञ्चार प्रविधिको विकास तथा पश्चिमा जगतको देखासिकीसँगै पछिल्लो चरणमा हाम्रो मुलुकमा पनि छाडा यौन सम्पर्कको संस्कार भित्रिएको छ । अर्थात् मानिस जति सभ्य हुँदै छ, उतिकै खुला र लज्जाहीन पनि हुँदै गएको छ । श्रीमान् श्रीमतीबाहेक यौन सम्पर्क हुनै नहुने हो या गोप्यता अपनाउनुपर्ने हो ? भन्ने सन्दर्भमा हाम्रा धार्मिक ग्रन्थहरूमा पनि कुरा बाझिएका छन् । धार्मिक ग्रन्थहरूमा श्रीमान् श्रीमतीबाहेक पनि यौन सम्पर्क हुने गरेका कयौँ दृष्टान्तहरू छन् । भगवान विष्णुले वृन्दाको पतिव्रत धर्म नष्ट गराइदिएको कथा पनि छ ।

पराशर ऋषि र सत्यवतीबीचको यौन सम्पर्कको कथा पनि बढो रोचक छ । पराशर ऋषिको यौन सम्पर्कपछि अविवाहित सत्यवतीबाट जन्मेका व्यास (कृष्ण दौपायन) ले आफ्नी आमाको आदेशमा दुईजना विधवा बुहारीलाई गर्भाधान गराएर पाण्डु र धृतराष्ट्र जन्माएको प्रसंग पनि महाभारतमा छ । गुप्तवास तथा वनवासका क्रममा अर्जुन तथा भीमले कुन कुन महिलाहरूसँग यौन सम्पर्क राखे ? भन्ने कुुरा पनि उल्लेख छ । भगवान् श्रीकृष्णका श्रीमती तथा प्रेमिकाहरूको रोचक वर्णन छ । देवताका राजा इन्द्रले आफ्नै गुरुकी श्रीमतीसँग गरेको समागमको प्रसंग पनि हाम्रा धार्मिक ग्रन्थमा छ ।

अहिल्या, तारा, दौपदी, मन्दोधरी र कुन्तीलाई हामी पञ्चकन्याका रूपमा पूजा गछौँ । बिहान उठ्नेबित्तिकै यी पाँचजनाको नाम जसले सम्झिन्छ उसको जस्तोसुकै पाप पनि नष्ट हुन्छ भनेर हाम्रा धार्मिक गन्थमा उल्लेख छन् । यी पाँचैजना एक पति मात्रै भनेर बसेनन् । तर, उनीहरूलाई आदर्श नारी भनिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय