यौन हिंसाका पीडित महिला किन फेर्छन् बयान ?

महिलामाथि यौन हिंसाका घटना हरेक दिनजसो हुने गरेको छ । पछिल्ला समय यस्ता प्रकारका घटना सञ्चार माध्ययममा पनि निकै आउने गरेको छ । तर, पनि घटना हुने क्रम भने रोकिएको छैन । त्यस्ता हिंसामा परेका पीडितहरूले पीडकका विरुद्ध दिनु पर्ने जाहेरी र त्यसका आधारमा हुने बयान फेर्ने गर्नाले भने कानुनी कारबाहीमा अल्झन हुने गरेको काुनन व्यवसायीहरू बताउँछन् ।

यौन हिंसा र मानव बेचबिखनमा परेका महिलाले प्रायः बयान फेर्ने गरेको कानुन व्यवसायीहरूले बताउने गरेका छन् । यौन हिंसा र बेचबिखनमा परेका झन्डै ५० प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्दा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेको उनीहरूको अनुभव छ । त्यसले न्याय सम्पादन र पीडितलाई दिइने सजायमा समस्या हुने गरेको उनीहरूको तर्क छ ।

धेरैजसो त्यस्ता घटनामा पीडक शक्तिशाली भएको अवस्थामा पीडितहरूले बयान फेर्ने गरेको पाइएको महिला अधिकारकर्मीहरूको पनि अनुभव छ । संरक्षणको अभावमा पनि पीडितले आफूले लगाएको आरोप र आरोपित व्यक्तिबारे बयान फर्ने गरेको भेटिएको छ । आफूलाई संरक्षण गर्ने कोही न हुने र पीडक शक्तिशाली हुँदा आउने दिनमा असुरक्षित हुने ठानेर उनीहरूले बयान फेरेको हुन सक्ने उनीहरूको धारणा छ ।

महिला अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय अधिवक्ता मीरा ढुंगानाका अनुसार मानसिक रूपमा एकदम बलिया र न्याय पाउनै पर्छ भनेर अडान लिन सक्ने महिलाबाहेक अन्य धेरैले विभिन्न कारणले बयान फेर्ने गरेको पाइन्छ । हिंसामा परेका महिला आफैले पनि कमजोरी महसुस गर्ने र सामाजिक वातावरणले पनि बायान फेर्ने गरेको उनीहरूको अनुभव छ । घर परिवारको राम्रो साथ पाएको र अपराधीलाई कारबाही गर्नुपर्छ भन्ने बुझेकाहरूले मात्रै आफ्नो बयानमा अडान लिने गरेको देखिन्छ ।

यसबारेमा अधिवक्ता ढुंगाना भन्छिन्, ‘प्रायः यौन हिंसाका पीडित र बेचबिखनमा परेका पीडितहरूले आफ्नो भनाइ फेर्ने गरेको भेटिएको छ । यस्ता अपराधका पीडितमध्ये करिब ५० प्रतिशतले कुनै न कुनै समयमा बयान फेर्ने गरेको पाइन्छ ।’ उनको अनुभवमा पनि यस्ता हिंसामा पर्ने निकै कमले मात्रै सुरुकै बयानमा अडान लिने गर्छन् । उनका अनुसार अदालतबाट फैसला आउनै लागेको अवस्थामा पनि आफ्नो भनाइ फेर्ने गरेको पाइएको छ । यसरी बयान फेर्नका पछाडि आसा र त्रासले काम गरेको देखिन्छ ।

असुरक्षा अनुभूतिका कारण र अन्योलको परिस्थितिमा पीडित महिलाहरू त्यसो गर्न बाध्य भएका हुन सक्ने विज्ञहरू बताउँछन् । ढुंगाना भन्छिन्, ‘जसको सुरक्षा छैन, बस्ने ठाउँ छैन अनि शक्तिशाली व्यक्तिविरुद्ध उजुरी गरेका छन्, तिनको मुद्दामा यस्तो सम्भावना धेरै हुन्छ ।’ पीडकहरू शाक्तिशाली भएका र पीडित कमजोर रहेको अवस्थामा यस्ता घटना बढी हुने गरेको छ । कहिलेकाहिँ परिवारको दबाब र समाजिक वातावरणले पनि पीडितले बयान फर्ने गरेको धेरै उदाहरणहरू छन् ।

अर्की अधिवक्ता सुष्मा गौतम पनि ५० प्रतिशतको हाराहारीमा पीडित महिलाहरूले बयान फेर्ने गरेको बताउँछिन् । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने महिलामाथि हुने बलात्कार, बलात्कारको प्रयास र घरेलु हिंसा आदि घटना बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७१–७२ मा ९ सय ८१ वटा बलात्कारका उजुरी परेकोमा त्यो संख्या ०७५–७६ मा दुई हजार नाघेको छ । यसले हरेक वर्ष महिलामाथि हुने विभिन्न प्रकारका हिंसा बढ्दै छ ।

