हुम्लामा दुई दिनदेखि टेलिफोन अवरुद्ध

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ । टेलिफोन अवरुद्ध हुँदा दुई हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका बताइएको छ ।

वडा नं ६ स्थित मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि सञ्चार सेवा ठप्प भएको हो । यहाँका आठ गाउँका दुई हजार परिवार प्रभाजित भएका वडा नं ३ की बासिन्दा सपना ऐडीले बताइन् । नेपाल टेलिकम हुम्लाले यस विषयमा कुनै चासो नदिएको स्थानीयको आरोप छ । नेपाल टेलिकमले तिहारपछि मात्रै मर्मत सम्भार गरिने जनाएको छ ।

यसैगरी दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा रहेको भिस्याट एक महीनादेखि बन्द रहेको छ । वडा नं ५ नेक्पा गाउँमा रहेको एक मात्र भिस्याट फोन सेवा एक महीनादेखि अवरुद्ध हुँदा यहाँका बासिन्दाले समस्या भोग्नुपरेको छ । हिमाली गाउँ नेक्पामा फोन सुविधाका नाममा नमस्ते फोन तीन दिनदेखि अवरुद्ध रहेको छ भने एक महीनादेखि भिस्याट सेवा बन्द छ ।

यहाँका बासिन्दाले फोनकै लागि छ घण्टा हिँडेर छिमेकी गाउँमा जानुपरेको स्थानीय हर्कदन तामाङले बताए । सिडिएमए, स्काई, नमस्तेलगायतका फोन सेवाले विकट गाउँमा काम नगरेको उनले बताए । भिस्याट पुनःसञ्चालनका लागि दूरसञ्चारको शाखा कार्यालय सिमकोटमा जानकारी दिँदा प्राविधिक कारणले कर्मचारी मर्मत गर्न पठाउन नसकिएको बताएको स्थानिय ध्रुव्र शाहीले जानकारी दिए ।

भिस्याट फोनले काम नगरेपछि सार्वजनिक ठाउँका सूचना आदानप्रदानमा समेत समस्या भएको उनले बताए । भिस्याट फोन सेवा एक महीनादेखि सञ्चालनमा नआउदा नेक्पा गाउँका ६० घरधूरी प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रतिक्रिया