प्रधानमन्त्री यर्थाथको धरातलमा

चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणका सन्दर्भमा गत शनिबार एक दैनिक अखबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको लामो अन्तर्वार्ता प्रकाशित भएको छ । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चिनियाँ रेल काठमाडौं ल्याउन अझै केही पर्खिनुपर्ने बताएका छन् । नेपाल–चीनबीच स्थलमार्गबाट आवतजावत तथा सामान ढुवानीका लागि तत्काल सडक मार्गलाई भरपर्दो बनाउने सम्झौता भएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीको भनाइ छ, ‘चिनियाँ रेल मार्ग काठमाडौंसम्म जोड्न अझै केही समय लाग्ने देखियो, तत्कालका लागि टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेंसी सडक सुरुङ निर्माण गरी केरुङदेखि काठमाडौंसम्म छिटो र भरपर्दो सडक मार्ग बनाउने सहमति भएको छ । केही वर्षभित्र यो काम सम्पन्न हुन्छ ।’ चिनियाँ राष्ट्रपति सी को भ्रमण सम्पन्न हुनु अघिसम्म प्रधानमन्त्री ओलीले राजधानी काठमाडौं र चीनबीच आफ्नो कार्यकालमै रेलमार्ग निर्माण सम्पन्न हुने बताउँदै आएका थिए । आर्थिक तथा प्राविधिक मामिलाका जानकारहरूले प्रधानमन्त्री ओलीको यो भनाइलाई खण्डन गर्दै आएका थिए तर आफ्नो यो भनाइलाई खण्डन गर्नेहरूप्रति प्रधानमन्त्री ओली निकै असहिष्णु भएर प्रकट हुने गरेका थिए । यतिवेला प्रधानमन्त्री ओली यर्थाथताको धरातलमा आइपुगेका छन् ।

कहिलेकाहीँ झुठो अभिव्यक्ति पनि गलत हुँदैन, तर कहिलेकाहीँ साँचो अभिव्यक्ति पनि गलत हुन्छ । भारतले नाकाबन्दी लगाइरहँदा ठूलो सास्ती बेहोरेका जनताका निम्ति तत्कालीन अवस्थामा प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्ति गलत थिएन । ‘चीनबाट ३–४ वर्षमै रेल मार्ग जोडिन्छ, त्यस पछि भारतीय दादागिरी समाप्त हुन्छ, त्यतिञ्जेल धैर्य गरौँ भन्दै प्रधानमन्त्री ओलीले नाकाबन्दीका वेला जनतालाई आश्वस्त पारेका थिए । यता नेपाली कांग्रेसका नेता डा. रामशरण महतले ‘कहाँ सम्भव हुन्छ ? यस्तो झुठो कुरा पनि बोल्ने ?’ भन्दै प्रतिवाद गरेका थिए । तर, जनतालाई प्रधानमन्त्री ओलीको भनाइ नै प्रिय लाग्यो । त्यसैको प्रतिफलस्वरूप ओली भारी बहुमतका साथ दास्रोपटक प्रधानमन्त्री बने । नाकाबन्दीको कदमप्रति भारत पछुताइसकेको अवस्थामा दोस्रोपटक प्रधानमन्त्री बनेका ओलीले यथार्थ अभिव्यक्ति दिन थालेको भए हुन्थ्यो, तर उनले चिनियाँ रेलमार्ग मात्रै होइन भारतीय रेलमार्ग पनि आफ्नो यही कार्यकालमा काठमाडौं जोड्ने अभिव्यक्ति दिन थाले । त्यति मात्रै होइन छिटै पानी जहाज सञ्चालन हुने भन्दै टिकट काट्ने मितिको घोषणा संसद्लाई सम्बोधनका क्रममा गरे । कुनै झुठो कुराको उदाहरण दिनुपर्यो भने ‘ओलीको बोली’ भन्ने नयाँ उखान थपियो ।

प्रधानमन्त्री ओलीको वक्तृत्व शैली प्रभाविलो छ । भाषणको माध्यमद्वारा स्रोतालाई प्रभावमा पार्न सक्ने प्रधानमन्त्री मुलुकले लामो समयपछि प्राप्त गरेको हो । प्रधानमन्त्री ओलीको यो क्षमताबाट मुलुकले फाइदा लिन सक्नु पथ्र्यो , तर झुठा र असम्भव अभिव्यक्तिका कारण ओली आलोचित भएका छन् । तत्काल गर्नुपर्ने काममा वास्ता नगर्ने तर तत्काल असम्भव र अनावश्यक सपना बाँड्ने प्रधानमन्त्री ओलीको शैलीका कारण पनि जनतामा शासन व्यवस्थाप्रति नै अविश्वास बढेर गएको हो । आफ्नो यो शैलीमा प्रधानमन्त्री ओलीले विस्तारै सुधार गर्दै लगेको संकेत पछिल्ला समयमा देखिएका छन् । पाँच वर्षका लागि ओली प्रधानमन्त्री बनेका हुन् । दुई वर्ष पनि बितेको छैन । करिब साढे तीन वर्षको यो बाँकी अवधिमा मुलुकले धेरै सकारात्मक नतिजा प्राप्त गर्ने सम्भावना छ । तर, समयको सदुपयोग हुनु जरुरी छ । विगतका पटके सरकारकै रफ्तारमा काम अघि बढ्दा पनि अबको तीन वर्षभित्र मुलुकमा देखिने गरी विकासका पूर्वाधार निर्माण हुनेछन् । उदाहरणका लागि मेलम्ची खानेपानी ओयोजना, सिक्टा, भेरी–बबई डाइभर्सनलगायतका सिँचाइ आयोजना निर्माण सम्पन्न हुँदैछन् । करिब दुई हजार मेगावाट थप जलविद्युत् उत्पादन हुँदैछ । पोखरा र लुम्बिनीमा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुँदैछन् । मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, हुलाकी लोकमार्ग, गण्डकी, कोसी र कर्णाली करिडोर सडकहरू निर्माण सम्पन्न हुँदैछन् । ठूलो जस पाउने अवस्था रहँदा रहँदै जनतालाई झुठो आश्वासन दिइनु भनेको अदूरदर्शिताको नमूना हो ।

प्रतिक्रिया