गत आर्थिक वर्षमा बलात्कारको उद्योगसम्बन्धी ७ सय ९२ उजुरी परेका थिए भने घरेलु हिंसासम्बन्धी १४ हजारवटाभन्दा बढी उजुरी परेका थिए । तर, अझै पनि यस्ता धेरै घटना प्रहरीसम्मै आइनपुग्ने गरेको लेखिका तथा महिला अधिकारकर्मी राधा पौडेलले बताउँछिन् । ‘धेरै जसो पीडितलाई उजुरी गर्न कहाँ जाने र कसरी गर्ने पर्ने प्रक्रिया नै थाहा छैन त्यसैले सबै घटना प्रहरीसम्म आइपुग्दैन्’ उनी भन्छिन् । केही थाहा र सहयोग नपाएर उजुरी गर्नेनन केही उजुरी नगरी आफन्तको दबाबमा समाजमा नै मिलाउने प्रयाससमेत गरिन्छ ।

यौन हिंसाका कुरा बाहिर आउँदा प्रायः पीडितकै चरित्रमाथि प्रश्न उठ्ने गरेकाले पनि यस्ता घटना भित्रभित्रै मिलाउने प्रयास भएको देखिन्छ । पीडकलाई भन्दा पीडितलाई दोष दिने प्रवृद्धिले पनि पीडितहरू खुलेर समस्या राख्न हिचकिचाउँछन् । धेरैजसो अवला वा आर्थिक सामाजिक रूपमा कमजोर भएकाहरू पीडित हुने गरेको छन् । उनीहरू न्यायको पहुँच बाहिर हुने र समाजिक सहयोग नपाउने अवस्थाले पनि त्यस्ता घटना गुपचुप हुने गरेको छ ।

पौडेल भन्छिन्, ‘अझ दुर्गम स्थानमा बसेका महिलाको अवस्था झन् डरलाग्दो छ । सामाजिक लाञ्छनाको डर, पीडक र पीडितबीचको शक्ति सन्तुलनका कारण जबसम्म त्यो लुकाउन नमिल्ने जटिल समस्या बन्दैन तबसम्म उनीहरूमाथि भएको हिंसा लुकाउन मिल्ने अवस्थासम्म गोप्य नै राखिन्छ ।’

किन फेर्छन् पीडितहरू बयान ?
अधिवक्ता गौतम भन्छिन्, ‘आफूलाई परेको अन्याय सुनाउँदा आफूमाथि नै आक्षेप आउँछ, आफ्नै चरित्रमाथि दाग लाग्छ भन्ने एउटा कुरा हो । अर्कोचाहिँ तिमीले न्याय पाउँछ्यौ भन्ने निश्चित छैन भन्ने कुरा राखिन्छ । अनि तिमी अहिले चुप लाग्यौ भने तिमी वा तिम्रो परिवारका सदस्यलाई यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्यौँ भने समाजमा तिम्रै इज्जत जान्छ भनेर दिइने त्रासा र प्रलोभनले न्यायलाई नाफा र घाटामा हेर्ने खालको चलन बढेको छ ।’ पीडितहरूले फेर्ने बयानको बारमो प्रष्ट पार्दे उनले भनिन् ।

तर, सञ्चारमाध्यममा आएका कुराभन्दा प्रहरीमा फरक उजुरी प¥यो भन्दैमा त्यसलाई भनाइ फेरेको भन्न नमिल्ने गौतम बताउँछिन् । घटनालाई गम्भिर रूपमा लिने र पीडितको बयानलाई सुक्षम रूपमा लिँदै बयान किन र कसरी फेरिँदै छ भन्ने कुरासम्मको अध्धयन गर्ने हो भने यथार्थ बाहिर आउन सक्ने उनको धारणा छ ।

यसरी पीडितले बयान फेर्दा न्याय दिन भने कठिन हुने कानुनविज्ञहरू बताउँछन् । अझ बलात्कारको घटनामा भन्दा पनि बलात्कारको प्रयासको वा अन्य प्रकृतिका यौन हिंसामा पीडितले बयान फेरिदिँदा न्याय निरूपण गर्न कठिन हुने अधिवक्ता गौतमले औँल्याउँछिन् ।

‘यस्ता घटनामा अपराध भइसकेको हुँदैन, तर त्यसको प्रयास भएको हुन्छ । त्यसैले त्यहाँ बलियो प्रमाण पाउन एकदमै कठिन हुन्छ,’ गौतम भन्छिन् । गौतमका अनुसार यस्ता घटनामा अनुसन्धान गर्ने निकाय एकदमै सजग हुन आवश्यक हुन्छ । ‘तर त्यस किसिमको सजगता यौन हिंसाको घटनामा खासै अपनाएको देखिँदैन,’ उनी भन्छिन् ।

दोष लागेको व्यक्तिले नै सजाय पाउने निश्चित भइसकेको अवस्थामा पनि पीडितले आफ्नो भनाइ फेरेका घटना धेरै देखेको अधिवक्ता ढुंगाना बताउँछिन् । पीडित महिलाहरूले आफूमाथि भएको अपराधविरुद्ध बोल्न साहस जुटाउन नसक्दा उनीहरू थप हिंसाको सिकार हुने सम्भावना बढ्दै जाने बताइन्छ । त्यसैले आफूमाथि अन्याय भएको भनी आवाज उठाउने पीडितहरूलाई राज्यले उचित संरक्षण दिने व्यवस्था गर्नुपर्ने जानकारहरू बताउँछन् । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया