थिमीमा स्थलगत कार्यशाला

भक्तपुर । केही कलाकारले फेसबुकको माध्यमबाट सुरु गरेको शनिबारीय स्थलगत चित्रकला कार्यशालाले नेपालको सांस्कृतिक तथा पुरातात्विक सम्पदा क्षेत्रलाई क्यानभासमा उतार्दै आएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलाकारको टोली काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न सम्पदा क्षेत्रलाई चित्रमा उतार्दै प्रदर्शनीसमेत गरिरहेको छ । शनिबार यसै अभियानअन्तर्गत ‘मध्यपुरथिमी सिरिज’ को छैठौँ कार्यक्रममा मध्यपुरथिमीस्थित विभिन्न सम्पदा स्थलमा स्थलगत चित्रकार्यशाला सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुद्धि गुरुङले कलाको विकास लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले कलाकारको शनिवारीय स्थलगत चित्रकला कार्यशालाले नयाँ र पुराना पुस्तामा जागरण ल्याएको जिकिर गरे । उनले भने, ‘यस अभियानले जागरणसँगै सांस्कृतिक तथा पुरातात्विक सम्पदा संरक्षणमा महत्वपूर्ण सघाउ पुग्ने आशा गर्न सकिन्छ ।’

अभियानका संयोजक दिवेश प्रधानले पर्यटन प्रवद्र्धनसँगै पुरातात्विक सम्पदा संरक्षणमा कार्यशाला सहयोगी भएको बताए । उनले अभियानले हरेक शनिबार निरन्तररूपमा भक्तपुर, काठमाडौं तथा ललितपुरमा कार्यशाला गर्दै आएको जानकारी दिए । संयोजक प्रधानले भने, ‘चित्रकलामार्फत थिमीलाई चिनाउनु नै अभियानको मुख्य उद्देश्य हो ।’ त्यस्तै संस्कृति अभियन्ता प्रदीप श्रेष्ठले थिमीको महत्व र किंवदन्तीका बारेमा पत्रकारलाई जानकारी गराए ।

नेपाल ललितकला कला पत्रकार समाज (सोफाज) मा आबद्ध पत्रकारलाई मध्यपुरथिमी नगरपालिकामा पर्ने विभिन्न पुरातात्विक तथा सांस्कृतिक क्षेत्रको भ्रमणसमेत गराइयो । सोफाजका अध्यक्ष केशवराज खनालले अभियानले कलासँगै संस्कृति र सम्पदाका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको धारणा राखे । स्थलगत कार्यशालाले नेपाली कला क्षेत्रमा नयाँ जागरण ल्याएको अभियानका अभियन्ता कलाकार राकेशचन्द्र श्रेष्ठले बताए । उनले थिमीमा भदौ २८ गतेदेखि सुरु उक्त अभियानअन्तर्गत बोडे, नगदेश, निगुपुखु (दुई पोखरी), चपाचो, सिद्धिकाली र लायाकुमा कार्यशाला सम्पन्न भइसकेको जानकारी दिए । यही कात्तिक १० गते कलाकारले बनाएका चित्र दुई पोखरीमा प्रदर्शन गरिँदैछ ।

शिवाटोलको महादेव र गणेशको मन्दिरलाई जलरङले चित्र बनाउँदै गरेका कलाकार जुजुभाई श्रेष्ठले चित्रकलाले संस्कृति र परम्परा संरक्षणमा सहयोग पुग्ने बताउँछन् । पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले पाँच सय वर्ष पुरानो पूर्वमध्यकालका संरचना र लिच्छविकालीन सभ्यता रहेको थिमीमा नयाँ वर्षको वेला मनाउने बिस्का (सिन्दुर) जात्रा प्रसिद्ध रहेको बताए ।

उक्त कार्यशालामा प्राज्ञ बुद्धि गुरुङ, राकेशचन्द्र श्रेष्ठ, दिवेश प्रधान, दीपेन्द्रमान बनेपाली, केशवराज खनाल, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राधेश्याम कर्माचार्य, झलक केसी, सुन्दर श्रेष्ठ, प्रवीण श्रेष्ठ, जुजुभाई श्रेष्ठ, अब्रित प्रजापति, एलपी खटेजा, सूर्यराम सुवाल, विकास बिशुंखे, हरिकृष्ण प्रजापति, तथागत चित्रकार, पुण्यराम माताङ, रुविन बाडे, राजेन्द्रप्रसाद याकामी, बालकृष्ण श्रेष्ठ लगायतका कलाकार सहभागी थिए ।

प्रतिक्रिया