खेल-खेलाडी

रोहितको रेकर्ड

सौर्य अनलाइन २०७६ कार्तिक ३ गते ७:४० मा प्रकाशित

राँची । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा भारतीय खेलाडी रोहित शर्माले नयाँ रेकर्ड बनाएका छन् । राँचीमा सुरु भएको टेस्टमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । एक दिवसीय क्रिकेटमा उत्कृष्ट लयमा रहेका रोहितले टेस्टमा पनि आफूलाई अब्बल सावित गरेका छन् । उनले शनिबार दक्षिण अफ्रिकाविरुद्ध तीन छक्का प्रहार गरेपछि एउटै टेस्ट सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका हुन् । रोहितले एक टेस्ट सिरिजमा १६ छक्काको कीर्तिमान बनाएका हुन् ।

यसअघि यो रेकर्ड वेस्टइन्डिजका सिमरोन हेटमायरको नाममा थियो । उनले बंगलादेशविरुद्धको टेस्ट सिरिजमा १५ छक्का प्रहार गरेका थिए । रोहितभन्दा पहिला टेस्टको एक सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड भारतका हरभजन सिंहले बनाएका थिए । सिंहले न्युजिल्यान्डविरुद्ध १४ छक्का प्रहार गरेका थिए । रोहितले टेस्टमा छैटौँ शतक पनि बनाएका छन् ।

उनले अहिलेसम्म सबै शतक भारतमा मात्रै बनाएका हुन् । योसँगै रोहितले टेस्टमा दुई हजार रन पनि पूरा गरेका छन् । रोहित अहिले ११७ रनमा नट आउट छन् भने अजिन्क्या रहाणे ८३ रन बनाएर खेलिरहेका छन् । भारतका मयंक अग्रवाल १० रनमा आउट हुँदा चेतेश्वर पुजाराले खाता नै खोल्न सकेनन् ।

कप्तान विराट कोहली १२ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका कागिसो राबडाले २ तथा एनरिच नोर्तेजले एक विकेट लिएका छन् । लगातार दुई टेस्ट जित्दै सिरिज जीतिसकेको भारत क्लीन स्वीप गर्ने दाउमा छ भने दक्षिण अफ्रिका यो टेस्ट जित्दै क्लिनस्वीप हुनबाट जोगिने प्रयासमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय